काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (क्रुड आयल) को मूल्य घटेको आधारमा मात्र स्थानीय बजारको मूल्यलाई विश्लेषण नगर्न आग्रह गरेको छ। नेपालले कच्चा तेल नभई सिधै प्रशोधित पेट्रोलियम पदार्थ आयात गर्ने भएकाले प्रशोधित तेलकै मूल्यलाई आधार मानेर खुद्रा बिक्री मूल्य निर्धारण हुने निगमले स्पष्ट पारेको हो।

निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार नेपालको आफ्नै रिफाइनरी नभएकाले इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट प्रशोधित पेट्रोल र डिजेल खरिद गर्नुपर्ने बाध्यता छ। “क्रुड आयलभन्दा प्रशोधित इन्धनको मूल्य स्वभाविक रूपमा बढी हुन्छ,“ प्रवक्ता ठाकुरले भने, “त्यसैले मूल्य तुलना गर्दा कच्चा तेलको होइन, प्रशोधित तेलकै अन्तर्राष्ट्रिय मूल्य हेर्नुपर्छ।“
आकाशिँदो मूल्य अन्तर
सामान्य समयमा कच्चा तेल र पेट्रोलबीच प्रति ब्यारेल १० डलर तथा डिजेलसँग २० डलरको अन्तर हुने गथ्र्यो। तर, पछिल्लो अन्तर्राष्ट्रिय परिस्थितिका कारण यो खाडल निकै बढेको छ। निगमका अनुसार अप्रिल २०२६ को तथ्याङ्क यस्तो छः
उच्चतम विन्दु (अप्रिल २)ः कच्चा तेल ११८.३ डलर पुग्दा पेट्रोल २६२ डलर र डिजेल ३३४.४ डलर प्रति ब्यारेल पुगेको थियो।

अप्रिल १६ को स्थितिः कच्चा तेल ९९.६ डलर हुँदा पेट्रोल १३९.३ डलर र डिजेल २२८.१ डलर कायम थियो।
अहिले कच्चा र प्रशोधित तेलबीचको अन्तर क्रमशः १४४ डलर र २१६ डलरसम्म पुगेकाले आयातकर्ता मुलुकहरूमा मूल्यको ठुलो दबाब परेको निगमको भनाइ छ।
घाटाको स्थिति कायमै
भन्सार, कर, ढुवानी, बीमा र प्रशासनिक खर्चसहितको लागत जोड्दा हालको मूल्यमा पनि निगम ठुलो घाटामा रहेको छ। वैशाख ३ गतेदेखि डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ वृद्धि गरे पनि डिजेलमा अझै प्रतिलिटर ९९ रुपैयाँ १६ पैसा घाटा भइरहेको निगमले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्य वृद्धिका कारण आगामी १५ दिनमा करिब ५ अर्ब ७५ करोड रुपैयाँ नोक्सानी हुने प्रक्षेपण निगमले गरेको छ। हाल पहिलो, दोस्रो र तेस्रो वर्गअनुसार डिजेलको मूल्य प्रतिलिटर २३४ रुपैयाँ ५० पैसादेखि २३७ रुपैयाँसम्म तोकिएको छ।



