Aamsanchar

श्रीकृष्ण माविका शिक्षक विष्टको हत्यामा संलग्न एक दम्पतीलाई कारागार चलान

Author Image
बिहिवार, पौष २८, २०७९

बैतडी – बैतडीको पाटन नगरपालिका ६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्यामा संलग्न रहेको भन्दै एक दम्पतीलाई कारागार चलान गरिएको छ।कारागार चलान हुनेमा पुचौडी नगरपालिका ३ का प्रजा बोहरा र उनकी श्रीमती बिमला बोहरा रहेका छन्।

दुवै जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो।

सुर्नया गाउँपालिका २ घर भएका ५५ वर्षीय शिक्षक पुस २ गते श्रीकृष्ण माविको छात्रावास पछाडि मृत भेट्टिएका थिए। त्यसपछि शिक्षकको हत्यामा संलग्न रहेको भन्दै बोहरा दम्पतीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

नियन्त्रणपश्चात बोहरा दम्पतीले हत्या गरेको स्वीकारेपछि प्रहरीले पुस ७ गते पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ।

दुवैजनाविरूद्ध बैतडी जिल्ला अदालत कर्तव्य ज्यान मुद्दामा दुई पटक म्याद थपेर अनुसन्धान कार्य गरेको थियो।

श्रीकृष्ण माविमा कम्प्युटर डिप्लोमा चौथो वर्षमा अध्ययन गरिरहेकी विमला छात्रावासमा बस्दै आएकी थिइन। उनका श्रीमान पनि भेटघाटका लागि पाटन पुगेर छात्रावासमै बसेका थिए।

छात्रावासमै बस्दै आएका शिक्षक विष्टले पुस १ गते राति पौने १० बजे शौचालय गएकी विमलालाई अंगालो हाली दुर्व्यवहार गरेको श्रीमान प्रजाले देखेको र त्यसपछि आक्रोशित भएका प्रजाले विष्टको छाती,मुखमा हिर्काउँदै छात्रावास बाहिर ल्याई पुर्पुरोमा ठोस वस्तु हिर्काउदै हत्या गरेको प्रजाले प्रहरीसमक्ष बयान दिएका छन्।

विष्टको मृत्यु भएपश्चात् शवलाई लुकाउन प्रजा र विमला दुवै जनाले बोकेर नजिकै रहेको केत्तुकेको झारीमा फालेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)