Aamsanchar

केराको उच्च मूल्यले किसान उत्साहित

Author Image
बिहिवार, जेठ ७, २०८३

इनरुवा – सुनसरीको इनरुवा नगरपालिका–९ बबियाका किसान बुधनारायण मेहताले केरा खेती गर्न थालेको दशक भयो । आफूले उत्पादन गरेको केराले उचित मूल्य नपाएको भन्दै उहाँ प्रत्येक वर्ष निराशा व्यक्त गर्दै आउनुभएको थियो भने कतिपय बेला आन्दोलनसमेत गर्नुभएको थियो । यसपालि भने चैत महिनाको अन्त्यदेखि उहाँ खुसी हुनुहुन्छ । इनरुवा र भोक्राहा नरसिंह क्षेत्रमा १० बिघा क्षेत्रफलमा केरा खेती गर्दै आउनुभएका उहाँले यसपटक अहिलेसम्मकै उच्च मूल्य पाएकाले दंग हुनुभएको छ ।

“गत वर्ष मूल्य नै नपाएर कोसाको १–२ रुपियाँमा बेच्नुपर्‍यो । कति त्यत्तिकै खेर गयो, कति गाईभैँसीलाई खुवाउनुपर्‍यो,” मेहताले भन्नुभयो, “अहिले ५–७ रुपियाँ प्रति कोसा मूल्यमा व्यापारी बगानमै आइरहेका छन् ।”

मेहताको बगानबाट दैनिक एक गाडी केरा बिक्री भइरहेको छ । एउटा गाडीमा १५ हजारदेखि २५ हजार कोसा केरा अट्ने र यसबाट लगानीअनुसारको प्रतिफल पाउने देखिएकाले खुसी लागेको उहाँले बताउनुभयो । उहाँले स्थानीय, हाइब्रिड तथा मालभोग र हरियो जातका (जिनाइन) केरा खेती गर्नुभएको छ । उत्पादन पनि राम्रो र मूल्य पनि राम्रो भएकाले फाइदा हुने उहाँको भनाइ छ ।

इनरुवा–९ बबियाकै अर्का किसान श्यामप्रसाद यादवले पनि पाँच बिघामा केरा खेती गर्नुभएको छ । यस वर्ष बालीमा धेरै रोग नलागेको र हावाहुरीले पनि क्षति नगरेको तथा एक महिनायता बजारमा अहिलेसम्मकै उच्च मूल्य पाएकाले सोचेभन्दा बढी फाइदा हुने उहाँले बताउनुभयो ।

“यसपालि केराको कोसा पनि ठुला छन्, मूल्य पनि राम्रो छ, किन्ने व्यापारी खोज्दै बगानमै आइरहेका छन्,” यादवले भन्नुभयो । बबियाकै किसान दिनेश मेहताले १२ वर्षदेखि केरा खेती गर्दै आउनुभएको छ । उहाँले पनि यस वर्ष बगानबाटै ५–७ रुपियाँ प्रतिकोसा मूल्यमा केरा बिक्री गरिरहनुभएको छ ।

मेहताका अनुसार प्रतिकोसा चार रुपियाँसम्म मूल्य पाएमा किसानलाई घाटा नहुने अवस्था हुन्छ । उहाँले गत वर्ष १–२ रुपियाँमै बिक्री गर्न बाध्य भएको उल्लेख गर्दै सरकारले सीमानाकामा कडाइ गरेपछि भारतीय केरा आयात घटेकाले नेपाली किसानले उचित मूल्य पाएको बताउनुभयो । उहाँका अनुसार अहिले उहाँको सातामा दुई गाडी केरा बिक्री भइरहेको छ र काठमाडौँ, पोखरा तथा नारायणगढका व्यापारीलाई बिक्री भइरहेको छ ।

किसानहरूका अनुसार चैत, वैशाख, जेठ, असार र साउन केरा बिक्रीका लागि राम्रो समय हो । तर अघिल्ला वर्षहरूमा यही अवधिमा प्रतिकोसा तीन रुपियाँभन्दा माथि नपुगेकाले किसान निराश हुने गरेका थिए ।

यस वर्षको मूल्य निरन्तर कायम रहेमा प्रतिबिघा तीन लाखदेखि साढे पाँच लाख रुपियाँसम्म नाफा हुन सक्ने किसानहरूको अनुमान छ । हाल किसानले प्रतिदर्जन ६० देखि ८४ रुपियाँमा बिक्री गरिरहेका छन् भने बजारमा १५० देखि २०० रुपियाँसम्म बिक्री भइरहेको छ ।

कृषि ज्ञान केन्द्र सुनसरीका अनुसार जिल्लामा प्रतिहेक्टर २८ देखि ३० मेट्रिक टन केरा उत्पादन हुन्छ । सुनसरीमा ६ सय ७५ हेक्टर क्षेत्रमा केरा खेती हुँदै आएको छ । नेपालमा कुल केरा उत्पादन तीन लाख ८ हजार ३८८ मेट्रिक टन रहेको र यो कुल मागको करिब ६० प्रतिशत रहेको व्यापारी दीपक यादवले जानकारी दिनुभयो ।

Views: 34

प्रतिक्रिया (०)

सम्बन्धित खबर