Aamsanchar

रास्वपाद्वारा ७४ जिल्लामा संगठन विस्तार, सदस्य बनाउने कस्तो छ प्रक्रिया ?

Author Image
मङ्गलवार, जेठ ९, २०८०

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले संगठन विस्तार गरी ७४ जिल्लामै पुर्‍याएको छ । डोल्पा, हुम्ला र पश्चिम रुकुम गरी तीन जिल्लामा संगठन विस्तार हुन बाँकी रहेको रास्वपाले जनाएको छ ।

पार्टी संरचनालाई छिटो–छरितो बनाउने उद्देश्यले सानो आकारको समिति बनाउने गरिएको रास्वपाको दाबी छ । तीन तहको सरकार संरचनासँग मिल्ने गरी पालिका, प्रदेश र केन्द्र गरी मूल रूपमा तीनवटा पार्टी संरचना हुने रास्वपाले जनाएको छ ।पालिका संरचना अन्तर्गत वडा समिति र प्रदेश अन्तर्गत जिल्ला एवं संघको निर्वाचन क्षेत्र समिति बनाउने गरिएको छ । पार्टी संरचनामा आधार तह वडा समिति रहेको छ भने केन्द्रीय समिति सबैभन्दा माथिल्लो संरचना छ ।वडा र पालिकामा ११/११, संघीय निर्वाचन क्षेत्रमा ५, जिल्लामा २, प्रदेशमा ५०, केन्द्रमा १२१ जना सदस्य रहेको समिति हुने व्यवस्था छ । केन्द्रीय सदस्यमा हाल ३९ जना छन् । संघीय निर्वाचन क्षेत्र अनुसारको समिति बन्ने क्रममा छ । जिल्लामा संयोजक र सहसंयोजक मात्रै रहेको पार्टी संरचना बनाएको छ ।‘प्रदेश समितिमा जिल्ला समितिको संयोजक र सहसंयोजक सदस्य हुने व्यवस्था छ’ सहमहामन्त्री तथा संगठन विभाग प्रमुख कवीन्द्र बुर्लाकोटी भन्छन् ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र समितिका लागि पाँच जनाको कार्यसमिति बनाउन हालसालै आवेदन आह्वान गरिएको छ । जेठको मध्यसम्म आवदेनको समय राखिएको छ । जेठ १६ देखि २० गतेसम्म प्रतिनिधिसभा क्षेत्रको समिति बनाउन आवेदकहरूको चुनाव हुँदैछ । प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रमा बन्ने समितिका लागि हालसम्म ८०० हाराहारी आवेदन परेका छन् । उक्त समितिमा प्रदेश सभाबाट २/२ जना अनिवार्य र थप १ गरी पाँच जना रहनेछन् ।

सबै तहका संरचनामा युवा ५१ र महिला ३३ प्रतिशत अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ । संगठनको संरचना बनाउँदा सकेसम्म सर्वसम्मतको विधि अपनाइएको छ । ‘आकांक्षीहरू बीचमा सर्वसम्मत हुन सकेन भने निर्वाचनबाट नेतृत्व चयन गर्छौं’, बुर्लाकोटीले भने ।

पार्टी संरचना अनुसार कार्यालय स्थापना गर्ने पुराना दलहरूको प्रचलन छ । मूलतः कांग्रेस र एमालेका पार्टी कार्यालय भवन बढी देखिन्छन् । पुराना दलको प्रचलनलाई अनुसरण नगर्ने रास्वपाले जनाएको छ । ७४ जिल्लामा पार्टी संरचना बने पनि कार्यालय भने राखिएको छैन । ‘कार्यालय खोल्न हामीले जोड दिएका छैनौं । अरू अरू दलको कार्यालय भए पनि खुलेको खासै देखिन्न’ बुर्लाकोटी भन्छन्, ‘कार्यालय खोल्नैपर्ने जस्तो लागेको छैन ।’ सात प्रदेशमा भने कार्यालय खोलिएको बुर्लाकोटीले जानकारी दिए ।

‘मिसन–२०८४’ लाई ध्यानमा राखेर सदस्यता विस्तार, संगठन निर्माण र प्रशिक्षणलाई रास्वपाले महत्व दिएको उक्त दलका नेताहरू बताउँछन् ।

सदस्य बनाउने कस्तो छ प्रक्रिया ?

सदस्यता वितरणलाई अन्य दलभन्दा रास्वपाले पृथक् विधि अवलम्बन गरेको छ । कुनै व्यक्तिलाई रास्वपाको सदस्य बन्न मन लागे अनलाइन प्रणालीलाई अपनाउनु अनिवार्य छ । पार्टीको साइट तथा मोबाइल एपमा व्यक्तिले आफ्नो विवरण भरेपछि सदस्य बन्न सकिन्छ । स्क्यान सुविधा सहितको सदस्यता अनलाइनबाट लिन सकिने व्यवस्था गरिएको छ । समाजमा प्रतिष्ठित व्यक्ति वा कुनै दलको उपल्लो तहको व्यक्ति भित्रिए पनि प्रवेश गर्ने विधि अनलाइनबाट सदस्य हुनैपर्ने सहमहामन्त्री बुर्लाकोटी दाबी गर्छन् ।

कुनै निरक्षर व्यक्ति रास्वपाको सदस्य बन्न चाहेको अवस्थामा भने प्रविधिको प्रयोग गर्न सक्ने व्यक्तिको सहायता लिनुपर्ने हुन्छ । ‘निरक्षर व्यक्तिका लागि पार्टी सदस्यले सहयोग गर्छन् । अरू कोही परिवारको सदस्यबाट सहयोग गरेर सदस्यता लिन सक्नुहुन्छ’, बुर्लाकोटी भन्छन् । एक वर्ष सदस्यता लिएपछि त्यसको अवधि पाँच वर्षसम्म हुनेछ । सदस्यता शुल्क एक हजार तोकिएको छ । रास्वपाका अनुसार औसतमा दैनिक ५०० जनाले सदस्यता लिइरहेका छन् । सदस्यताको संख्या डेढ लाख माथि पुगेको बुर्लाकोटीले दाबी गरे । सदस्यता लिनेहरूमा २५ देखि ४० वर्ष उमेर समूहका बढी रहेको रास्वपाले जनाएको छ ।

सुशासनको प्रमुख मुद्दा बनाएको रास्वपाका लागि विवादित व्यक्ति सदस्य हुने जोखिम भने उत्तिकै छ । अनलाइनबाट जो–कोही सदस्य हुने व्यवस्था छ । को असल र खराब भनी विवरण नदेखिने हुँदा विवादित व्यक्ति पनि सदस्य हुन सक्छन् । त्यसप्रति सचेत रहेर खराब व्यक्ति पार्टीमा प्रवेश कार्य रोकिने संगठन विभाग प्रमुख बुर्लाकोटी दाबी गर्छन् । ‘कोही खराब वा विवादित व्यक्ति हो भने उजुरी आउँछ । सदस्यता बदर गरिहाल्छौं’ बुर्लाकोटी भन्छन्, ‘रास्वपाको नाम बेचेर गलत गर्न खोज्नेलाई कारबाही गरिसकेका पनि छौं । हाम्रो मिसन इमानदार सदस्यहरू जम्मा गर्ने हो ।

मधेश, कर्णाली र सुदूरपश्चिममा अन्य प्रदेशको तुलनामा कम सदस्य रहेको रास्वपाले जनाएको छ । सबैभन्दा बढी सदस्य बागमतीमा छन् भने सबैभन्दा कम कर्णालीमा । पार्टी संगठनलाई विस्तार गर्ने उद्देश्यले सातै प्रदेशमा सभापति रवि लामिछाने आफैं पुगेर कार्यक्रम गर्ने तयारी गरिएको सहमहामन्त्री बुर्लाकोटीले जानकारी दिए ।

संगठन विस्तारलाई पहिलो प्राथमिकतामा राखेको रास्वपाले नेताहरूलाई देशभर खटाउने तयारी गरेको छ । संसदीय भूमिकामा नभएका कतिपय नेताहरू संगठन निर्माणका लागि जिल्ला दौडाहामा छन् । जेठ ६ मा सभापति रवि लामिछाने काभ्रेको पाँचखाल र मण्डन देउपुरको नगर विस्तार भेलामा सहभागी भए । महामन्त्री मुकुल ढकाल कोशीका जिल्लामा संगठनकै काममा लागिरहेका छन् । सहमहामन्त्री बुर्लाकोटी मधेशका जिल्लामा खटिएर काठमाडौं फर्केका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 48

प्रतिक्रिया (०)

सम्बन्धित खबर