Aamsanchar

सुकीको पार्टी विघटन

Author Image
बुधवार, चैत १५, २०७९

म्यानमारको सैन्य सरकारले प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) लाई विघटन गरिदिएको छ । सैनिक सरकारको आदेशमा चल्ने त्यहाँको निर्वाचन आयोगले तोकिएका नयाँ मापदण्ड अनुसार आयोगमा दर्ता हुन नसकेपछि सुकीको पार्टी एनएलडी खारेज भएको जनाएको छ ।

एनएलडीसहित अन्य ४० वटा दल पनि आयोगको मापदण्ड पूरा गर्न नसक्दा खारेजीमा परेका अलजजिराले जनाएको छ । सैनिक सरकारले गएको जनवरीमा राजनीतिक दलहरुलाई मापदण्ड पूरा गरेर आयोगमा दर्ता हुनका लागि दुई महिनाको समय दिएको थियो । एनएलडीले जेलमा रहेका आफ्ना नेताहरुको रिहाइ नभई सैनिक सरकारले गराउने चुनावमा भाग नलिने अडान राख्दै आएको छ ।

सन् २०२० मा भएको चुनावमा एनएलडीले भारी बहुमत प्राप्त गरेको थियो । तर, सेनाले ब्यापक धाँधली भएको आरोप लगाउँदै निर्वाचित सरकारलाई सत्तारोहण हुनबाट रोक्दै शासन आफ्नो हातमा लिएको थियो । नेतृ सुकीलाई नजरबन्द गरिएको छ । विभिन्न आरोपमा कैद सजाय पनि तोकिएको छ । सेनाले शासनसत्ता लिएपछि म्यानमारमा विरोध भैरहेको छ । सेनाप्रमुख मिन ओङ ह्लाइङले केहिदिन अघि मात्रै देशमा चुनाव हुने र निर्वाचित भएर आउने पक्षलाई सत्ता हस्तान्तरण गर्ने दाबी गर्नुभएको छ । तर चुनाव कहिले हुन्छ निश्चित छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 101

प्रतिक्रिया (०)

सम्बन्धित खबर