
धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका-७ गल्छी चोकमा भारतीय नम्बर प्लेटको बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएकी छन्।
आज साँझ काठमाडौंबाट भारततर्फ जाँदै गरेको एआर ०६ बी ५७२८ भारतीय नम्बर प्लेटको बसले बाटो काट्ने क्रममा रहेका पैदल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
दुर्घटनामा गजुरी गाउँपालिका-५ राईगाउँ बस्ने ५२ वर्षीय सोमबहादुर राई र उनकी श्रीमती ५५ वर्षीया माया राई गम्भीर घाइते भएका थिए। दुवै जनालाई उद्धार गरी बैरेनी अस्पताल लगिएकोमा उपचारकै क्रममा सोमबहादुर राईको साँझ ६:२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव बैरेनी अस्पतालमै राखिएको छ।

गम्भीर घाइते माया राईलाई थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं पठाइएको छ। उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ।
दुर्घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी (डीएसपी ) प्रकाश दाहालले जानकारी दिए।


