Aamsanchar

ॐ नम: शिवाया: जय शम्भु । १३ चैत २०७९, सोमवार । चैत शुक्ल षष्ठी

Author Image
सोमवार, चैत १३, २०७९

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
मानसम्मान, इज्जत र प्रतिष्ठा बढ्ने दिन हो, तर पनि भौतिक सुख र आनन्दको चिन्ताले सताउन सक्छ । हाँके÷ताकेको उपलब्धि प्राप्त हुने, तर महत्त्वाकाङ्क्षा बढिरहने परिस्थिति रहेको छ । आनन्द र प्रसन्नताका साथमा नै नियमित काम सम्पन्न हुनेछन्, आयको नयाँ स्रोत फेला पर्नुका साथै कमाएको धन सञ्चित गर्न सकिने छ । मनले चाहेको व्यक्तिबाट कुनै नौलो कुरा सुन्न पाउँदा अझ हर्षित हुने वा कुनै उपहार प्राप्त गरेर दङ्गपर्ने समय हो ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 
आत्मविश्वास र मनोबल बढ्ने समय हो, तर प्रतियोगी वा प्रतिद्वन्द्वीका कारण केही चुनौतीहरू थपिन सक्छन् । अहिलेको संघर्ष र मिहिनेतले निकट भविष्यमा राम्रो नतिजा प्रदान गर्नेछ । नयाँ अनुभवका साथ कसरी अघि बढ्ने भन्ने चिन्तामा केन्द्रित भइने छ, हिसाबकिताबको लेखाजोखा र व्यवस्थापकीय जिम्मेबारीका लागि समय छुट्याउनु पर्ने हुन्छ । नयाँ ठाउँमा घुम्न जाने वा कुनै नयाँ काम प्रारम्भ गर्ने समय छ, घरैमा बसे पनि भविष्यमा चाहिने वस्तुको जोहो गरिने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 
एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज कार्यशैलीमा परिवर्तन गरी नयाँ कुरो सिक्ने इच्छा जाग्नेछ । बजेटलाई सन्तुलनमा राख्ने प्रयास गर्नुपर्छ, कुनै योजनामा लगानी गर्ने मनस्थितिमा हुनुहुन्छ भने त्यसका सबल र दुर्बल पक्षमा पनि चिन्तन गर्नुहोला, नसोचिकन काम गरेमा षड्यन्त्रको खाडलमा पनि पर्न सकिन्छ । विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा धन लाभ भए पनि आत्मसम्मानमा बाधा पर्न सक्छ । बाध्यात्मक काममा सञ्चित धनको उपयोग हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
सबै कार्य योजनानुसार सम्पन्न हुँदै जानेछन्, आपसी समन्वय र आन्तरिक सुख बढ्ने समय छ, पार्टनरसँग सानोतिनो यात्राको कार्यक्रम बन्नसक्छ । आफन्त वा मित्रको आगमन हुँदा अतिथि सत्कार वा आवाभगतमा केही समय बित्नसक्छ, तर भेटघाटले कुनै विशेष अवसर दिलाउन सक्छ । जोखिम मोलेर गरेको कामबाट फाइदा हुनेछ, बुद्धि र विवेकको प्रयोग गरी विगतमा गुमाएका विषयवस्तुसमेत पुनः प्राप्त गर्न सकिने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
कामको चटारो परेको समय छ, ससाना कुरामा पनि आफै नखटी पार लाग्दैन, आत्मसम्मान झल्कने दिन हो, नेतृत्व र निणर्य फलदायी हुनेछन् । क्यारियर र पेसाप्रतिको सोच सल्बलाउन सक्छ, लगनशीलता र परिश्रमका माध्यमबाट जस्तै समस्या भए पनि गहिराइमा पुग्न सकिने छ । प्रतियोगिता वा प्रतिस्पर्द्धामा सफल भइने दिन हो, कुनै कामलाई टुङ्गोमा पुर्याउन प्रयास गरिने छ, परिश्रमको विकल्प छैन, त्यसैले सर्टकट वा छोटो बाटो छोडेर मिहिनेत गरेर अगाडि बढ्नु ठीक हुन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 
भाग्यले साथ दिन समय हो, कुनै प्रदर्शन वा प्रतिस्पर्द्धामा सरिक हुँदै हुनुहुन्छ भने आज गरेको प्रयासमा सफलता र स्याबासी मिल्ने देखिन्छ । अप्ठ्यारा परिस्थितिलाई पनि सहज बनाउन सकिने तथा चुनौतीका माझमा प्रतिष्ठा कायम राख्न सकिने सुन्दर दिन छ, कार्यपद्धतिमा सुधार गरी अघि बढेमा भाग्यबल बढ्नुका साथै ठूलाबडालाई खुसी तुल्याउन सकिने छ । तारिफयोग्य काम गरेर दङ्गपर्ने दिन हो, तर आज चुनौती र सङ्घर्षका माझमा काम निकालेर इज्जत जोगाउन सकिने समय हो ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 
कसैलाई पनि आँखा चिम्लिएर झट्ट विश्वास गर्नुहुँदैन, कार्यक्षेत्र वा व्यवसायमा पनि केही चुनौतीको सामना गर्नुपर्ने हुन्छ । नयाँ लगानीका निमित्त उपयोगी दिन छैन, त्यस्तै सामुन्ने देखिएका समस्यालाई चाँडो समाधान गर्नुहोला, नत्र व्यापारिक कारोबारमा दूरगामी प्रभाव पर्नसक्छ । अस्वस्थताका बावजुद काममा जुट्नै पर्ने परिस्थिति छ, सुस्वास्थ्य र आरामका लागि समय छुट्याउनु तथा पौष्टिक आहारामा ध्यान दिनु ठीक हुन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
पुराना साथीभाइसँग भेटघाटको कार्यक्रम बन्नसक्छ । निजी वा आन्तरिक सम्बन्धलाई उजागर गरी सार्वजनिक तुल्याउने यो सही समय हो । आज घरपरिवारका भावना र इच्छाहरूको ख्याल राख्नु ठीक हुन्छ । कार्यालयमा नौलो कामको जिम्मा लिएर मज्जाले खट्नुपर्ने समय छ, तर आज घरपरिवार र जीवनसाथीको चाहनालाई मनन गरी समय दिनुपर्ने परिस्थिति सिर्जना हुनेछ । प्रेमभाव प्रकट गर्न अनुकूल समय छ, पार्टनरको इच्छानुसार चल्नुपर्दा कार्यक्षेत्रमा समस्या आउने भएकाले महत्त्वपूणर् काम बेलैमा गरिहाल्नु ठीक हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 
कार्यक्षेत्रमा तन्मयताका साथमा खट्नुपर्ने दिन हो, अझ सेवाग्राहीसित कुनै विवाद भएमा ठूलो रूप लिनसक्छ, प्रतिद्वन्द्वीहरू मौका कुरेर बसेको देखिन्छ । आडम्बर देखाउनु हुँदैन, नत्र सामान्य मानेको विषयलाई प्रमाणित गर्न गाह्रो हुन्छ र बेकारको तर्कबितर्कमा दिन बित्ने परिस्थिति बन्नेछ । अवरुद्ध कार्यलाई पूरा गर्न पाउँदा अपार आनन्दको अनुभूति हुनेछ, तर स्वास्थ्यमा सामान्य प्रभाव पर्ने दिन हो, आवश्यक भए चिकित्सकको परामर्श लिनु राम्रो हुन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 
सानो प्रयत्नले हैसियतमा बृद्धि हुनेछ, क्षमता र बुद्धिको उपयोग गर्दा कारोबारले गति समात्न थाल्नेछ, साथै अड्किएका काम पनि पुनः प्रारम्भ हुनेछन् । मन फुरुङ्ग हुनुका साथै सृजनात्मक क्षमताको प्रस्फुटन हुनेछ, टाढा रहेका आफन्त वा छोराछोरीबाट राम्रो समाचार सुन्न पाइने छ । परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ता आदिको तैयारीमा हुनुहुन्छ भने अझ कस्सिएर प्रयास गर्नुहोला, मिहिनेत अनुसार राम्रो रिजल्ट निकाल्न सकिने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 
हाँके÷ताकेको कुनै काम रोक्नुपर्ने हुन्छ । नयाँ लगानीका लागि उपयुक्त समय होइन, बरु वातावरण र परिस्थितिमा केन्द्रित हुनुपर्ने समय हो । कुनै कुरालाई लिएर दाम्पत्य जीवनमा वैचारिक मतभेद देखा पर्नेछ, जुनसुकै कुरामा धैर्य र सकारात्मक रहनु कल्याणकारी र लाभदायक ठहरिने छ । घुमघाम वा मनोरञ्जनका लागि केही रकमको खाँचो पर्नसक्छ, घोरिएर बस्नुभन्दा अभिभावकसमक्ष आफ्ना कुरा राखी निकास खोज्नु राम्रो हुन्छ । आज ५० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ४, शुभ रङ घिउरङ र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ चं चन्द्रमसे नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
नयाँ प्रविधिको प्रयोगले ज्ञान र क्षमतामा बृद्धि हुनेछ, अझ कलात्मक विषयमा रुचि छ भने वरिष्ठ कर्मचारीलाई समेत प्रभावित तुल्याउन सकिने छ । सामूहिक काम वा सामाजिक क्रियाकलापमा संलग्न हुँदा फुर्सद पाइँदैन र लवमेटलाई छुट्टै समय दिन नपाउनाले वैचारिक मतभेद हुनसक्छ । सामाजिक गतिविधिमा खट्ने दिन हो, धार्मिक वा सांस्कृतिक काममा सहभागी बन्नाले प्रतिष्ठा र पहिचान प्राप्त हुनेछ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ भालचन्द्राय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 490

प्रतिक्रिया (०)

सम्बन्धित खबर