Aamsanchar

रास्वपाले सरकारमा जाने नजानेबारे आज निर्णय गर्ने

Author Image
शुक्रवार, वैशाख २२, २०८०

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्दै छ।  आज विहान ११ बजे बस्ने बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिनेकी नलिने बारे निर्णय हुने पार्टी उपसभापति डोलप्रसाद अर्यालले  जानकारी दिए। उनले त्यसबाहेक पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल हुने बताए।

गत सोमबार बसेको बैठकमै  निर्णय गर्ने भनिए पनि रास्वपामा सरकारमा जाने र नजाने दुई धार देखिएकोले उक्त बैठक चार दिन पछि धकेलिएको थियो।

रास्वपाका सभापति रवि लामिछाने पहिलेकै मन्त्रालय लिएर सरकारमा जाने तयारीमा रहँदा पार्टीभित्र प्रतिपक्षमा बस्नुपर्ने बहुमत सदस्यको धारणा रहेको एक केन्द्रीय सदस्य बताउँछन्। ​  सभापति रवि लामिछाने उपप्रधानसहित गृह लिएर सरकारमा जान सत्तारुढ दलका शीर्ष नेतासँग संवादमै रहेका छन्। उनले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् भने कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर आफूहरुले पहिलेकै मन्त्रालय पाउनुपर्ने अडानमा छन्।

प्रधानमन्त्री प्रचण्ड पनि रास्वपालाई सरकारमा ल्याउने प्रयासमा छन्। यस अघि रास्वपाले उपप्रधानसहित गृह, शिक्षा विज्ञान तथा प्रविधि र श्रम रोजगार तथा सामाजिक विकास मन्त्रालय पाएको थियो भने स्वास्थ्यमा राज्यमन्त्री उसको भागमा परेको थियो।  तर यी मन्त्रालय रास्वपाले पाउने अवस्था छैन्।

नागरिकता विवादमा सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरिदिए पछि रास्वपा सरकारबाट बाहिरिएको थियो। गत वैशाख १० को उपचुनामामा रास्वपाले रविको एक सिट र तनहुँ  १ मा थप एक सिट थपेर संसदमा  आफ्ना सांसदको संख्या २१ बनाएको छ।

प्रतिपक्षमा बस्नुपर्ने अवस्था आए प्रतिपक्षीहरुको नयाँ मोर्चा बनाएर नयाँ सरकारको पहल गर्ने दाउ पनि रास्वपाको छ।

Views: 101

प्रतिक्रिया (०)