Aamsanchar

तनावग्रस्त व्यक्तिको स्वास्थ्यमा देखिने परिवर्तन र तनाव व्यवस्थापन गर्ने उपायहरू !

Author Image
आइतवार, कार्तिक १३, २०७९

तनावले तपाईंलाई मानसिक र शारीरिक रूपमा प्रभावित गर्छ । व्यक्तिले स्वस्थ रहनका लागि तनावरहित हुनुपर्छ । तपाईंमा तनावका संकेतहरू थाहा पाउनुहुन्छ ।

कपाल झर्नु
तनावका कारण कपाल झर्न शुरू गर्छ । कपाल धेरै झरेमा चिकित्सकसँग परामर्श गर्नुपर्छ ।

तौल बढ्नु वा कम हुनु
तनाव अर्थात् डिप्रेसनले तपाईंलाई थाहै नदिई तौलमा तलमाथि पारिरहेको हुन्छ । तपाईंको भोक कम हुँदै जान्छ र कहिलेकाहीँ त ह्वात्तै बढ्छ ।

कामेच्छामा परिवर्तन
तनावका कारण कामेच्छामा परिवर्तन आउन थाल्छ ।

निद्राको कमी
निद्रामा कमी आउनु पनि तनावको एक संकेत हो । व्यक्ति सुत्ने बेलामा पनि सोचविचार गरिबस्छ र यो तनावको मुख्य कारण हो । यसकारण उसलाई कि त निद्रा लाग्दैन कि त घन्टौं निद्रा लाग्छ ।

मूड परिवर्तन
कुनै काम गर्न मन नलाग्ने, केहीमा रुचि नहुने, कुनै कुराले खुशी नदिने र पीडाको अनुभव पनि नहुने स्थिति आएमा तनाव भएको थाहा हुन्छ ।

यी हुन् तनाव व्यवस्थापन गर्ने उपायहरु

चिन्ता र तनावबाट सायदै संसारका कोही मान्छे अछुतो रहेका होलान् । हरेक व्यक्तिलाई कुनै न कुनै प्रकारको चिन्ता हुन्छ । तनावकै कारण कतिपयले आत्महत्या समेत गर्ने गरेका छन् । नेपालीमा एक उखान निकै प्रचलित छ, ‘चिन्ताले नै चितासम्म पुर्याउँछ।’ मनोविद्ले तनाव व्यवस्थापन गर्ने केही उपाय सुझाएका छन् ।

गीत–संगीत सुन्नुस्
यदि तपाईँ तनावमा हुनुहुन्छ भने केही समय विश्राम लिएर गीत–संगीत सुन्नुस् । यसले तपाईँको दिमाग र शरीरलाई आराम दिएर ब्लड प्रेसर र तनाव बढाउने हर्मोन घटाउन मद्धत गर्छ ।

साथीसँग कुरा गर्नुस्
जब तपाईँलाई तनाब हुन्छ, त्यतिबेला तपाईँ केही समय विश्राम गरी साथीसँग आफ्ना समस्याबारे कुरा गर्नुस् । साथीको सम्बन्ध स्वस्थ जीवनशैलीका लागि महत्वपूर्ण हुन्छ । प्रियजनको आवाजले तनाव मुक्त गर्न सहज बनाउँछ ।

आफैसँग कुरा गर्नुस्
तनाव हटाउन साथीसँग कुरा गर्ने विकल्प नहुन सक्छ । यस्तो अवस्थामा आफैसँग कुरा गर्नु पनि उत्तम विकल्प हुन सक्छ । यस्तोबेला तनावको कारण र समाधान कसरी हुन्छ भनी आफैसँग प्रश्न गर्नुस् । र, सबै कुरा ठीक हुन्छ भनी विश्वस्त रहनुस् ।

सन्तुलित भोजन खानुस्
तनाव र सन्तुलित भोजन परस्पर सम्बन्धित छन् । जब हामी तनावमा हुन्छौं, सन्तुलित खाना छाडी तयारी खानेकुरा खान्छौं । तनाव मुक्त गर्न तयारी खानेकुरा नखानुस् । यस्तो बेला फलफूल र तरकारी खान राम्रो हुन्छ । माछाजन्य खानेकुराले पनि तनाव कम गर्न सहयोग पुर्याउँछ ।

खुलेर हास्नुस्
खुलेर हास्यो भने तनाव कम गर्न सकिन्छ । हास्दा शरीरमा भएको इन्डोरफिन नामक रसायन उत्पन्न भई तनाव बढाउने हर्मोन घटाउन मद्दत गर्छ । कमेडी फिल्म हेरे या चुटकिला पढ्यो भने पनि तनाव कम गर्न सकिन्छ ।

चिया पिउनुस्
तनाव हटाउने एक अर्को उपाय हो, ग्रिन टि पिउने । यसमा भएको रसायनले तनाव कम गर्न मद्दत पुर्याउँछ ।

व्यायाम गर्नुस्
व्यायाम गरेर पनि तनाव कम गर्न सकिन्छ । व्यायाम भन्नेबित्तिकै भारात्तोलन उठाउने र म्याराथनका लागि दौड्ने भन्ने होइन । घर, आँगन या कार्यालय वरिपरि हिँडेर पनि व्यायाम गर्न सकिन्छ । यसले रक्तसञ्चार गरी तनाव मुक्त गर्ने रसायन उत्पादन गरी तनाव हटाउन सहयोग पुर्याउँछ ।

आरामसँग सुत्नुस्
निद्रा पुगेन भने तनाव हुन्छ भन्ने धेरैलाई थाहा होला। अनिद्रा पनि तनावको एक कारण हो । दैनिक सातदेखि आठ घन्टा सुत्ने चिकित्सक नै सुझाउँछन् । तनाव भएका बेला चाडै टिभी बन्द गर्नुस्, बत्ती निभाउनुस् र आरामसँग सुत्नुस् । यसले तनाव कम गर्न सहयोग गर्छ ।

आरामसँग श्वास लिनुस्
आरामसँग श्वास लिए तनाव कम गर्न मद्दत पुर्याउँछ । सदियौंदेखि बौद्ध भिक्षु पनि ध्यान गर्दा श्वासप्रति सचेत हुँदै आएका छन् । भुइँ या कुर्सीमा बसेर आरामसँग तीन–चार मिनेट बिस्तारै गहिरो श्वास लिनुस् । तनाव कम गर्न सकिन्छ । किनकि छोटो श्वास तनावको कारण हो ।

जीवनशैलीबारे सचेत रहनुस्
माथिका यी उपाय छोटो अवधिका लागि तनाव कम गर्ने उपाय हुन् । जीवनशैलीबारे सचेत रहेर तनाव कम गर्न सकिन्छ । यो तनाव कम गर्ने दीर्घकालीन उपाय हो । मानसिक स्वास्थ्यबारे सचेत रही नियमित योग र ध्यान गरे तनावबाट मुक्त रहन सकिन्छ ।

यसबाहेक तनावबारे जानकारी लिएर पनि तनाव कम गर्न सकिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर