Aamsanchar

बेलायती राजा चार्ल्स तृतीयद्वारा राजमुकुट ग्रहण

Author Image
शनिवार, वैशाख २३, २०८०

लण्डन : बेलायती राजा चार्ल्स तृतीयले वेस्टमिन्स्टर एबीमा आयोजित विशेष समारोहबीच राजमुकुट ग्रहण गरेका छन्। उनलाई क्यान्टरक्युरी जस्टिन वेलबाईका आर्कशपले सेन्ट एड्वार्डज क्राउन शनिबार बेलायती राजा चार्ल्सको शिरमा राज्याभिषेक समारोहबीच पहिराएका हुन्।

राजा चार्ल्स तृतीय यो राजमुकुट पहिरिने सातौँ शासक हुन्। यसअघि चार्ल्स द्वितीय, जेम्स द्वितीय, विलियम तृतीय, जर्ज पञ्चम, जर्ज छैटौँ अनि एलिजाबेथ द्वितीयाले यो मुकुट पहिरिएका थिए। उक्त राजमुकुट पछिल्लो पटक सन् १९५३ मा एलिजाबेथ द्वितीयाले उनको राज्याभिषेकमा पहिरिएकी थिइन्।

सोही समारोहमा आर्कविशपले रानी क्यामिलालाई ‘क्वीन मेरीज’ नामक ताज पहिराए। उक्त मुकुट पहिले जर्ज पञ्चमको राज्याभिषेकका वेला रानी मेरीका निम्ति बनाइएको थियो। वेस्टमिन्स्टर एबीमा विम्बहरूले भरिएको र सङ्गीतमय प्रस्तुतिमाझ राज्याभिषेकको विस्तृत समारोहमा त्यसअघि चार्ल्स तृतीयले राजाका दायित्व पूरा गर्ने शपथ लिएका थिए।

समारोहमा बाइबलको अंश वाचन गरिएको थियो। सरकार प्रमुखको रूपमा बाइबलका श्लोकहरू बेलायती प्रधानमन्त्री ऋषि सुनकले वाचन गरेका थिए। सुनक हिन्दू हुन्।

रानी क्यामिलाका साथ राजा चार्ल्स बकिङ्घम दरबारबाट उक्त समारोहका लागि निस्कँदा मध्य लण्डनका सडकमा मानिसको भीडले स्वागत गरेको थियो। सवारीका समय झण्डै १२ हजार प्रहरी अधिकारीलाई तैनाथ गरिएको थियो। राज्याभिषेकको परेड हेर्न मानिसहरू सडकमा कुरेर बसेका थिए। वेस्टमिन्स्टर एबीमा करिब २ घण्टा लामो राज्याभिषेक समारोहपछि उनीहरू पहिले आएकै मार्गबाट बकिङ्घम दरबारतर्फ गएका छन्।

बाइडेनद्वारा बधाई

अमेरिकी राष्ट्रपति जो बाइडेनले राजा चार्ल्स तृतीय र महारानी क्यामिलालाई राज्याभिषेकका लागि बधाई दिएका छन्। उनले बधाई सन्देशमा ‘अमेरिका र बेलायतबीचको स्थायी मित्रता’ को स्मरण गर्दै उनीहरूप्रति सद्भाव व्यक्त गरे। लण्डनमा सहभागी नभएका अमेरिकी राष्ट्रपति बाइडेनले दुई देशबीचको सम्बन्धलाई ‘दुवै देशका जनताका लागि शक्तिको स्रोत’ भनेका छन्।

राज्याभिषेकमा अमेरिकाको प्रतिनिधित्व प्रथम महिला जिल बाइडेनले गरेकी छन्। अमेरिकी राष्ट्रपतिले अमेरिकी प्रथम महिला वाइडेन त्यहाँ उपस्थित भएको र यसमा गर्व लागेको बताएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 92

प्रतिक्रिया (०)

सम्बन्धित खबर