
भारत – तमिलनाडुका मुख्यमन्त्री बनेपछि सी जोसेफ विजय थलापति लोकप्रिय तीन निर्णयको फाइलमा हस्ताक्षर गरेका छन् । उनले २०० युनिट निःशुल्क बिजुली र महिलाको सुरक्षाका लागि विशेष कार्यदल गठन गर्ने आदेशमा हस्ताक्षर गरेका छन् । मुख्यमन्त्री पदको शपथ लिँदै थलापतिले आफ्नो पहिलो वाचा पूरा गर्दै २०० युनिट निःशुल्क बिजुलीसम्बन्धी फाइलमा हस्ताक्षर गरेका हुन् । यसका साथै उनले महिलाको सुरक्षाका लागि विशेष बल गठनसम्बन्धी फाइलमा पनि हस्ताक्षर गरेका छन् ।
यस्तै उनले लागूऔषधको समस्यासँग जुध्न हरेक जिल्लामा विशेष बल गठन गर्ने निर्णयको फाइलमा पनि हस्ताक्षर गरेका छन् । मुख्यमन्त्री बनेपछि विजयले आफू कुनै शाही वंशबाट नआएको बताएका छन् । जवाहरलाल नेहरू स्टेडियममा आफ्नो पहिलो सम्बोधनमा विजयले ‘वास्तविक धर्मनिरपेक्षता र सामाजिक न्याय’ का लागि प्रतिबद्ध शासनको नयाँ युग सुरु भएको बताए । उनले भने, ‘अब सत्ता कुनै अर्को केन्द्रमा होइन, आफैमा केन्द्रित हुनेछ ।’
विजयले सरकार गठनमा समर्थन गर्ने कांग्रेस, विदुथलाई चिरुथिगल काची, भारतीय युनियन मुस्लिम लिग र वाम दलहरूलाई धन्यवाद दिएका छन् । उनले विशेष रूपमा बालबालिकालाई धन्यवाद दिँदै टीभीकेको जित उनीहरूकै कारण सम्भव भएको थियो, किनकी उनीहरूले आफ्ना परिवारलाई पार्टीको पक्षमा मतदान गर्न राजी गराएका थिए ।

प्रधानमन्त्री मोदीले दिए बधाई
प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार थलापतिलार्ई तमिलनाडुका मुख्यमन्त्रीको रूपमा शपथ लिएकोमा बधाई दिएका छन् । उनले केन्द्र सरकार राज्य सरकारसँग मिलेर जनताको जीवनस्तर सुधार्न काम गरिरहने बताए । टीभीके प्रमुख विजयले आइतबार तमिलनाडुका मुख्यमन्त्रीको रूपमा शपथ लिएका हुन् । राज्यपाल राजेन्द्र विश्वनाथ आर्लेकरले चेन्नईमा आयोजित भव्य समारोहमा उनलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।


