Aamsanchar

झापामा विषालु सर्पले डसेर फेरि एक जनाको ज्यान गयाे

Author Image
मङ्गलवार, असोज ४, २०७९

झापा : दक्षिणी झापाको कचनकवलमा विषालु सर्पले डसेर फेरि एक जनाको ज्यान गएको छ।

कचनकवल गाउँपालिका-६ बनियानीस्थित सर्पदंश उपचार केन्द्रमा भेन्टिलेटर नहुँदा सोही गाउँपालिका-३ डाकुपाडा निवासी ६५ वर्षीया वृद्धा महिला कालोघात्मी राजवंशीको ज्यान गएको हो।

गोमन सर्पले उनको देब्रे खुट्टामा डसेको थियो। सर्पले डसेर घाइते भएकी राजवंशीलाई छिमेकीले करिब ३ बजेर १० मिनेटमा सर्पदंश उपचार केन्द्र ल्याएका थिए।

उपचार केन्द्र ल्याई पुर्याउँदासम्म उनको शरीरभरि विष फैलिसकेको थियो।

उनलाई १० भाइल एन्टी स्नेक भेनम दिए पनि स्वास्थ्यमा खासै सुधार नआएपछि भेन्टिलेटर नभएकोले अन्यत्र रेर्फर गर्नु परेको केन्द्रका प्राविधिक ह्रदय साहले जानकारी दिए।

‘बिरामीलाई गोमन सर्पले डसेको हो,’ प्राविधिक साहले भने, ‘गोमनले डसेको एक घण्टाभित्रै बिरामीलाई उपचार केन्द्रमा ल्याइसक्नुपर्ने हुन्छ, उनलाई ल्याउन ढिला गरियो।’ त्यहाँबाट रेफर गरेकी राजवंशीको मेची अस्पताल भद्रपुरमा उपचारका क्रममा मृत्यु भएको हो।

एकल महिला समेत रहेकी राजवंशी घरमा एकलै थिइन्। उनलाई कति बेला, कहाँ सर्पले डसेको छिमेकीलाई पनि थाहा छैन।

छिमेकीहरू भन्छन्, ‘उनले समयमै हामीलाई जानकारी गराउँदा ज्यान बचाउन सकिन्थ्यो।’ उनका छोरा विदेशमा छन, भने बुहारी चिया बगानमा काम गर्न गएकी छिन्।

उपचार केन्द्रमा भेन्टिलेटर अभाव हुँदा गत भदौ ४ गते पनि किङ कोब्रा सर्प डस्दा कचनकवल-५ खुमरुभिट्टा निवासी ६५ वर्षीय नेहरुलाल टुडुको अकालमै ज्यान गएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
2
+1
2
+1
0
+1
0
+1
0
+1
2
Views: 3162

प्रतिक्रिया (०)

सम्बन्धित खबर