कनकाई । नागरिक स्वास्थ्यलाई ध्यान दिदै झापाको कनकाई नगरपालिकाले सुर्तीजन्य बस्तुको बिक्री वितरणमा प्रतिबन्ध लगाउने भएको छ ।
गत जेठ १७ गते २५ औं कार्यपालिकाको निर्णय अनुसार नगरक्षेत्रमा सुर्तीजन्य बस्तुको बिक्री वितरणमा प्रतिबन्ध गराउने भएको हो । नगरले एक महिनाको समय दिएर आगामी साउन १ गते देखि निर्णयलाई कार्यन्वयन गर्ने नगरले जारी गरेको सूचनामा उल्लेख छ ।
कनकाई नगरपालिकालाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियान अन्तरगत नगरपालिकाले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणमा कडाइ गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद न्यौपानेले बताए ।
चुरोट, गुट्खा, खैनीलगायतका सुर्तीजन्य पदार्थको सेवनले क्यान्सरलगायतका रोग लाग्नुका साथै फोहोर समेत हुने भएकाले नगरपालिका कठोर रुपमा उत्रिएको प्रशासकीय अधिकृत विवेक भण्डारीले बताए । सुर्तीजन्य पदार्थको खोलले नगरपालिकाको सरसफाइमा ठूलो चुनौती सिर्जना गरेको समेत उनको भनाइ छ ।
कनकाई नगरवासीका रहेका सम्पूर्ण राजनैतिक दलको समेत केही महिना अगाडि छलफल कार्यक्रममा स्वास्थ्य र सरसफाइ प्रति चिन्तित हुँदै सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन निषेध गर्न साथ रहने भनी हस्ताक्षर गरिएको र उक्त हस्ताक्षरलाई नगरपालिकाले देखिने स्थानमा राखेको नगर प्रमुखका स्वकीय सचिव विजय पाठकले जानकारी दिए ।
मेयर राजेन्द्र कुमार पोखरेलले कनकाई नगरपालिकालाई नमुना नगर बनाउने अभियानमा साथ दिन नगरवासीलाई आग्रह गरेका छन् । साथै सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरण माथि गरिएको निषेधको निर्णयलाई कार्यान्वयन गर्न नगरवासीमा पोखरेलको आग्रह छन् ।
सुर्ती सेवनको असर
स्वास्थ्य : धूम्रपानमा हुने प्राणघातक रसायनले शरीरको प्रतिरक्षात्मक प्रणालीलाई कमजोर बनाउँछ, जसबाट शरीरमा विभिन्न रोग लाग्ने सम्भावना बढेर जान्छ । प्रतिरक्षा प्रणाली कमजोर भएकै कारण कपाल झर्ने, मुखमा घाउ खटिरा हुने, तालु खुइलिने, हातमा पाप्रा आउने रोग लुपस इरिथ्रिमेटोसस, निको पार्न गाह्रो हुने तथा बारम्बार बल्झिरहने पेटको अल्सर, छाला पत्रिदै फुस्रिने छालाको नसर्ने रोग सोराइसिस, क्षयरोग, निमोनियाजस्ता रोग लाग्छन् ।
सुर्तीमा भएको निकोटिनले अम्मली बनाउनुका साथै मष्तिष्क र स्नायुमा पुगी रिँगटा लाग्ने, कम निद्रा लाग्ने, सुत्दा निद्रा नलाग्ने, मस्तिष्क शिथिल हुने, दाँत बिग्रने, औंला र नङ पहेँलो हुने, कालो हुने, रक्तनली र भल्भमा निकोटिन जम्दै जाँदा साँघुरिएर मुटुसम्बन्धी रोग, थोम्ब्रोएन्जाइटिस अवलिटरेनस, बर्गर रोग, हृदयाघात, मस्तिष्कघात, कान पाक्ने, श्रवणशक्ति कम हुने, बहिरो हुने, पक्षाघात, स्नायु, नसा र धमनी सुन्निने, कपाल, लुगा फोहोर हुने आदि बनाउँछ । चुरोटमा हुने कार्बन मोनोअक्साइड ग्यासले रगतको अक्सिजन बोक्ने क्षमतालाई १५ प्रतिशतले बाधा पुर्याई हाड कमजोर हुने, घाउ निको हुन लाग्ने समय ८० प्रतिशतले बढ्ने, ५ गुणा बढी ढाड दुख्ने सम्भावना, दम बढ्ने, दीर्घ खोकी, पिपयुक्त खकार तथा खोक्न र श्वास फेर्न कठिन बनाउँछ ।
मोतिया बिन्दु पनि धुम्रपानले बनाउन सक्छ भन्ने कुरा ४० प्रतिशतभन्दा बढी धूम्रपान गर्नेमा आँखाको दृश्यशक्तिलाई कमजोर पार्दै नदेख्ने बनाएकोबाट प्रमाणित भएको छ । धुम्रपानको धुवाँले आँखालाई पीडा तथा संवेदनशील बनाएर र फोक्सोबाट रगत हुँदै आँखामा पुग्ने सुर्तीका रसायनले रेटिनाको मध्यभागमा क्षति पु–याउँदछ । उमेरसँगै बूढो हुँदै जाँदा विकसित हुने फोकस गर्न नसक्ने समस्या धूम्रपान गर्नेमा छिटो सुरु हुने तथा तीव्र गतिमा हुने गर्दछ ।
धुम्रपानले छालालाई चुस्त बनाउने भिटामिन ‘ए’ को शोषणमा अवरोध गर्दछ र रक्तसञ्चारलाई नियन्त्रण गर्ने तथा प्रोटिनको नास गर्छ । त्यसैले, धूम्रपानमा बुढ्यौली लाग्नुअगावै छाला चाउरी पर्ने, ओठ र आँखाको छेउको छालामा फुस्रो, सानोसानो मुजा पर्ने समस्या देखिन्छ । मुटुसम्बन्धी रोग उब्जाउने प्रमुख कारण धूम्रपान हो, जसका कारण विकासोन्मुख मुलुकमा १० लाखभन्दा बढी र विकसित मुलुकमा ६ लाखभन्दा बढी व्यक्ति मर्ने गरेका छन् । धूम्रपान मुटुको छड्कन तीव्र पार्ने, रक्तचाप बढाउने, उच्च रक्तचापको सम्भावना हुने, हृदयघातको कारण बन्न सक्छ ।
खेलाडीमा चाँडै थाक्ने र स्टामिना घटाउँछ । ३० वर्षको धुम्रपानकर्ता र ४२ वर्षको धूम्रपान नगर्नेले १६ किलोमिटर बराबर समयमा पूरा गर्दछन् । एक चुरोट प्रतिदिनले, ४० सेकेन्ड दौड्ने क्षमता कम गराउँदै लगेको वैज्ञानिक पुष्टि पनि छ ।
क्यान्सर : धूम्रपानमा भएका करिब ६० वटा क्यान्सर लगाउन सक्ने तत्व, कार्सिनोजनहरूले शरीरका विभिन्न अंगप्रत्यंगमा क्यान्सर लगाउन सक्छन् । सामान्य व्यक्तिलाई भन्दा धुम्रपानका अम्मलीलाई दुई गुणा बढी छालाको क्यान्सर, मेलानोमा, पाठेघर, स्तन तथा मूत्रथैलीको क्यान्सर, २२ गुणा बढी फोक्सोको क्यान्सर, दुई गुणा बढी जिब्रोको क्यान्सर, ६–२७ गुणा बढी मुख, –र्यालग्रन्थि र श्वासनलीको क्यान्सर, १२ गुणा बढी घाँटीको क्यान्सर, ८–१० गुणा बढी भोजनलीको क्यान्सर, १०–१८ गुणा बढी भोजन नलीको क्यान्सर, दुई –तीन गुणा बढी आमाशयको क्यान्सर, पाँच गुणा बढी मिर्गौलाको क्यान्सर, दुई –पाँच गुणा बढी प्याङ्क्रियाजको क्यान्सर, तीन गुणा बढी आन्द्राको तथा ५–६ गुणा बढी गुदद्वारको क्यान्सर हुने सम्भावना रहन्छ ।