Aamsanchar

झापा कारागारबाट थुनामुक्त भए भारतीय फोटोग्राफर दुर्लभ रोय चौधरी

Author Image
शुक्रवार, मंसिर २, २०७९

झापा – मुद्रासम्बन्धी कसुरमा एक वर्षदेखि थुनामा रहेका भारतीय फोटोग्राफर दुर्लभ रोय चौधरी शुक्रबार थुनामुक्त भएका छन् । झापा जिल्ला अदालतको फैसलाबाट एक वर्षको कैद सजाय ताेकिएका चौधरी सजाय भुक्तान गरी शुक्रबार रिहा भएका हुन् ।अमेरिकी डलरको कलर फोटोकपी बोकेर हिँडेको कसुरमा चौधरीलाई एक वर्षअघि झापा प्रहरीले पक्राउ गरेको थियो । नेपालमा ट्राभल भ्लग र प्राकृतिक सुन्दरताको फोटोग्राफी गर्न आएका चौधरीले सुटिङ प्रयोजनका लागि ल्याएको डलरको फोटोकपीको अनुमति नलिएका कारण पक्राउ परेका थिए ।

नेशनल जियोग्राफी, टाइम्स अफ इण्डिया, वाल स्टिर्ट फोटोबुक लगायतमा काम गर्ने भारतीय फोटो पत्रकार दुर्लभ रोय चौधरीलाई भद्रपुर विमानस्थलबाट गत वर्षको मंसिर २ गते पक्राउ गरिएको थियो । त्यसलगत्तै खोटा मुद्राको मुद्दामा उनलाई झापा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

थुनामा पठाएको ८ महिनापछि झापा जिल्ला अदालतका न्यायाधीश गिरिराज गौतमको इजलासले नक्कली मुद्रा बोकेको कसुरमा उनलाई एक वर्ष कैद र १५ हजार रूपैयाँ जरिवाना ठहर गरिएको थियो ।  दुर्लभले भिडियो बनाउने क्रममा उडाउने प्रयोजनका लागि फोटोकपी गरेर ल्याएको अमेरिकी डलरको फोटोकपी पेपरलाई चलनचल्तीमा प्रयोग गर्न लागिएको भन्ने प्रहरी प्रतिवेदनका आधारमा सरकारले मुद्दा दायर गरेको थियो ।

यद्यपि दुर्लभले नेपाल ल्याएको उक्त डलरको फोटोकपी बाक्लो फोटो प्रिन्टमा कलर फोटोकपी गरिएको थियो भने सबै नोटको नम्बर एउटै रहेको थियो । सामान्य मानिसले पनि नक्कली हो भनेर चिन्ने उक्त नोटलाई प्रहरीले चलन चल्तीमै ल्याउन खोजेको भन्दै प्रतिवेदन दिएर मुद्दा दर्ता गरिएको थियो ।

पशुपतिको दर्शन गर्ने इच्छा
शुक्रबार झापास्थित कारागारबाट थुनामुक्त भएलगत्तै चौधरीले पशुपतिको दर्शन गर्ने बताएका छन् । आफू गलत मनसायका साथ नेपाल नआएको र आफ्नो उद्देश्य गलत नभए पनि एक वर्ष नेपालको जेलमा बिताउनुपरेको भन्दै उनले दुःख व्यक्त गरे । डलरको फोटोकपी ल्याउन अनुमति नलिनु प्राविधिक कमजोरी मात्रै रहेको भएपनि नेपालको प्रहरी र अदालतले आफूमाथि अन्याय गरेको उनले दुःखेसो पोखे । कारागार बसाईका क्रममा आफू डिप्रेसनमा गएको भन्दै अब पशुपतिनाथको दर्शन गरेर स्वदेश फर्किने दुर्लभले रातोपाटीलाई बताए ।

दुर्लभको विषयमा सर्वप्रथम रातोपाटीले खोजमुलक समाचार प्रकाशन गरेको थियो । त्यसपछि विभिन्न संघ–संस्थाले दुर्लभका लागि आर्थिक र कानुनी सहायता प्रदान गर्ने घोषणासमेत गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
16
+1
2
+1
3
+1
0
+1
2
+1
6
+1
9
Views: 1091

प्रतिक्रिया (०)

सम्बन्धित खबर