Aamsanchar

२ सय ३९ जनाको ज्यान लिएर बाहिरियो मनसुन

Author Image
आइतवार, असोज ३०, २०७९

यसवर्षको मनसुन बाहिरिएको छ । यसपालि छिटो गरी सुरु भएको मनसुन ढिलो गरी बाहिरिएको हो ।

सामान्यतया जुन १२ तारिखमा मनसुन भित्रिएर अक्टोबर २ तारिखमा बाहिरिने भनिए पनि यसपालि जुन ११ तारिख अर्थात जेठ २८ गते नै मनसुन भित्रिएको थियो । यस्तै, अक्टोबर १६ तारिख अर्थात आज बल्ल मनसुन बाहिरिएको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो ।

मनसुन बाहिरिएको औपचारिक घोषणा हुन भने बाँकी छ । हिजो प्रदेश-१ बाहेकका प्रदेशबाट मनसुन बाहिरिएको थियो । यसपालि मनसुन सुरु हुँदै गर्दा र मनसुनको अन्त्यतिर धेरै वर्षा भयो । मध्य मनसुनमा खासै पानी पर्न सकेन ।

मनसुनको सुरुवातका तीन महिना जुन, जुलाई र अगस्टमा औसतभन्दा कम पानी परेको थियो । त्यसले रोपाइँसमेत प्रभावित हुन पुगेको थियो । त्यसपछिका महिनामा औसतमा वर्षा भएकोमा असोज तेस्रो हप्ता भने ठूलो वर्षा भएको थियो । यो वर्षाले पश्चिमी क्षेत्रमा धेरै नोक्सानी पुर्याएको छ । मानवीयसँगै धानबालीमा पनि क्षति पुगेको छ ।

यसपालि बाढी पहिरोलगायत प्राकृतिक विपदमा परेर २ सय ३९ जनाको ज्यान गएको छ।

सबैभन्दा धेरै पहिरोका कारण मानवीय क्षति भएको छ । गएको वैशाख १ गतेदेखि अस्ति शुक्रवारसम्मको तथ्याङ्क अनुसार यसपालि पहिरोका ३ सय १७ घटना भएका छन् । त्यसमा परेर ९४ जनाको ज्यान गएको छ। १८ जना बेपत्ता भएका छन्।

यस्तै, बाढीका कारण १९ जनाको ज्यान गएको छ भने १५ जना बेपत्ता भएका छन् । ठूलो वर्षामा परेर ८ जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

यस्तै, यो अवधिमा परेको चट्याङ लागेर ८० जनाले ज्यान गुमाएका छन् । आगलागीका परेर २७ जनाको ज्यान गएको छ । यस्तै, हुरीबतासका कारण ९ र हिमपहिरोमा परेर २ जनाको ज्यान गएको प्राधिकरणको तथ्याङ्क छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 250

प्रतिक्रिया (०)

सम्बन्धित खबर