Aamsanchar

तातो हावासहित ‘लू’ चल्न थाल्यो मध्य तराईमा, तत्काल पानी नपर्ने

Author Image
शनिवार, जेठ २०, २०८०

काठमाण्डाै – मध्य तराईका विभिन्न ठाउँमा तातो हावासहित ‘लू’ चल्न थालेको छ । गर्मी बढेसँगै तापक्रम बढेर ४० डिग्रीभन्दा माथि पुग्ने र तातो हावा चल्न थालेपछि यसलाई ‘लू’ भनिन्छ ।

अहिले मधेस प्रदेश र लुम्बिनी प्रदेशमा तापक्रम बढ्दो क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नवलपरासीको दुम्कौलीमा तापक्रम ४३ डिग्री सेल्सियस पुगेको छ । भैरहवा, सिमरा, जनकपुर र गौरमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि छ । भैरहवा र सिमरामा ४० दशमलव ५ तथा जनकपुरमा ४० दशमलव ४ डिग्री सेल्सियस मापन भएको छ । नेपालगञ्जमा उच्चतम तापक्रम ३८ दशमलव ८ र विरेन्द्रनगरमा ३६ दशमलव ८ रहेको छ ।

तापक्रम उच्च भएका तराईका क्षेत्रमा अझै केही दिन पानी पर्ने सम्भावना छैन । उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्दो रहेकोले सचेत रहन महाशाखाले अनुरोध गरेको छ । तातो हावा तथा ‘लू’ का कारण थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुने गर्छ ।

‘लू’ तथा गर्मीको समस्याबाट बच्न गर्मीको समयमा सकेसम्म बाहिर ननिस्कन, हल्का लुगा लगाउन, बाहिर निस्कनै परे टाउको छोप्ने, टोपी लगाउन, पटक–पटक पानी तथा जुस, सर्वतलगायतका झोलपदार्थ प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भएमा तत्कालै स्वाथ्यकर्मीसँग सम्पर्क गर्न डाक्टरको सुझाव छ । ‘लू’ लाग्नुको प्रमुख कारण शरीरमा नुन र पानीको कमी हुनु हो ।

त्यस्तै काठमाण्डौमा तापक्रम उच्चतम ३२ डिग्री सेल्सियस रहेको छ । काठमाण्डौमा पनि अझै केही दिन पानी पर्ने सम्भावना नरहेको मौसमविद् सञ्जिव अधिकारीले बताउनुभयो । अहिले पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रही बाँकी भागमा सफा रहेको छ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी थोरै ठाउँहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 292

प्रतिक्रिया (०)

सम्बन्धित खबर