Aamsanchar

पूर्व–पश्चिम रेलमार्गको ‘एलाइनमेन्ट’ हेरफेर

Author Image
मङ्गलवार, चैत २८, २०७९

बारा – निमार्णधीन पूर्व–पश्चिम विद्युतीय रेलमार्गको रौतहटको चोचादेखि  निजगढसम्मको ३६ किलोमिटर बाटो (एलाइनमेन्ट) तेस्रो पटक परिवर्तन गरिएको छ ।रेल विभागले पूर्व–पश्चिम रेलमार्ग र वीरगन्ज–काठमाडौँ रेलमार्गको स्टेसन बाराको निजगढ राख्ने भएपछि यसअघि गरिएको सर्वेलाई खारेज गरेर पुनः नयाँ क्षेत्रबाट सर्वे सुरु गरेको हो । तेस्रो पटक गरिएको सर्वेमा रौतहटको चोचादेखि निजगढसम्मको करिब ३६ किलोमिटर रेलको एलाइनमेन्ट परिवर्तन गरिएको छ ।पछिल्लो सर्वेमा चोचादेखि महेन्द्र राजमार्गको निजगढ सिंगोल जाने बाटो हुँदै ८ किलोमिटर घना वन क्षेत्र, सुके पोखरी दक्षिण आसपास, चुरेको तल्लो तटीय क्षेत्र, बकैया खोला हुँदै निजगढ नगरपालिका वडा नं १० निस्कने एलाइनमेन्टमा उल्लेख छ ।निजगढमा पूर्व–पश्चिम र उत्तर–दक्षिण दुवै रेलमार्गको कर्सिङ हुने भएकोले वीरगन्ज–काठमाडौँ रेलमार्गको एलाईमेन्ट फाइनल भएर स्टेसन फाइनल भइसकेपछि दुवै रेलमार्गको निजगढमा छुट्टाछुट्टै स्टेसन राख्दा यात्रु र सामान ढुवानीमा समस्या हुने भएकाले एकै ठाउँमा स्टेसन राख्नका लागि एलाईमेन्ट परिवर्तन गरिएको रेल विभागले जनाएको छ । यसअघि नदीको किनार हुँदै एलाईमेन्ट तयार गरिएको थियो ।

निजगढ नगरपालिकाले स्थानीय तथा सरोकारवाला निकायहरूसँग राखेको छलफल रेल विभाग इन्जिनियर सुमोद पोखरेलले रेलमार्गको एलाइनमेन्ट तेस्रो पटक हेरफेर गरिएको जानकारी दिएका हुन् । पूर्व पश्चिम तथा वीरगन्ज–काठमाडौँ जोड्ने गरी निमार्णको क्रममा रहेको रेलमार्गको क्रसिङ पोईन्ट बाराको निजगढमा रहने उनले जनाएका छन् ।

करिब ९४५ किलोमिटर लम्बाई रहेको पूर्व– पश्चिम र १३६ किलोमिटर दुरीमा रहेको वीरगन्ज काठमाडौँ रेलमार्गको स्टेसन भने निजगढमा रहने छ । फरक फरक स्टेसन बनाउँदा यात्रुलाई समस्या पर्ने भएकोले दुवै स्टेसनको जक्सन एकै ठाउँमा पर्नेगरी एलाईमेन्ट निमार्ण गरिएको विभागका प्रमुख  इन्जिनियर पोखरेलले बताएका छन् । पूर्व – पश्चिम रेलमार्गको तेस्रो पटक तयार गरिएको एलाईनमेन्टमा २५ देखि ३० किलोमिटर दुरी समेत घट्ने रेल विभागले जनाएको छ ।

‘अहिले मेची–महाकाली रेलमार्गको सबै सर्वे भएर डिपिआर बुझाइसकेको छ, त्यसमध्ये रौतहटको चोचा जङ्गलबाट नवलपरासीको अमरापुरीसम्म सर्वे हुने क्रममा छ, त्यसमध्ये सय किलोमिटर सर्वे सकिएर रिपोट तयार हुने क्रममा छ’रेल विभागका इन्जिनियर पोखरेलले भने ‘चोचाबाट निजगढसम्मको ३६ किलोमिटर मात्रै सर्वे गर्न बाँकी छ, बर्दिबासदेखि रौतहटसम्म पोलहरू काम भइरहेको छ, करिब ७० किलोमिटरको ९० प्रतिशत काम यो आर्थिक वर्षभित्रमा सकिन्छ ।’ पूर्व–पश्चिम रेलमार्ग र वीरगन्ज–काठमाडौँ रेलमार्गको सर्वेक्षण र डिपिआरको काम नेपाल–भारत सहयोग अन्तर्गत भारतले गरिरहेको रेल विभागले जनाएको छ ।

‘नेपाल भारत सहयोग अन्तर्गत छुट्टै ५ वटा नाकाहरूको निमार्णको काम भारतले गरिरहेको छ, जयनगरबाट बर्दिबास आउने, पटनाबाट विराटनगर आउने, बाँकी ३ वटाको सर्वे डिजाइन तयार भएको  छ, अर्को काठमाडौँ– वीरगन्जको डिपिआर  हस्तान्तरणको चरणमा छ’ इन्जिनियर पोखरेलले भने । डिपिआर तयार नभएसम्म लागत सहभागिताको विषयमा भारत सरकारको कति प्रतिशत र नेपाल सरकारको कति भन्ने टुंगो भई नसकेको रेल विभागले जनाएको छ । अहिले ईआईए बाहेक सम्पूर्ण काम भारतको अनुदान सहयोगमा भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर