Aamsanchar

देवी मन्दिरमा दर्शनार्थीको भिड

Author Image
सोमवार, असोज १०, २०७९

काठमाण्डाै – आजदेखि नवरात्रि सुरु भएको छ ।  नेपालीहरुको महान चाड विजया दशमी अर्थात बडा दशैँको आज पहिलो दिन हो । आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने बडा दशैँ १५ दिनसम्म (कोजाग्रत पूर्णिमा) मनाइन्छ ।

नवरात्र सुरु भएसँगै देशभरका देवी आलयहरुमा दर्शनार्थीको भिड देख्न सकिन्छ । काठमाण्डौका भगवती मन्दिरमा पनि दर्शनार्थीहरुको भिड छ । यस अवसरमा भद्रकाली, सङ्कटा, दक्षिणकाली, रक्ताकाली, इन्द्रायणी, चामुण्डा, श्रीमहालक्ष्मीदेवी मन्दिर, गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, कालीका स्थान, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवम् दर्शन गर्ने भक्तजनको भिड लाग्ने गर्छ ।

दुर्गाको प्रतीकका रूपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुट्टै नव कन्याको पूजा समेत गर्ने गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्षमाथिका हुनुपर्ने शास्त्रीय विधान छ । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्रको पाठ पारायण पनि गरिन्छ ।

पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिन्छ ।

दानवी प्रवृत्तिबाट मानिसलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रोक्त कथन छ । दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीककाे रूपमासमेत मनाउने गरिन्छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 81

प्रतिक्रिया (०)

सम्बन्धित खबर