Aamsanchar

विप्लव माओवादी केन्द्रमा फर्किने संकेत

Author Image
मङ्गलवार, जेठ २३, २०८०

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महरा नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’सँगको नियमित संवादमा छन् । विद्यालयमा महरा पढाउँदा र विप्लव पढ्दा मात्रै होइन, राजनीतिमा समेत दुबै गुरुचेला हुन् । पार्टी विभाजन भएको ११ वर्षपछि महरा र विप्लव एउटै पार्टीमा हुनेगरी छलफल जारी राखेका छन् ।

पार्टीबाट वार्ता टोली संयोजक भएका महराले माओवादी र गैरमाओवादी पृष्ठभूमिका नेताहरुसँग संवाद जारी राखेका छन् । जसमा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपा, प्रभु साह नेतृत्वको आमजनता पार्टीलगायत शक्तिसँग संवाद गरेका थिए ।

पछिल्लो समय एकीकृत समाजवादी र जसपासँग तत्काल समाजवादी मोर्चा वा सहकार्य हुने स्थिति नभएपछि माओवादी पृष्ठभूमिका नेताहरुसँग छलफल जारी राखेका छन् । महराले नेसपा, नेकपा र आमजनता पार्टीलाई एकता गर्न छलफल गरिरहेका छन् । त्यसमध्ये उनले विप्लवसँग पार्टी एकता गर्नेगरी छलफल गरिरहेको पार्टी सचिव गणेश शाहले बताए ।

अहिलेको परिस्थितिमा धेरै बदलाव आइसकेकाले माओवादी पृष्ठभूमि पार्टीहरु एक ठाउँमा आउनुको विकल्प नरहेको शाहले जिकिर गरे । त्यसपछि अरु वामपन्थी कम्युनिस्ट शक्तिलाई पनि एकतावद्ध बनाएर जानुपर्ने बताए ।

प्रचण्डको प्रतिरक्षा गर्दै विप्लव

माओवादी केन्द्रका नेता भन्दा एक स्टेप अघि बढेर माओवादी आन्दोलन र प्रचण्डको विप्लवले प्रतिरक्षा गदै आएका छन् । कुनैबेला प्रचण्ड–बाबुराम विरुद्ध तिखो आलोचना गर्ने विप्लव पछिल्लो समय प्रशंसामा समय खर्चिने गरेका छन् । माओवादी आन्दोलनविरुद्ध कसैले आलोचना गरे विप्लव कडा रुपमा खनिने गरेका छन् ।

पछिल्लो समय राष्ट्रिय अन्तरराष्ट्रिय परिस्थिति बद्लिएको भन्दै विप्लवले प्रचण्ड–बाबुरामलगायत नेतारुलाई आलोचना गर्न छोडेका छन् । बरु उल्टै सकेसम्म प्रशंसामै समय खर्चिने गरेका छन् ।प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएपछि विप्लवले सबैभन्दा बढी प्रचण्डकै प्रतिरक्षा गरेका थिए । सबै माओवादी एक भएमा पहिलो शक्ति हुने विप्लवले धारणा राखेका थिए ।

‘नौजवानहरुलाई उर्जा भरियो । पार्टीलाई देश र जनतातिर फर्काउन थालियो । फेरि सहिद परिवारलाई एकतावद्ध गरियो भने, हामी सबै एक भयौं भने २०६० सालको माओवादी बन्छौं । इतिहास रिभाइभ हुन्छ, इतिहास दोहोरिन्छ,’ त्यतिबेला काठमाडौंमा आयोजित एक कार्यक्रममा विप्लवले भनेका थिए, ‘मैले प्रचण्ड कमरेडलाई भनेको छु । सहिदहरुको प्रस्ताव क्याविनेटमा लैजानुस् । पास गर्छन् कि गर्दैनन् अर्को कुरा भयो । सबैलाई राष्ट्रिय सहिद हुन भनेर पास गर्नुस्् । हाम्रो पार्टी सहयोग गर्न तयार छ ।’

पछिल्ला थुप्रै कार्यक्रमहरुमा विप्लवले प्रचण्डको आलोचना गर्न छोडेका छन् । यसले समेत विप्लव प्रचण्डससँग नजिक भएको अनुभूति गर्न सकिन्छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर