
ताप्लेजुङ – ताप्लेजुङमा महिलालाई ट्रयाकसुट सिलाउने तालिम प्रदान गरिएको छ । महिलाहरुलाई आयआर्जनमा सहयोग गर्ने र उनीहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले ट्रयाकसुट सिलाउने तालिम प्रदान गरिएको हो ।
जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयले महिलालाई ट्रयाकसुट सिलाउने तालिम प्रदान गरेको हो । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ ताप्लेजुङसँगको समन्वयमा जिल्लामै पहिलोपटक ट्रयाकसुट सिलाउने सीप विकाससम्बन्धी तालिम सञ्चालन गरिएको हो ।
घरेलु तथा सानो उद्योग कार्यालयका प्रमुख उद्योग अधिकृत लक्ष्मी सुहाङले महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले नै ट्रयाकसुट सिलाइसम्बन्धी तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो । प्रमुख उद्योग अधिकृत सुहाङका अनुसार जिल्लामा सिलाइ कटाइसम्बन्धी उद्यम गर्दै आएका र उद्यम गर्न चाहाने १२ जना महिलालाई तालिम प्रदान गरिएको हो ।

ट्रयाकसुट सिलाउने एक महिने तालिम सम्पन्न भएसँगै सोमबार आयोजित समापन कार्यक्रममा प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको छ । फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गर्नुहुँदै तालिममा सिकेको सीपलाई सदुपयोग गर्न आग्रह गर्नुभयो ।
आत्मनिर्भर बन्न र आयआर्जन गर्नका लागि तालिमबाट प्राप्त गरेको सीपलाई सही सदुपयोग गरेमा मात्र सम्भव हुने नगरप्रमुख मादेनले बताउनुभयो । उहाँले तालिममा सहभागी भएका प्रशिक्षार्थीलाई सम्भव भए एक्लै र नभए सामूहिक रुपमा उद्यम सञ्चालन गरी सीपलाई सदुपयोग गर्न सुझाव दिनुभयो ।
यता पहिलोपटक ट्रयाकसुट सिलाइसम्बन्धी सीप विकास तालिम लिने अवसर पाएकोमा प्रशिक्षार्थीले खुशी व्यक्त गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ, महिला समितिकी अध्यक्ष विष्णुकमारी श्रेष्ठले ट्रयाकसुट सिलाउने तालिमले सिलाइ कटाइको क्षेत्रका लागि थप उत्साहित बनाएको बताउनुभयो ।
नयाँ अनुभवसहित ट्रयाकसुट सिलाउने तालिमले सबैलाई उद्यम सञ्चालन गर्दै उद्यमी बन्नका लागि उत्साहित बनाएको श्रेष्ठले बताउनुभयो । प्रशिक्षार्थीहरुले ट्रयाकसुट सिलाइसम्बन्धी थप क्षमता अभिवृद्धि तालिम र अन्य प्राविधिक सहयोगको मागसमेत गरेका छन् । ट्रयाकसुट सिलाइसम्बन्धी एक महिने तालिमको प्रशिक्षण रत्नकाजी कपालीले दिनुभएको थियो ।


