बिर्तामोड । झापामा जेठ ११ गते राति आएको भीषण हावाहुरी र वर्षाले जिल्लाका विभिन्न स्थानमा व्यापक क्षति पु¥याएको छ । रातभर चलेको हावाहुरीले सर्वसाधारणका घरका छाना उडाएको मात्रै होइन, कुखुरा फार्म, उद्योग, विद्युत पोल तथा सवारी साधनमा समेत ठूलो क्षति पु¥याएको प्रहरीले जनाएको छ ।
सबैभन्दा बढी क्षति गौरादह, हल्दिबारी, बिर्तामोड, मेचीनगर र दमक क्षेत्रमा भएको छ । कतिपय स्थानमा सडक अवरुद्ध हुँदा स्थानीय रातभर त्रासमा बसेका थिए ।
गौरादह नगरपालिका–७ डाँडागाउँका ४२ वर्षीय पर्शुराम दाहालको कुखुरा फार्म पूर्ण रूपमा ध्वस्त भएको छ । पक्की पिलर र टिनको छानो भएको फार्ममा रहेका २५ वटा ब्रोइलर कुखुरा मरेका छन् । उक्त घटनाबाट करिब दुई लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
हल्दिबारी गाउँपालिका–२ मा हावाहुरीले तीन परिवारको घरको छाना उडाउँदा करिब ९० हजार रुपैयाँ बराबरको क्षति भएको छ । चरण बास्केको फुसको छानो भएको घर पूर्ण रूपमा क्षति भएको छ भने फूलकुमारी केरुङको पक्की घरको टिनको छाना उडेको प्रहरीले जनाएको छ ।

गौरादह नगरपालिका–६ मा पनि हावाहुरीले थुप्रै घरमा क्षति पु¥याएको छ । सगरमाथा टोलका श्यामलाल बेस्राको घरको छाना उडाउँदा ७० हजार रुपैयाँ बराबरको क्षति भएको छ भने निर्मला चोकका हुकुमसिंह राईको घरमा ६० हजार रुपैयाँ बराबरको क्षति पुगेको छ । आरतीनगरका मानबहादुर पराजुलीको भान्सा घरको छाना उड्दा भित्र राखिएको धान र मकै भिजेर ८० हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ ।
यस्तै, हल्दिबारी–५ धनुषटोलकी पूर्णमाया पनेरु चापागाईँको घरको टिनको छाना उडाउँदा २० हजार रुपैयाँ बराबरको क्षति पुगेको छ ।
प्राकृतिक विपत्तिको अर्को दर्दनाक घटना गौरादह–८ बैराती टोलमा भएको छ । इन्द्रमणि प्रसाईँको दुई वटा घरमा चट्याङ लागेर विद्युत उपकरण, फ्रिज, टेलिभिजन, सोलार, पंखा, तार तथा महत्वपूर्ण कागजात जलेर नष्ट भएका छन् । घटनाबाट एक लाख ३६ हजार पाँच सय रुपैयाँ बराबरको क्षति भएको छ ।
दमक नगरपालिका–१० मा रहेको गरिमा इट्टा भट्टाको भवनको टिनको छाना उखेलिँदा उद्योगमा क्षति पुगेको छ भने मेचीनगर–१५ मा रहेको जय माँ कामक्ष इण्डष्ट्रिज प्रालिको गोदाम र मेसिन माथिको जस्ता उडाउँदा करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
बिर्तामोड क्षेत्रमा हावाहुरीका कारण विद्युत पोल ढलेर सडक अवरुद्ध भएका छन् । बिर्तामोड–३, ६, ८ लगायत स्थानमा पोल ढलेका कारण विद्युत सेवा प्रभावित बनेको छ । खुकुरीचोकमा रोहित खड्काको घरमा पिपलको रुख ढलेर आंशिक क्षति पुगेको छ ।
बाह्रदशी गाउँपालिका–५ मागुगाउँमा पृथ्वीलाल राजवंशीको घरको टिनको छाना पूर्ण रूपमा उडाउँदा डेढ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
मेचीनगर–८ इटाभट्टास्थित सूर्यदय कम्पनीको पार्किङ भवनको जस्तापाता उडेर त्यहाँ पार्किङ गरिएका दुईवटा बसको अगाडिको सिसा फुटेको छ ।
यद्यपि यति ठूलो प्राकृतिक विपत्तिका बाबजुद कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । स्थानीयवासीले भने वर्षायाम सुरु नहुँदै आएको यस्तो भीषण हावाहुरीले आगामी दिनप्रति थप चिन्ता बढाएको बताएका छन् ।
उल्लेखित विवरण यो समाचार तयार पार्दा सम्मको हो ।


