![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/01/New-Project-2023-01-30T161503.713.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
काठमाण्डाै – निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको चुनावकाे कार्यतालिका सार्वजनिक गरेको छ ।
आयोगको निर्णयअनुसार आउँदाे फागुन २५ बिहीवार राष्ट्रपतिको र चैत ३ गते शुक्रवार उपराष्ट्रपतिको चुनाव गर्ने गरी मिति तोकिएको छ । दुवै पदका लागि तोकिएको दिन नयाँ बानेश्वरमा रहेकाे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र मतदान केन्द्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
दुवै पदका लागि सङ्घीय संसद् र प्रदेश सभाका सदस्य मतदाता रहनेछन् । विद्यमान कानुनी प्रावधानका कारण आयोगले प्रदेशगत आधारमा मतदान केन्द्र नसकिएको जनाएको छ ।
स्वीकृत निर्वाचन कार्यक्रमअनुसार राष्ट्रपतिको चुनावका लागि फागुन १० गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिनेछ । साथै फागुन १३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिनेछ ।
उपराष्ट्रपतिको चुनावका लागि फागुन २७ गते बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने लगायतका कार्यक्रम तय गरिएको छ ।
नेपालको संविधानको धारा ६३ को उपधारा १ र धारा ६९ बमोजिम राष्ट्रपति तथा उपराष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने संवैधानिक व्यवस्था छ ।
२०७४ साल फागुन २९ मा भएको राष्ट्रपतिको चुनावमा निर्वाचित हुनुभएका वर्तमान राष्ट्रपतिको पदावधि २०७९ साल फागुन २८ गते समाप्त हुने भएको र २०७४ साल चैत ४ गते निर्विरोध निर्वाचित हुनुभएका वर्तमान उपराष्ट्रपतिको पदावधि २०७९ चैत ३ गते समाप्त हुने भएकाले त्यसअघि नै चुनाव सम्पन्न गर्ने गरी मिति तोकिएको हो ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा ४ र ५ बमोजिम आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनावकाे मिति घोषणा गरी त्यसकाे जानकारी सरकारलाई दिनुपर्ने छ । साथै त्यससम्बन्धी सूचना राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा ४ तथा दफा ५ को उपदफा (३) बमोजिम नेपाल राजपत्रमा प्रकाशन गर्नुपर्ने भएकाले त्यसका लागि सरकारका मुख्य सचिवमार्फत नेपाल सरकार मन्त्रिपरिषद्लाई आयोगले लेखी पठाउनेछ ।