Aamsanchar

दाङकाे राप्ती गाउँपालिकामा चौतारो जोगाउन अभियान

Author Image
मङ्गलवार, चैत २८, २०७९

दाङ :  राप्ती गाउँपालिकाले चौतारो जोगाउन अभियान सुरु गरेको छ। माघ महिनादेखि गाउँपालिकाले चौतारो संरक्षण अभियान सुरु गरेको हो।

गाउँपालिकाले प्रत्येक महिनामा एउटा चौतारो संरक्षण वा मर्मत गर्ने योजना बनाएको छ। गाउँपालिकाले अहिले वडा नं. ५ मा पर्ने पहाडी क्षेत्र करङेकोट, छत्रकोट, थक्रिकोट लगायत बस्तीमा चौतारी संरक्षण गर्ने काम सुरु गरेको  गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए।

पछिल्लो समयमा पाटी पौवा र चौतारो हराउन थालेपछि संरक्षणको काममा स्थानीयसँगै जनप्रतिनिधि पनि खट्ने गरेका छन्। चौतारी संरक्षण गर्दा अर्थात् पुननिर्माण सुरु गर्दा कंक्रिट प्रयोग नगरी सोही ठाउँको माटो र ढुंगा प्रयोग गर्ने र स्थानीयको श्रमदानबाट काम गर्ने गरिएको छ। बटुवालाई पनि विश्राम गर्न सहज होस् र पुर्खाका सम्पदा पनि संरक्षण होस् भन्ने उद्देश्यले चौतारो संरक्षण अभियानको थालनी गरेको पनि उनले बताए।

विष्टका अनुसार गाउँपालिकाको तराई क्षेत्रमा भन्दा पहाडी क्षेत्रमा वरपिपल छन्। अहिले  वडा नं. ५ मा भएका चौतारो संरक्षण गर्न लागेको उनले बताए। ‘लोप हुन लागेका  चौतारोको संरक्षणमा हामी लागेका छौँ। दुईवटा चौतारी निर्माणको काम सकिएको छ। पालैपालो सबै वडामा  चौतारी बनाउने योजना रहेको छ’, उनले भने। ’उनका अनुसार अहिले दुईवटा चौतारी निर्माणको काम सकिएको छ।

गाउँपालिकाले चौतारी संरक्षण र मर्मतको योजना ल्याएसँगै स्थानीयले पनि उत्साहित रूपमा चौतारो संरक्षणमा जुटेका छन्। चौतारी संरक्षणका लागि पालिका स्थानीयवासीसँगै गाउँपालिका अध्यक्षदेखि वडाध्यक्ष, वडासदस्य लगायतका जनप्रतिनिधि र अन्य कर्मचारीहरूले ढुंगा माटो बोक्न गर्ने गरेका छन्। यसरी जनप्रतिनिधिले आफूहरूलाई काममा सघाउँदा आफूहरूलाई चौतारो संरक्षण गर्न उत्साह थपिएको स्थानीय सन्तराम सारू मगरले बताए।

यसरी गाउँपालिकाले चौतारी संरक्षण र मर्मतको काम थालेपछि मेलापात गर्दा अथवा बजार आउँदा जाँदा आफूहरूलाई विश्राम गर्न सहज हुने उनको भनाइ छ।

धार्मिक दृष्टिले पनि चौतारोको मर्मतसम्भारको महत्त्व रहेको संस्कृतिविद् डा.गोविन्द आचार्यले बताए। ‘पहिले पहिले बाटोघाटो बनाउने, चौतारी चिन्ने, पोखरी खन्ने जस्ता कार्यलाई पुण्य कमाउने कामका रूपमा पनि लिइन्थ्यो’, उनले भने, थाकेका बटुवाका लागि  विश्राम गर्ने चौतारो बनाइदिनु संरक्षण गर्नु पुण्यको काम हो।’

चौतारोमा हुने वरपीपलले वातावरण संरक्षणमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 110

प्रतिक्रिया (०)