Aamsanchar

कोशी प्रदेशलाई हराउँदै एपिएफ फाइनलमा

Author Image
शनिवार, चैत ११, २०७९

काठमाडौँ : कोशी प्रदेशलाई ७ विकेटले पराजित गर्दै विभागीय टोली एपिएफ राजधानीमा जारी तेस्रो संस्करणको ललितपुर मेयर्स कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा एपिएफले कोशी प्रदेशमाथि जित निकालेसँगै लगातार तेस्रो खेलमा जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो। योसँगै एपिएफ एक खेलअगावै फाइनलमा प्रवेश गरेको हो।

कोशीले दिएको ८८ रनको लक्ष्य एपिएफले १८ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्दै उपाधि नजिक पुगेको हो। एपिएफका लागि ममता चौधरीले अविजित २१ रन बनाइन्। कप्तान सीता राना मगरले १९ रन बनाउँदा इन्दु बर्माले १८ रनको पारी खेलिन्।

यस्तै ओपनर ज्योति पाण्डेले ११ र रोमा थापाले अविजित ११ रनको पारी खेलिन्। कोशी प्रदेशका लागि अलिशा खडिया, कप्तान रुबिना क्षेत्री, निशा साहले समान १/१ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ८७ रन बनायो। कोशीका लागि काजल श्रेष्ठले २९ तथा कप्तान रुविना क्षेत्रीले २४ रन बनाउँदा अप्सरी बेगमले २२ रन बनाइन्।

यस्तै स्मृति कटुवाल ८ रनमा रनआउट भइन्। एपिएफका लागि कप्तान सीता राना मगरले ३ तथा इन्दु बर्माले १ विकेट लिए।

जितसँगै एपिएफ ३ खेलमा ३ जित सहित ६ अंक बनाएर अंक तालिकाको शीर्ष स्थानमा कायमै छ। एपिएफको समूह चरणको एक खेल बाँकी छ। यता कोशी प्रदेश दुई खेलमा एक जित निकालेर २ अंकका साथ अंकतालिकाको पुछारमा छ। कोशीको समूह चरणमा दुई खेल बाँकी रहेको छ।

प्रतियोगिताअन्तर्गत शनिवार सम्पन्न दिनको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई पनि ७ विकेटले पराजित गरेको छ। योसँगै मधेश प्रदेशले जारी प्रतियोगितामा लागातार दोस्रो हार भोगेको छ।

यस्तै सुदूरपश्चिमले भने तेस्रो खेलमा दोस्रो जित निकालेको छ। तेस्रो खेलबाट दोस्रो जित निकाल्ने क्रममा सुदूरले मधेशबाट पाएको ६५ रनको लक्ष्य सुदूरले १० ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो। सुदूरका लागि रीतु कनौजियाले २१ तथा रुबी पोदारले अविजित १४ रनको पारी  खेले।

यसअघि कप्तान विन्दुर रावलले १० रन जोड्दै पवेलियन फर्किंदा सम्झना खड्का ९ तथा कविता कुँवर १ रनमा आउट भएका थिए। मधेशका लागि सरस्वती चौधरी, सन्तोषी चौथरी र अनुराधा चौधरीले समान १/१ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मधेशले १९ ओभरमा सबै विकेट गुमाएर ६४ रन बनाउन सक्यो। मधेशका लागि अलिसा यादव र सरस्वती कुमारीले समान १५/१५ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

मधेशलाई सस्तैमा समेट्ने क्रममा सुदूरपश्चिमका लागि लक्ष्मी साउदले ३ तथा सम्झना खड्का र रीतु कनौजियाले समान २/२ विकेट निकाले।

जितसँगै सुदूरले ३ खेलमा ४ अंक जोडेको छ। सुदूर दोस्रो स्थानमा उक्लिएको छ। मधेश भने तालिकाको पुछारमा अंकविहीन छ।

प्रतियोगितामा अबका खेल सोमवार हुनेछन्। सोमवार पहिलो खेल ललितपुर मेयर्स-११ र मधेश प्रदेश तथा दोस्रो खेल कोशी र सुदूरपश्चिम प्रदेशबीच खेल हुनेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 81

प्रतिक्रिया (०)

सम्बन्धित खबर