झापा : कम्बोडिया र थाइल्यान्ड सीमा नजिकैको एक क्यासिनोमा भीषण आगलागी हुँदा झापाका निराकर पाण्डेको ज्यान गएको छ।

कम्बोडियास्थित पोइपेट सहरको ग्राण्ड डायमन्ड सिटी होटेल र क्यासिनोमा बुधबार राती आगलागी हुँदा झापा बिर्तामोड नगरपालिका १ निवासी ४० वर्षीय निराकर पाण्डेको ज्यान गएको हो।

सो क्यासिनोमा आगलागी हुँदा पाण्डेसहित १९ जनाको मृत्यु भएको छ भने ६० बढी घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। पाण्डे बिर्तामोड नगरपालिका–१ का वडा अध्यक्ष अग्निप्रसाद पाण्डेका माइला छोरा हुन्।

अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष दीपक ओलीको सहयोगमा एनआरएन कम्बोडियाका अध्यक्ष लालसिंह खड्काले दिएको जानकारी अनुसार होटेलमा आगलागी हुँदा निराकर त्यही फसेका थिए।

घण्टौँसम्म आगो नियन्त्रणमा नआउँदा उनले आफूलाई बचाइदिन एनआरएन खड्कासँग अनुरोधसमेत गरेका थिए। उनले पटक पटक घरका परिवारजन र साथीभाइसँग भिडियो कलमार्फत कुराकानीसमेत गरेका थिए।
होटेलबाट बाहिर निस्किने सबै ढोकाहरू बन्द भएको र अब बाच्ने कुनै सम्भावना नरहेपछि उनले आफूलाई बचाउन होटेलको १२ तलाबाट हाम फालेका थिए। होटेलबाट हाम फाल्नुअघि उनले आँखाबाट आँसु झार्दै परिवारजनसँग एक घण्टा बढी लामो गफगाफ गरेका थिए।
उनले आफ्नो छोरोलाई परिवारजनका अन्य सदस्य र आफन्तलाई माया र इज्जत गर्न भनेका छन्। उनले कसैलाई फ्रड नगर्नु, ज्ञानी बन्नु भनेर छोरालाई दिएको त्यो उपदेश नै अन्तिम कल भएको पारिवारिक स्रोतले जनाएको छ।
अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष ओलीले समेत आफ्नो गृह जिल्ला झापाका पाण्डे आगलागीमा परेको थाहा पाएपछि सबै नेटवर्क प्रयोग गरे पनि उनलाई बचाउन नसकेको जानकारी दिएका छन्। हाल पाण्डेको शवलाई आइसमा राखिएको उनले बताए।

