विश्व माटो दिवस
बढिरहेको आधुनिकीकरणको प्रभावले हामीले समाजमा आइरहेको थुप्रै सकारात्मक एवं नकारात्मक परिवर्तनहरू आफ्नै नजरले देख्न सक्छौ, तर केही परिवर्तन यस्ता पनि छन् जुन हामीले न देख्न सक्छौ, न महसुस नै गर्न सक्छौ। जस्तै, माटोमा आएको परिवर्तन। माटोको प्रदूषण हामीले कहिले ख्याल नै गरेका छैनौ। त्यसैले स्वस्थ माटोको महत्त्वमा विश्वको ध्यान केन्द्रित गर्न र माटोको स्रोतको स्थायी व्यवस्थापन सम्बन्धी जनजागरूकता फैलाउन हरेक वर्षको डिसेम्बर ५ तारिखमा संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि संस्थानले विश्व माटो दिवस मनाउने गर्दछ। थाईल्याण्डको राजा भुमिबोल अडुल्याडेजले विश्व माटो दिवसलाई आधिकारिक रूपमा स्वीकृत गरेकोले यो दिन उनकै जन्मदिन अर्थात् ५ डिसेम्बरमा मनाउन थालिएको हो।
यस वर्षको माटो दिवसको नारा चाँही “Soil: Where food begins” अर्थात खाधान्न र माटोलाई जोडेर यस वर्षको नारा र क्रियाकलाप अनि सन्देशहरु तय गरिएको छ ।
माटोको महत्त्व
अहिलेको समय प्रदूषण एउटा चिन्ता हो, हाम्रो पैताला मुनि पर्ने माटोको चिन्ता के हामीले कहिले गरेका छौ ? पक्कै पनि हामी मध्य धेरैले माटोको बारेमा सोचेका छैनौ। हो, हाम्रो यही बेवास्ता गर्ने बानीले गर्दा नै होला, अहिले विश्वभरिको करिब एक तिहाइ माटोको स्तर निक्कै कमजोर भैसकेको छ। अधिकांश प्रदूषणहरू मानव गतिविधिहरूबाट उत्पन्न हुन्छन् जस्तै, औद्योगिक गतिविधिहरू, अप्रत्यक्ष सहरी फोहोरहरू र अन्य गैर-पर्यावरण अभ्यासहरू र खेतीको बेला गर्ने अत्यधिक विषादीको प्रयोगले उत्पादनशील विशेषतायुक्त माटोको क्षमतामा ह्रास आउन थालेको हो। हुन त माटोसँग पनि केही मात्रामा भएको प्रदूषणलाई फिल्टर गर्न सक्ने क्षमता हुन्छ, तर त्यो निक्कै सीमित छ।
माटो स्वच्छ हुनुले बोटबिरुवाको विकास मात्र प्रभावकारी हुन्छ भन्ने चाही हैन,माटो धेरै कीराहरू र अन्य जीवहरूका लागि आवास पनि हो। त्यस्तै, जमिन मुनिको पानी, कार्बनको भण्डार र वायुमण्डलमा हुने थुप्रै ग्यासहरूलाई स्वच्छ पार्न स्वच्छ माटोको आवश्यकता पर्दछ। यदि हामीले अहिले पनि माटोको बारेमा सोचेनौ भने विश्वले निक्कै चाडै खाद्यान्न सङ्कटको सामना गर्नेछ।
वास्तविकता उजागर भैसकेको छ। अब माटोको बारेमा सोच्ने मात्र हैन, यसलाई लाभदायक हुने कामहरू मात्र गर्ने बेला आइसकेको छ। भविष्यमा आउने खतराको बारेमा जानी बुझी हामी अब जोखिम उठाउन सक्दैनौ। विश्व माटो दिवसले फैलाउने जागरूकतामा आजै देखि ध्यान दिऊ।