Aamsanchar

एनआरएनए सीईओको कार्यशैलीप्रति अध्यक्षको असन्तुष्टि, कारबाहीको तयारी

Author Image
सोमवार, मंसिर १९, २०७९

गैरआवासीय नेपाली संघ (एनआरएनए)) का सीईओ रविकिरण अधिकारीलाई कारबाहीको तयारी भएको छ । अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको शनिबार सम्पन्न बैठकमा कार्यकारी अध्यक्ष रविना थापाले सीईओको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लामो दस्ताबेज नै प्रस्तुत गरेकी थिइन् ।

यो कुरालाई पुष्टि गर्दै एनआरएनएका तीन अध्यक्षमध्येका एक बद्री केसीले कार्यकारी अध्यक्षले प्रश्न उठाइसकेपछि सबै विषय समेटेर सीईओलाई चेतावनीसहित स्पष्टीकरण सोध्ने निर्णय भएको बताए । बैठकमा सीईओविरुद्ध असन्तुष्टि जनाउँदै थापाले सीईओबाट गर्न नहुने कुराहरुको ठूलै दस्ताबेजै पेश गरेकी थिइन् । अध्यक्षले असन्तुष्टि जनाएपछि ती विषय समेटेर चेतावनी दिने र लिखित स्पष्टीकरण सोध्ने निर्णय भएको बताइएको छ ।

आफ्नो निर्देशन नमानेको, संघको कर्मचारी प्रशासन नियमावली र विधानलाई उलंघन गरेको थापाको भनाइ छ । अधिकारीलाई थापाले ४ हप्ताअघि यस्तै लिखित चेतावनी पत्र थमाएकी थिइन्, सो पत्रको समेत अवज्ञा गरेपछि संघको पदाधिकारी बैठकले पुनः औपचारिक निर्णय गर्दै कारवाहीको प्रकृया अघि बढाएको हो ।

अधिकारी गत अगष्ट महिनामा एनआरएनएको सीईओमा १ वर्षको लागि नियुक्ति पाएका थिए । ​शुरुमा तीन लाख ५० हजार तलव कबुल गरेर आएका अधिकारीलाई संघले पछि तलव भत्ता घटाएर डेढ लाखमा झारेको थियो ।

एनआरएनएमा कुल आचार्य कार्यकारी अध्यक्ष हुँदा रवि किरणले नियुक्ति पाएका हुन् । अहिले रविना कार्यकारी अध्यक्ष हुँदा रवि किरणले टेर्न छाडेको एक एनआरएनए नेताले बताए । एनआरएनएभित्रको चरम विवाद र गुटबन्दीका कारण अघिल्लो महाधिवेशनबाट चक्रिय प्रणाली अनुसार पालैपालो नेतृत्व गर्नेगरी कुल आचार्य, रविना थापा र डा बद्री केसी अध्यक्ष बनेका थिए । सोहीअनुसार ६ महिना आचार्यले नेतृत्व गरेपछि अहिले रविनाको पालो आएको हो भने त्यसपछि बद्रीले पालो पाउनेछन् ।

 

Views: 167

प्रतिक्रिया (०)

सम्बन्धित खबर