Aamsanchar

भदौ २० गतेपछि दसैँका लागि नयाँ नोट साटिने

Author Image
बिहिवार, भदौ ९, २०७९

काठमाडौं – नेपाल राष्ट्र बैंकले यो वर्षको दसैँका लागि नयाँ नोट भदौ २० गतेपछि साट्ने तयारी गरेको छ । भदौ २० गतेसम्म आवश्यक तयारी पूरा गरी वाणिज्य बैंकहरूबाट नयाँ नोट साट्ने तयारी भइरहेको मुद्रा व्यवस्थापन विभागका निर्देशक अनुज दाहालले  जानकारी दिए ।

“हामीसँग नयाँ नोट प्रयाप्त छ । तर, बैंकहरूबाट कति माग आउँछ, त्यसको तयारी २० गतेभन्दा पहिले हुन्छ,” उनले भने, “२० गतेपछि कुन दिन हुन्छ, हामी सूचना जारी गरेर नयाँ नोट वितरण गर्ने वाणिज्य बैंकका शाखा कार्यालय तोक्छौँ ।”

राष्ट्र बैंकले पाँच, १०, २०, ५० र १०० रुपैयाँका एक सेट गरी प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँका दरले नयाँ नोट सटही गर्ने बताएको छ । २० गतेअघि नयाँ नोटको बारेमा बैंकहरूलाई सूचित गराउने राष्ट्र बैंकको तयारी छ ।

अत्यधिक मात्रामा बैंकहरूबाट माग आयो भने राष्ट्र बैंकले प्रतिव्यक्ति सटहीदर घटाउन सक्ने दाहाल बताउँछन् । तर, अघिल्ला वर्षको मागलाई हेर्दा यो वर्ष पनि राष्ट्र बैंकसँग भएको नयाँ नोट प्रयाप्त हुने उनको आकलन छ ।

गत वर्षको दसैँमा ३० अर्ब रुपैयाँ बराबरको नयाँ नोट साटिएको राष्ट्र बैंकले जनाएको छ । यो वर्ष भने कति नयाँ नोट बजारमा पठाउने भनेर अहिलेसम्म प्रारम्भिक छलफल नभएको दाहालले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 342

प्रतिक्रिया (०)

सम्बन्धित खबर