Aamsanchar

५० हजार वर्षपछि दुर्लभ हरियो पुच्छ्रेतारा आजदेखि पृथ्वीबाट हेर्न सकिने

Author Image
शुक्रवार, पौष २९, २०७९

काठमाण्डाै – दुर्लभ हरियो पुच्छ्रेतारा आजदेखि पृथ्वीबाट सहजै देख्न सकिने भएको छ । यो पुच्छ्रेतारा ५० हजार वर्षपछि पृथ्वीबाट हेर्न सकिने भएको खगोलविद्ले बताएका छन् ।

आजदेखि झण्डै एक महिनासम्म हरियो पुच्छ्रेतारालाई नेपालबाट पनि हेर्न सकिने वीपी कोइराला मेमोरियल प्लानेटरियम अब्जरभेटरी विज्ञान सङ्ग्रहालयका निमित्त कार्यकारी  निर्देशक एवम् खगोलविद् डा. सनतकुमार शर्माले बताउनुभयो । यो पुच्छ्रेतारा  निकै  चिसो  हिउँको  डल्लो  हो । यो सूर्य नजिक आउँदा वाष्पीकरण हुन्छ र निकै लामो मुस्लो निस्कन्छ ।

मुस्लो हरियो रङको पुच्छर आकारको देखिने भएकाले हरियो पुच्छ्रेतारा भनिएको हो । नेपाल  एस्ट्रोनोमिकल  सोसाइटी  (नासो) का  अध्यक्ष  सुरेश  भट्टराईका  अनुसार  अमेरिकाको  पालोमार  वेधशालामा  रहेको  ज्विकी  ट्रान्सिएन्ट  फेसिलिटी (जेटीएफ) बाट पहिलो पटक सन् २०२२ मार्च २ मा निश्चित गरिएको यो धुमकेतु वा पुच्छ्रेतारा सन् २०२१ जुलाई १० देखि सन् २०२३ जनवरी ६ सम्म चार हजार ९ सय ६२ पटक अवलोकन गरिएको छ । यसले सूर्यको वरिपरि आफ्नो कक्षमा परिभ्रमण गर्ने क्रममा आज सूर्यको सबैभन्दा नजिक पुग्ने हुँदा यसको अवलोकन गर्न सकिन्छ ।

नेपालबाट  यो  दुर्लभ  पुच्छ्रेतारालाई  ध्रुवताराको नजिकै एउटा टाउको र दुईवटा लामा र छोटा गरी तीनवटा पुच्छरका रूपमा देखिनेछ । यो पुच्छ्रेताराको अवलोकन नाङ्गो आँखाका साथै वाइनाकुलर तथा टेलिस्कोपबाट समेत गर्न सकिने अध्यक्ष  भट्टरार्ईले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 338

प्रतिक्रिया (०)

सम्बन्धित खबर