Aamsanchar

औँठी नलगाउने मान्छेलाई जिउभरि सुनैसुनले ढाकिएको फोटो सामाजिक सञ्जालमा ट्रोल बनाईयाे : ओली

Author Image
बुधवार, जेठ १७, २०८०

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुनैसुनले ढाकिएको देखिने गरी आफ्नो फोटो सामाजिक सञ्जालमा ‘ट्रोल’ गरिएको गुनासो गर्नुभएको छ । औँठी लगाउने रुचिसमेत नभएको मान्छेलाई जिउभरि सुनैसुनले ढाकिएको फोटो सामाजिक सञ्जालमा ट्रोल गरेर झुटको खेती गरेको भन्दै उहाँले आपत्तिसमेत जनाउनुभयो ।

बुधवार पार्टी केन्द्रिय कार्यालयमा पार्टी प्रवेश गरेका कलाकारहरूलाई स्वागत गर्दै अध्यक्ष ओलीले आफूले आमा बित्दा र एक पटक साथीले दिएको औँठी केही समय लगाएको तर त्यसबाहेक आफूले सुनको औँठी नलगाएको पनि बताउनुभयो । उहाँले त्यो सत्यलाई बङ्ग्याएर आफ्नो सुनैसुनले ढाकेको आफ्नो फोटो सामाजिक सञ्जालमा ट्रोल गरिनु आपत्तिजनक रहेको बताउनुभयो । आफूसँग भएको ज्ञान, कला र क्षमताको दुरुपयोग गरेर यस्तो खालको गतिविधि गरिनु देशका लागि दुःखको कुरा भएको उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘केपी ओलीको फोटोमा हातभरि सुनैसुनका, यता पनि सुनैसुनका बोकी नसक्नु । त्यति सुन म बोक्न पनि सक्दिनँ होला । मैले जिन्दगीमा औैँठी लगाएको छैन । म सानो हुँदा मेरो आमा बित्नुभयाे, आमाले लगाउने गर्नुभएको औँठी तैँले लगा भनेर सानो छँदै एक पल्ट लगाइदिएका थिए । त्याे पनि तीन/चार दिन लगाएँ । त्यसपछि फेरि एक दिन एउटा साथीलाई के झोक चलेछ, एउटा औँठी ल्याएर मलाई दिए । त्याे औँठी दिनभरि लगाए अनि बेलुका फुकालेर राखेँ । त्यसबाहेक मैले औँठी पनि लगाएको छैन, लगाउदिनँ पनि । जसले औँठी पनि लगाउँदैन उसैलाई बोक्न नसक्ने गरी सुन लगाइदिएको छ । यति साह्रो झुट पनि गर्न सक्दा रहेछन् । सत्य पो उजागर गर्ने त ।’

उहाँले इमानमा अड्न नखोज्ने अवस्थामा नेपाली समाज पुगेको उल्लेख गर्दै त्यसबाट जोगाउनका लागि चेतनाको बिगुल फुक्न पनि कलाकारहरूलाई आह्वान गर्नुभयो । अध्यक्ष ओलीले पार्टीमा प्रवेश गरेका कलाकारहरूलाई राष्ट्र निर्माणको अभियानमा क्रियाशील गराउने पनि बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर