Aamsanchar

सरकार प्रति झापाका चिया किसान र उद्योगी निरास

Author Image
शनिवार, माघ २१, २०७९

बिर्तामोड ।  झापाका चिया किसानले चिया क्षेत्रलाई मल उपलब्ध गराउन सरकार समक्ष माग गरेका छन् ।  सरकारले मल उपलब्ध नगराउँदा चिया खेती समस्यामा परेको उनीहरूको भनाइ छ ।
चिया किसान तथा उद्योगीले अन्य कृषि फसल जस्तै चिया क्षेत्रलाई पनि रासायनिक मल आवश्यक हुने भएकाले सरकारले चिया क्षेत्रलाई फरक दृष्टिले हेर्न नहुने सुझाएका छन् । शनिबार बिर्तामोडमा संवाद समूह झापाको संयोजनमा भएको छलफल कार्यक्रममा चिया किसान, उद्योगी र सरोकारवालाले चिया क्षेत्रलाई आवश्यक रासायनिक मल (युरिया, डीएपी, पोटास, एमोनिया सल्फेटलगायत) सहज उपलब्धताको लागि तीनै तहको सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनीहरूले चिया क्षेत्रले मल नपाइरहेको समस्याको समाधानको लागि राष्ट्रिय चिया तथा कफी विकास बोर्डमार्फत पहल गर्न, कृषि ज्ञान केन्द्र, कृषि सामग्री कम्पनी, साल्ट ट्रेडिङ लगायतका निकायलाई समन्वयकारी भूमिका निर्वाह गर्न आग्रह समेत गरेका छन् ।

उनीहरूले अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका– २०७७ बमोजिम हरेक स्थानीय तहलाई आफ्नो पालिकाभित्रका चिया क्षेत्रलाई आवश्यक पर्ने मलको परिमाण समेत समावेश गरी प्रदेश र केन्द्र सरकार समक्ष मल माग गर्न आग्रह गरेका छन् । साथै, साना चिया किसानको हकमा चिया सहकारीलाई डिलर दर्ता गरी मल उपलब्ध गराउन तथा चिया कम्पनीको हकमा प्रदेश वा केन्द्र सरकारमार्फत कोटा निर्धारण गरी मल उपलब्ध गराउन उनीहरूको माग छ ।

झापामा १० हजार ५ सय हेक्टर क्षेत्रफलमा चिया खेती गरिन्छ । उक्त चिया खेतीका लागि वार्षिक १५ सय मेट्रिक टन रासायनिक मल आवश्यक हुने राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका प्रमुख इन्द्र अधिकारीले जानकारी दिए । चिया क्षेत्रले २०७६ सालसम्म रासायनिक मल पाइरहेको अवस्था थियो । २०७७ देखि सरकारले चिया क्षेत्रलाई रासायनिक मल उपलब्ध गराउन छोडेको नेपाल चिया उत्पादक संघका महासचिव शिवकुमार गुप्ताले जानकारी दिए ।

उनले मल नपाउँदा चिया खेती जोगाउनै गाह्रो भएको बताए । उनले अन्य खाद्य वाली जस्तै चिया क्षेत्रलाई पनि विभेद नगरी रासायनिक मल उपलब्ध गराउन सरकार समक्ष माग गरेका छन् । चिया उत्पादक संघका सहसचिव विनय कुमार गोयलले मलका लागि पटकपटक सरकारको ध्यानाकर्षण गराउँदा समेत सुनवाई नभएकोमा दुख व्यक्त गरे ।

कार्यक्रममा चिया तथा कफी विकास बोर्ड बिर्तामोडका प्रमुख इन्द्र अधिकारी, कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख सागर विष्ट, साल्ट टे«डिङ कम्पनी बिर्तामोडका प्रमुख प्रेमप्रसाद भट्टराई, कृषि सामग्री कम्पनी बिर्तामोडका निमित्त प्रमुख नारायण टुडु, चिया प्राविधिक अनन्त ढुँगाना, कृषि सामग्रीका वरिष्ठ सहायक नरोज दाहाल, नेपाल चिया उत्पादक संघका महासचिव शिवकुमार गुप्ता, सहसचिव विनयकुमार गोयल, साना किसान चिया उत्पादक सहकारी संस्था हल्दिबारीका लेखा संयोजक ओमनाथ प्रसाईँ, सदस्य कृष्णप्रसाद पोखरेल, व्यवस्थापक सुदिप श्रेष्ठ, चिया किसान यामकान्त निरौलालगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 277

प्रतिक्रिया (०)

सम्बन्धित खबर