Aamsanchar

 काँकडभिट्टा –लौकही सडक ४ लेनमा स्तरोन्नति गर्ने विषयमा बिर्तामोडमा भयो सार्वजनिक सुनवाई

Author Image
आइतवार, साउन २२, २०७९

नेपाल सरकारको प्रस्तावित राजमार्ग अन्तर्गत काँकरभिट्टा–लौकही १२० किलोमिटर सडकको एसियाली विकास बैँकले स्तरोन्नति गर्ने भएको छ । हालको २ लेनबाट ४ लेनमा स्तरोन्नति गर्ने भएको हो । सडक एशियन हाइवे स्टेन्र्डडको हुने आज बिर्तामोड नगरपालिकाको हलमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा जानकारी गराइएको हो । आयोजनाको वातावरणिय प्रभाव मुल्याङ्कन प्रतिवेदनका सम्बन्धमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा यस सडकको बारेमा बिस्तृत जानकारी गराईएको थियो ।

झापा,मोरङ्ग र सुनसरी जिल्लालाई छुने यस सडकको आगामि पौषसम्ममा ठेक्का खुल्ने र आगामि वर्षको सुरुवात देखिनै निर्माणको काम सुरु हुने आयोजनाका वातावरण विज्ञ राजेन श्रेष्ठले जानकारी दिनु भयो । करिब २८ अर्व १७ करोड रुपैयाँको लगानिमा बन्न लागेको यस सडकको काम ३ वर्ष भित्रमा सम्पन्न हुने जनाइएको छ ।
झापामा यस सडकको भाग ५४.९ किलोमिटर रहेको छ । शहरी क्षेत्रमा साइकल लेन, फुटपाथ,ड्रेन सहित निर्माण हुने यस सडकको पहिलो चरणको काम काँकरभिट्टा देखि इटहरीसम्म सुरु हुने जनाइएको छ । यस आयोजनाबाट १२ वटा नगरपालिका, ४ वटा गाउँपालिका र एउटा उपमहानगरपालिकाका ८२ वटा वडा प्रभावित हुने सामाजिक तथा पुर्नवास विशेषज्ञ रविन ढकालले बताउनु भयो । उहाँले ३ सय मिटर भन्दा लामो पुल रहेको ६ ठाउँमा सिग्नेचर पुल बनाउने योजना रहेको बताउनु भयो ।

आयोजनामा काँकरभिट्टा देखि लौकहीसम्ममा साना ठुला गरि जम्मा ३ सय ७७ वटा संरचना हटाइने छ । जसमा बिर्तामोडमा दुर्गा मन्दिर, जिल्ला ट्राफिक प्रहरी कार्यालयको पुरानो भवन लगायत ७ वटा संरचना हटाइने जनाइएको छ ।

सडकको ३ प्रकारको डिजाइन गरिएको जनाइएको छ । ग्रामिण र जंगल भएको क्षेत्रमा २४ मिटर, अर्धशहरी क्षेत्रमा ३३ मिटर र शहरी क्षेत्र तथा मुख्यबजार क्षेत्रमा ५० मिटर चौडाइको सडक निर्माण हुने छ । आयोजनाले काँकरभिट्टा, इट्टभट्टा,चारआली, बिर्तामोड, दमक,झुम्का, विराटचोक, इटहरी लगायतका ९ वटा घनाबस्ती भएको स्थानान ओभरहेड व्रिज तथा अन्डर पास निर्माण गर्ने जनाइएको छ ।

नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रमा सहभागीहरुले खानेपानी,विद्युत, टेलिफोन,ढल निकास लगायतका बारेमा जिज्ञासा राखेका थिए । कार्यक्रममा उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, नेकपा एमाले बिर्तामोड नगरकमिटि अध्यक्ष सुवास भट्टराई, राप्रपा विर्तामोड नगरकमिटि अध्यक्ष रञ्जु प्याकुरेल, नगरका शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्नि पाण्डेलगायत विभिन्न वडाका वडाध्यक्ष तथा संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
10
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 451

प्रतिक्रिया (०)

सम्बन्धित खबर