Aamsanchar

आइसिपीस्थित भन्सार विन्दुबाट कोशी राजमार्गसम्मको साढे चार किलोमिटर सडकको कालोपत्रे चर्कियो

Author Image
मङ्गलवार, जेठ १२, २०८३

विराटनगर- विराटनगर महानगरपालिका–१८, बुधनगरमा रहेको एकीकृत जाँचपास चौकी (आइसिपी)स्थित भन्सार विन्दुबाट कोशी राजमार्गसम्मको साढे चार किलोमिटर सडकको कालोपत्रे चर्किएको छ । भन्सार जाँचपास गराएर छुटेका सवारी साढे चार किलोमिटर लिङ्क रोड पार गरेर कोशी राजमार्गमा गुड्छन् । कोशी राजमार्ग अन्तर्गत विराटनगर महानगरपालिका–१४ देखि उत्तर विराटनगर–३, कञ्चनबारी चोकसम्मको सडकको अवस्था पनि उस्तै छ । सडक बिग्रनुको कारण भने सडकको भारवहन क्षमताभन्दा बढी वजन भएका सवारी नै हुन् ।

राजमार्ग बर्सेनि भत्कन थालेपछि यसको दबाबमा भने डिभिजन सडक कार्यालय विराटनगर पर्ने गरेको छ । कार्यालयका इन्जिनियर एवं सूचना अधिकारी प्रभातकिरण राईका अनुसार सडकको उप्किएको कालोपत्रे काटेर टालटुल गर्ने काम भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार रानी–विराटनगर खण्डलाई ‘रिह्याब’ गर्नुपर्ने देखिएकाले सडक विभागसँग ३० करोड माग गरिएको छ ।

यसको टालटुलले मात्रै दीर्घकालीन समाधान नहुने भएकाले डिभिजन सडक कार्यालयले पुनस्र्थापना गर्ने योजना अगाडि सारेको हो । जस अन्तर्गत बारम्बार भत्कने स्थानको आसपास पूरै काटेर ९डिस्मेन्टल० त्यहाँ नयाँ कालोपत्रे वा ढलाइ गरिने इन्जिनियर राईले जानकारी दिनुभयो ।

भारतबाट मालवस्तु बोकेर आएका सवारीमा अधिक वजन हुन्छ । त्यसलाई नियमन गर्ने प्रयाससमेत सफल हुन सकेको छैन तर त्यसको असर भने सडकमा परिरहेको इन्जिनियर राईको भनाइ छ ।

सडक विभागमा अहिले कोशी राजमार्गको रानी–विराटनगर खण्डको पूरै मर्मत गर्नुपर्ने गरी प्रस्ताव पेस गरिएको हो । यस अगाडि यो सडक तीन पटक मर्मत गरिसकिएको छ । पहिलो पटक ठेकेदार कम्पनीले निर्माणपछि हस्तान्तरण हुनुपूर्व नै मर्मत गराइएको थियो । दोस्रो पटक छ लेन सडक आयोजनाले नै मर्मत गरेको थियो । त्यसपछि डिभिजन सडक कार्यालयमातहत आएपछि अहिले मर्मत गर्ने काम भइरहेको छ ।

तर चालु आर्थिक वर्षमा एक करोड ३० लाख रुपियाँ मर्मत शीर्षकमा रकम विनियोजन भएको भए पनि यसले भत्केको राजमार्ग मर्मतलाई एकछेउ पनि नपनुग्ने निष्कर्षमा डिभिजन सडक कार्यालय विराटनगर पुगेको छ ।

एकीकृत जाँचपास चौकी(आइसिपी)विराटनगरको व्यवस्थापन हेर्दै आएको ट्रान्स नेपाल टिआरएस लोजीपार्कले भन्सार विन्दुमा मालवाहक सवारीको वजन लिन्छ । जसका लागि एक सय टनको एउटा र ८०र८० टनका दुई वटा काँटा राखिएको छ । औद्योगिक कच्चा बोकेर आउने सवारीमा अधिक भार हुँदा सडक भत्कने गरेको हो । कोशी राजमार्ग सडक डिभिजन कार्यालयमातहत रहे पनि भन्सारबाट कोशी राजमार्गसम्मको साढे चार किलोमिटर सडक भने नेपाल इन्टरमोडेल यातायात विकास समितिमातहत रहेको छ ।

Views: 22

प्रतिक्रिया (०)

सम्बन्धित खबर