Aamsanchar

मेचीनगरलाई लागुऔषध प्रयोग मुक्त नगरपालिका बनाउने

Author Image
आइतवार, जेठ २८, २०८०

मेचीनगर । दुर्व्यसन विरुद्धको अभियान सञ्चालन गरिरहेको गैरसरकारी संस्था नार्कोनन नेपालका प्रमुख बसन्तराज कुँवरले ‘रक्सी मानिसहरूको उपचारमा लठ्याउनका लागि प्रयोग गर्नका लागि ८ हजार वर्ष अघि बनाइएको औषधी र हाम्रो समाजले रक्सीको गलत प्रयोग गरेपछि रक्सीकै कारण दुर्व्यसनीको लत शुरु हुने दाबी गर्नुभएको छ । बिरामीको अप्रेसन गर्न डाक्टरले प्रयोग गर्ने औषधी किन खाँदैछौं, यसबारे सबै सचेत हुनुपर्ने उहाँको धारणा छ । रक्सी मानिसलाई मूर्ख बनाउन दिने गरेको उहाँको भनाई छ ।

झापाको मेचीनगर नगरपालिकालाई निकट भविष्यमा लागूऔषध प्रयोग मुक्त नगरपालिका बनाउने उद्देश्यका साथ शनिबार आयोजना गरिएको ‘प्रारम्भिक प्रशिक्षण कार्यक्रमको प्रमुख प्रशिक्षकका रुपमा बोल्दै कुँवरले घरमा आउने पाहुनाको स्वागतमा मदिराजन्य पदार्थ अर्थात रक्सी दिने चलन, बिहेमा आउने पाहुनालाई ‘ड्रिङ्क’ खाऊ भन्दै रक्सी खान प्रेरित गर्ने चलनको अन्त्य गर्दै सत्कारको व्यवहारमा परिवर्तन ल्याउनुपर्ने र त्यसो गर्न सकिएन भने घर दुर्व्यसनले जलाउने दाबी गर्नुभयो । सत्कारको शैली परिवर्तन गरे मात्रै पनि दुर्व्यसनीमा कमी आउने उहाँको तर्क छ ।

लागूपदार्थको दुर्व्यसनी भएपछि चोरी, डकैती, हत्या जस्ता आपराधिक क्रियाकलाप मात्र नभएर साना मध्यमवर्गीय देखि विश्वमा ठुल्ठुला राजामहाराजाका घर समेत सकिएको उदाहरण उहाँले प्रस्तुत गर्नुभयो । ‘लागूऔषधी नभई बाच्ने नसक्ने भए पछि पैसाका लागि मानिस जे पनि गर्छन, नार्कोनन नेपालका प्रमुख कुँवरले भन्नुभयो । लागूऔषध दुर्व्यसनीको विरुद्धको अभियानमा लाग्नु भएका पूर्व प्रहरी नायब महानिरीक्षक कुँवरले २० प्रतिशत घटना मात्रै प्रहरीले रोक्न सक्ने बाकी ८० प्रतिशत घटनाको समाधान सर्वसाधारणले गर्नुपर्ने उहाँको तर्क छ ।

लागूऔषध दुर्व्यसनी राष्ट्रको ठुलो समस्या भएको र त्यसको अन्त्य पूर्वी किनारबाटै मेचीनगर नगरपालिका र नार्कोनन नेपालको संस्थाको संयुक्त पहलमा गर्ने मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले स्पष्ट पार्नुभयो । विकराल समस्याको रुपमा देखिएको लागूऔषधको समस्या समाधानमा सबै संयन्त्र लाग्नु पर्ने उहाँको जोड छ । युवा जनशक्ति लागूऔषध दुर्व्यसनीमा फस्नु राज्यको जनशक्ति खेर सरह भएकाले दक्ष जनशक्तिको उचित व्यवस्थापन गर्नु पर्नेमा उहाँले जोडदिनुभयो ।

झापा खुला सीमाका कारण प्रहरी प्रशासन लाई समेत छलेर लागूऔषध सहजै रुपमा भित्रने गरेको छ । यसमा बालबालिकालाई समेत प्रयोग गरिएको पाइन्छ । सम्बन्धित निकाय र स्थानीय तहहरूले यो समस्यालाई दीर्घकालिक रुपमा समाधान गर्न नसकिरहेको अवस्थामा मेचीनगर नगरपालिकाले सक्रियता देखाएको हो ।

तर, नगरपालिकाको एक्लो प्रयासले मात्र यो सम्भव नहुने कुँवरको भनाई छ । जनप्रतिनिधि, कर्मचारी, विषयगत समिति, नगरभित्र रहेका सबै शैक्षिक संस्थाहरू, स्थानीय प्रशासन, आमा समूह, सामाजिक संघ संस्थाका प्रतिनिधिले लागूऔषधको अन्त्यकालसम्म एकठाउँमा मुठ्ठी कस्ने हो भने सम्भव रहेको उहाँको भनाई छ । नखाएका हरूलाई खान नदिने, खाएका हरूलाई चिन्ने, चिनेका हरूलाई उपचार गर्ने, उपचार बाट फेरि खान नदिने, सम्मानित जीवन यापनका लागि व्यवस्थापन गर्ने यी चार कुरा गर्न सके यो समस्या हल हुने उहाँको तर्क छ ।

उहाँले कार्यक्रममा एउटा पालिकाको कल्पना गरेर जनप्रतिनिधिदेखि आमा समूह, कर्मचारी, विषयगत समिति, नगरभित्र रहेका सबै शैक्षिक संस्थाहरू, स्थानीय प्रशासन, आमा समूह, सामाजिक संघ संस्थाका प्रतिनिधिलाई एकठाउँमा उभ्याएर सबै मिले लागूऔषधको नियन्त्रण सम्भव हुने उदाहरण प्रस्तुत गर्नुभयो । प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य गोपाल तामाङले पछिल्लो समय लागूऔषघको समस्या विकराल बन्दै गएको र ओसारपसार मात्र नभएर सेवन कर्ता कै संख्या बढेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

नेपालको भारतीय बजारमा सहजरूपमा पाइने भएकाले आज सामान्य देखि उच्च घरानका सदस्यहरू समेत यसमा लागि परेको उहाँको भनाई छ । यसकारण पनि यस्ता अभियानले निरन्तरता पाउनुपर्ने उहाँले बताउनुभयो । उपप्रमुख मीना पोखरेल उप्रेतीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत आनन्दप्रकाश वस्तीले गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)