Aamsanchar

३ महिनाअघि मात्र रोमानिया पुगेका एक नेपाली युवककाे मेसिनमा च्यापिएर ज्यान गयाे

Author Image
बिहिवार, कार्तिक १७, २०७९

म्याग्दी : पैसा कमाएर घर परिवारलाई सुखसँग पाल्ने सपना बोकेर ३ महिनाअघि वैदेशिक रोजगारीका लागि रोमानियामा गएका म्याग्दीका एक युवाको काम गर्ने क्रममा मेसिनमा च्यापिएर मृत्यु भएपछि घर परिवारमा रुवाबासी भएको छ।

गत साउनमा रोमानिया गएका म्याग्दीको रघुगंगा गाउँपालिका–६ रायखोरका ३३ वर्षीय देवेन्द्र पुनको हिजो बुधबार टिमिसोरा शहरको भिजेजदियानजिक बानट मेलन एग्रिकल्चर कम्पनीमा काम गर्ने क्रममा मेसिनमा च्यापिएर मृत्यु भएको म्याग्दी प्रवासी नेपाली संघ अन्तरराष्ट्रिय कार्यसमिति (मोना आइइसी) का महासचिव हरि राम्जालीले जानकारी दिए।

वैदेशिक रोजगारका लागि ३ महिनाअघि मात्र रोमानिया पुगेका पुनको दिउँसो करिब ३ बजे आलु टिप्ने क्रममा मेसिनको बेल्टमा च्यापिँदा ज्यान गएको जनाइएको छ।

उनको मृत्यु भएको खबरले उनका बुवाआमा, दाजुहरू, पत्नी र एउटा ६ महिने शिशुसहित दुई छोरा छन्। पुनको शव नेपाल ल्याउन पहल भइरहेको रघुगंगा गाउँपालिका–६ का वडाध्यक्ष मनकुमार शेरपुञ्जाले बताए।

३३ वर्षको कलिलो उमेरमा भएको पुनको निधनप्रति म्याग्दी प्रवासी नेपाली संघ अन्तरराष्ट्रिय कार्यसमितिले दुःख व्यक्त गरेको छ।

बिहीबार मोना आइइसीका महासचिव हरि राम्जाली र अध्यक्ष अमर छन्त्यालले शोक व्यक्त गर्दै मृतक पुनको घटनाको यथार्थ विवरण लिन, बिमा तथा क्षतिपूर्तिको लागि कम्पनीमा माग गर्न र उनको शव यथाशक्य छिटो नेपाल ल्याउन पहल गर्न मोना रोमानियालाई अनुरोधसमेत गरेका छन्।

मोना अन्तरराष्ट्रिय कार्यसमितिले पनि आवश्यक सहयोग तथा समन्वय गर्ने जनाईएको छ।

Views: 54

प्रतिक्रिया (०)

सम्बन्धित खबर