Aamsanchar

फिल्म प्रसाद-२ को लगानी विवादमा

Author Image
आइतवार, फागुन १४, २०७९

फिल्म प्रसाद २ का निर्मातामध्येका एक सुवास थापाले फिल्मको निर्माता बनाएर ठगी गरेको भन्दै अर्का निर्माता केशव पाण्डे कानुनी उपचारमा जाने भएका छन्।

फिल्म निर्माण अगाडि नै लगानीकर्ताको रूपमा आफूसँग ६२ लाख ५० हजार रुपैयाँ लिएर ९० प्रतिशत सेयर दिने लिखित सहमति गरे पनि आफ्नो पैसा फिर्ता पनि नगर्ने र जानकारी नै नदिई फिल्म प्रदर्शनको अधिकार लगायतका काम गरेपछि थापा विरुद्ध कानुनी कारबाहीमा जान बाध्य भएको पाण्डेले बताए।

थापाले आफूसँग फिल्मका लागि पैसा लिएको तर पछि मनोमानी ढङ्गले अगाडि बढेको भन्दै पाण्डेले फिल्म प्रसाद २ को आवश्यक कार्य रोक्न माग गर्दै नेपाल चलचित्र निर्माता सङ्घ र चलचित्र विकास बोर्डमा समेत उजुरी दिएका छन्।

उकेराले पाएको निवेदन पुस २८ गते दर्ता भएको देखिन्छ। निवेदनमा प्रसाद २ को स्वीकृति लिएको सुलभ थापा प्रडक्सन प्रालीसँग २०७९ असार ८ गते करार गरेर फिल्म निर्माणका लागि आवश्यक काम सुलभ थापा प्रडक्सनले गर्ने र सो फिल्म निर्माता लाग्ने सबै खर्च आफूले बेहोर्ने गरी सम्झौता भएको उल्लेख छ।

उजुरीमा भविष्यमा फिल्म प्रदर्शन र प्रचारप्रसार लगायतको काम दुवै पक्षले गर्ने गरी सहमति भए पनि फिल्म छायाङ्कन भई अन्तिम चरणमा आएको अवस्थामा प्रालीले आफूखुसी मनोमानी ढङ्गले अगाडि बढेर आफ्नो लगानीलाई जोखिममा पारेको उल्लेख छ।

पाण्डेले फिल्म निर्माणबारे आफूले पटक पटक छलफल गर्ने प्रयास गरेको तर समस्या समाधान नभएपछि प्रहरीदेखि अदालतसम्म जाने तयारीमा रहेको बताए।

‘उहाँहरूले प्रस्ताव गरेपछि फिल्मको घोषणा गरेर छायाङ्कनमा समेत गयौँ। तर सहमति अनुसार प्रालीले काम गर्न नसकेपछि लोकेसनबाट फर्कन बाध्य भयौँ,’ उनले भनेु पछि मलाई जानकारी नै नदिई एकतर्फी रूपमा फिल्म निर्माणको काम भएछ। मेरो लगानी समेत फिर्ता भएन।’

उनले थापाले चेक दिएको तर सो चेक बाउन्स भएको जानकारी दिँदै फिल्ममाथिको आफ्नो हक र लगानी सुरक्षित गर्न कानुनी प्रक्रियामा जाने निर्णय गरेको बताए। यसबारे जानकारी लिन थापासँग सम्पर्क गर्ने प्रयास सफल भएन।  श्रोत : उकेरा

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 226

प्रतिक्रिया (२)

सम्बन्धित खबर