Aamsanchar

बिर्तामोड नगरले कर बढाएकाे भन्दै कांग्रेसको आपत्ति, कार्यपालिका बैठकबाट मिलाउने मेयरकाे प्रतिवद्धता(अडियाे)

Author Image
आइतवार, साउन २२, २०७९

बिर्तामोड – कोरोना प्रकोपको महामारी र आर्थिक मन्दीका कारण साधारणलाई जिवनयापन गर्न कठिनाई भईरहेको अवस्थामा बिर्तामोड नगरपालिकाले कर वृद्धि गरेको भन्दै नेपाली कंग्रेसले ध्यानाकर्षण पत्र बुझाएको छ । आज बिर्तामोड नगरपालिकाकी मेयर पबित्रा महतरा प्रसाईलाई क्षेत्र नम्बर २ प्रदेश क कंग्रेस सभापति लक्ष्मी प्रसाद आचार्य र कंग्रेस बिर्तामोड नगर कार्यवाहक सभापति सुर्य प्रसाद कन्दंंगवाले ३ बुदे ध्यानाकर्षण पत्र संयुक्त रुपमा हस्तान्तरण गरे ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईलाई क्षेत्र नं २ प्रदेश ‘क’ सभापति लक्ष्मी आचार्य र कार्यवाहक नगर सभापति सूर्यप्रसाद कन्दङ्वाले आइतबार ज्ञापनपत्र बुझाउँदै वृद्धि गरिएको करलाई यथाशीघ्र संशोधन गरी सर्वसाधारण जनताको जीवनयापनमा सहजता ल्याउन आग्रह गरेका छन् । ज्ञापनपत्रमा आर्थिक वर्षमा २०७९–०८० का लागि वृद्धि गरिएको मालपोत, सम्पत्ति कर, भूमि कर तत्काल सर्वसाधारण जनतालाई राहत पुग्ने गरी समायोजन गर्न माग गरिएको छ ।

ज्ञापनपत्रमा भनिएको छ ‘हाल देश र जनता कोभिड–१९ प्रकोपको महामारी र आर्थिक मन्दीका कारण सर्वसाधारण जनतालाई जीवनयापन गर्न कठिनाइ भइरहेको अवस्थामा यस विर्तामोड नगरपालिकाले आ.व. २०७९÷०८० मा एकीकत सम्पत्ति कर, मालपोत वा भूमि कर लगायतका शीर्षकमा विगतका वर्षहरुमा लगाएकोभन्दा कैयौं गुणा बढी कर वृद्धि गरी सर्वसाधारणले उक्त कर तिर्न नसक्ने अवस्था सिर्जना गरेकोले यसमा हाम्रो पार्टी नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । जनताबाट निर्वाचित जनप्रतिनिधिहरुले जनतालाई राहत पुग्ने किसिमका नीति तथा कार्यक्रमहरु ल्याई जनताको जीवनस्तर उकास्नु पर्नेमा उल्टै करको दर उच्च रुपमा वृद्धि गरी जनताको ढाड सेक्न अति दुःखदायी कुरा हो । तसर्थ उक्त वृद्धि गरिएको करलाई संशोधन गरी न्यायोचित ढंगबाट कर निर्धारण गर्न हाम्रो पार्टी जोडदार माग गर्दछ ।’

ज्ञापनपत्र बुझाउँदै प्रदेश ‘क’ सभापति आचार्यले एमालेबाट निर्वाचित भएर नेतृत्व सम्हालिरहेका जनप्रतिनिधिहरुलाई सहयोग गर्नु आफूहरुले कर्तव्य ठानेपनि जनताको ढाड सेक्नेगरी कर बृद्धि गरेपछि आवाज उठाउनु परेको बताए ।

त्यस्तै कार्यवाहक नगर सभापति कन्दङ्वाले करबृद्धिलाई हल्का ढंगले नलिन चेतावनी दिए । उनले करको मात्रा नबढाएर करको दायरा बढाउन आग्रह गरे ।

त्यस्तै ज्ञापनपत्रमा साउन १ गतेदेखि बिर्तामोड नगरक्षेत्रमा फोहोर व्यवस्थापन नभएकोले विभिन्न प्रकारका संक्रामक रोगहरु फैलन सक्ने सम्भावना भएकाले यथाशीघ्र फोहोर व्यवस्थापन गर्नुपर्ने , कोरोनाको समयमा बिर्तामोड नगरपालिकाद्वारा सञ्चालित क्वारेन्टिन र आइसोलेसन कार्यक्रमहरुको हिसाव किताव सम्वन्धी व्यापक जनगुनासो आएकोले यथार्य खर्च विवरण सार्वजनिक गरिनुपर्ने र सार्वजनिक खरिद ऐनको दफा ६२ / ६३ को नियमविपरित बिर्तामोड नगर अस्पतालद्वारा वितरण गरिने निशुल्क औषधिहरुको ठेक्का अमन फार्मेसी (अप्सरा बुढाथोकी) लाई दिएको हुँदा गत वर्षमा पनि सोहि फार्मेसीलाई खारेज गरिएकोमा हाल पनि उक्त फार्मेसीको ठेक्का तत्काल खारेज गरिनुपर्ने माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै नगर प्रमुख प्रसाईले सफ्टवेयर पोस्टिङमा आएको गडबडीले गल्तीले बढी कर असुलेको हुनसक्ने स्वीकार्दै कमीकमजोरीलाई सच्याउँदै करमा नमिलेका कुरालाई कार्यपालिका बैठकद्वारा मिलाउने प्रतिवद्धता जनाइन् । उनले कर घटाउँदा बजेटको सिलिङ पनि घट्न सक्ने भएकाले सबैलाई विचार गरिदिन आग्रह गरिन् । नगर प्रमुख प्रसाईले फोहोरमैलाको समस्या दीर्घकालीन रुपमा समाधान गर्ने प्रयास भइरहेको बताइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 330

प्रतिक्रिया (०)

सम्बन्धित खबर