Aamsanchar

लोमान्थाङमा मनाइयाे तिजी पर्व

Author Image
शुक्रवार, जेठ ५, २०८०

म्याग्दी : उपल्लो मुस्ताङको लोमान्थाङमा बौद्ध धर्मावलम्बीको तिजी पर्व सम्पन्न भएको छ।

पन्ध्रौं शताब्दीदेखि उपल्लो मुस्ताङका लोवा, विष्ट, गुरुङ लगायतका जातिले तिजी पर्व मनाउँदै आएका छन्। उपल्लो मुस्ताङको घमी, चराङ, सुरखाङ, लोमान्थाङ, छोसेर र छोन्हुपका स्थानिय साँस्कृतिक वेशभूषामा एक ठाउँमा भेला भई पुजापाठ र नाचगान गर्दै यो पर्व मनाउँन्।

स्थानीय वेशभूषा, साँस्कृतिक झाँकी, लामा नाच र मुकुट नाच, यस पर्वको मुख्य आकर्षण हुन्। ऐतिहासिक तिजी पर्व अवलोकन तथा सांस्कृतिक नृत्यमा रमाउन स्वदेशी तथा विदेशी पर्यटक लोमान्थाङ पुगेका थिए।

तिजी पर्व लोमान्थाङको प्रमुख पर्व हो। मंगलबार सुरु भई तीन दिनसम्म चलेको यो पर्वको पहिलो दिन मुस्ताङी राजाको लोमान्थाङ दरबार अगाडिको प्रांगणमा लोमान्थाङ स्थित छोदे गुम्बाका लामा तथा भिक्षुले देवीदेवताको पूजापाठ र धार्मिक नृत्य प्रस्तुत गरेका थिए।  विभिन्न देवीदेवता र राक्षसको मुकुट पहिरिएर लामाले गर्ने यो नृत्य यस क्षेत्रकै सबैभन्दा पुरानो नृत्य भएको लोमान्थाङकी शिक्षिका सरला नेपालीले जानकारी दिइन्।

उनका अनुसार यो धार्मिक नृत्य हो।  यो नृत्य अवलोकन गर्नाले मोक्ष प्राप्ति हुने विश्वास रहेको उनले बताइन्। तिजी पर्वको पहिलो दिन लोमान्थाङ दरबार परिसरमा बौद्ध धर्मका विभिन्न देवीदेवता र रिम्पोछेको विशाल थान्का प्रर्दशन गरिएको थियो। यो थान्का तिजी पर्वको दिनमा मात्र सार्वजनिक गर्ने चलन रहेको लोमान्थाङका आम्ची घ्याचो बिष्टले जानकारी दिए।  पर्वको दोस्रो तथा अन्तिम दिनमा विभिन्न किसिमका साँस्कृतिक नृत्य प्रर्दशन गरिएको थियो।

ऐतिहासिक तथा धार्मिक तिजी पर्व दोर्जी सुनुको पुनर्जन्म अर्थात् बज्रकिलाको जीवक कथासँग सम्बन्धित छ। सुनुले पुनर्जन्म प्राप्त गरी राक्षसको भय र हिंसा अन्त्य गरेको खुसीयालीमा शान्तिको प्रतीकको रूपमा तिजी पर्व मनाउने चलन रहेको विष्टले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 112

प्रतिक्रिया (०)