Aamsanchar

प्राकृतिक प्रकोपको पिडामा कनकाई नगरवासी, सयौँ बिघा वाली र घरको छानामा पूर्ण क्षति 

Author Image
शनिवार, चैत १८, २०७९

कनकाई । गए राती आएको हावापानी र असिनाको कारण झापाको कनकाई नगरपालिकाका अधिकांश वडाहरूमा ठुलो मात्रामा क्षति पुगेको छ ।
प्राकृतिक प्रकोपका कारण कनकाईको वडा नं. ८ र ९ मा बढी क्षति भएको छ । त्यसैगरी वडा नं. ७ र ६ नम्बर वडामा गरि करिव १ सय ५० बिघा क्षेत्रफलमा लगाइएको मकैबालीमा पूर्ण क्षति पुगेको छ । त्यसैगरी २ सय भन्दा धेरै घर धुरीको टिनको छाना छिद्र हुने गरि असिनाले क्षति पुर्याएको छ । त्यसमा हावाहुरीले ५० भन्दा धेरै घरको छानो  उडाएको र भोलिनै अतिविपन्न लक्षित वर्गको लागि सहयोग स्वरुप तत्कालका लागि त्रिपाल उपलब्ध गराउने र अरु क्षतिको विवरण केन्द्र सरकारमा जानकारी गराई सहयोगको लागि पहल गर्ने स्थलगत निरीक्षणका क्रममा कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले आमसंचारलाई बताए ।

हावापानी र असिनाबाट वडा नम्बर ८ को सितल चोक, मनकामना टोल मिलन टोल, पारिजात टोल, घाग्रा टोल, त्रिवेणी टोल र रमाइलो टोलमा पनि धेरै क्षति भएको छ । कनकाई ९ को किष्टझार क्षेत्र, ७ नम्बर वडाको कालिमुडा, पाथिभरा टोल, लुकुनी खाडी क्षेत्रमा पनि विकासकारी प्रकोपले कृषि क्षेत्र र दर्जनौँ घर, कटेरा र गाई गोठमा क्षती पुर्याएको छ ।

हावापानीका कारण कनकाई नगरका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द भएको छ । विद्युत सुचारु गर्नको लागि नेपाल विद्युत प्राधिकरणले मर्मतको काम थालेको छ । लक्ष्मीपुर घैलाडुब्बा सडक खण्ड अन्तरगत खाडीबस्तीमा दर्जनौँ विद्युत खम्बाहरू सडकमै ढलेको छ । त्यसैगरी घाग्रा टोलमा पनि दर्जनौं विद्युतका खम्बाहरू डढेका कारण विद्युत तारहरू यत्रतत्र छरिएको छ । यो रिर्पोट तयार पर्दा सम्म सो क्षेत्रमा विद्युत, टेलिफोन, इन्टरनेट सेवा अवरुद्ध भएको छ ।  कनकाई ७ कालिनाग मार्गमा रहेको भैरव कृषि फर्मको ३ बिघा क्षेत्रफलमा फसल तयार भएको ३० हजार केप्सीकनको बिरुवामा पूर्ण क्षति भएको छ ।

धेरैजसो विपन्न वर्गको घरमा क्षति पुगेको छ । पुराना जस्तापाताको छानो हरु कामै नदिने गरि प्वाल परेको छ । कतिपय घरको कैँची बटम र बाँसको बलोहरु भाँचिएको छ । हावाले ४ मिटर दूरी सम्म छानाको टिनहरु उडाएको अवस्था छ । कनकाई नगरको मध्य क्षेत्रमा भएको क्षति कुनै सामान्य क्षति होइन, पूर्ण विवरण संकलन भइसकेको छैन, प्रारम्भिक अनुमान गर्दा ८ नं. वडाको दक्षिणी भूभाग, ९ नं. वडा पुरै, ६ नंं वडा आधा, ३ नं. सबै, ७ नं. र ४ नम्बर वडाको ६० प्रतिशत गरि ९० प्रतिशत मकै वालीमा पूर्ण क्षति पुगेको र करेसाबारी र व्यवसायिक तरकारी खेतीमा १० प्रतिशत क्षति भएको प्रारम्भिक तथ्याङ्क रहेको नगर कृषि विकास शाखा अधिकृत यदुकुमार उप्रेतीले बताए ।

असिनाको कारण सितल चोकमा गोठमा रहेको एउटा बाछो मरेको छ भने प्रकोप क्षेत्रमा हजारौं जंगली पन्छीहरू मरेका छन् । वडा नं। ८ को भेटवाल गाउको एक बाँसघारीमा मात्र ८ सय भन्दा धेरै सुगाहरू र सयौँको सङ्ख्यामा ढुकुर, रुपीलगायतका पन्छीहरू मृत अवस्थामा फेला परेको स्थानीय विशाल हस्ताले बताए ।

कनकाई क्षेत्रमा भएको कृषिबालीको क्षति देख्दा जो कोही विरक्त हुने अवस्था रहेको छ । त्यसैगरी घरहरूमा भएको क्षतिका कारण मानवीय संवेदना र कष्टकर अवस्था नाजुक रहेको छ । सो क्षेत्रमा सयौँ परिवार रुझदै घरभित्र बस्न बाध्य बनेका छन् । मानव संरक्षणको लागि केन्द्र, प्रदेश र जिल्ला दैविक प्रकोप समिति र मानवसेवामा रहेको रेडक्रसलगायतका संस्थाहरुको सो प्रकोप क्षेत्रमा ध्यान जान जरुरी छ । कतिपय परिवारको खाने अन्नपात भिजेर नस्ट भएको छ भने लाउने ओडने लक्ताकपडा भिजेका कारण जनजीवन कस्टकर बनेको छ ।

प्रकोप निरिक्षणमा नगर प्रमुख पोखरेल सँगै वडा नं. ६ का वडाध्यक्ष दीर्घबहादुर थापा वडा नं. ७ का वडाध्यक्ष भिष्म सिटौलालगायत वडा सदस्यहरुको सहभागिता रहेको थियो ।

भिडियो समाचार पनि हेर्नुहोस् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
2
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर