सोंट्ठा । नेकपा (एमाले), रतुवामाई नगरपालिका कमिटीले आज नगरको सोंट्ठा स्थित मदन भवनमा सम्पन्न गरेको पार्टीसँग जनप्रतिनिधि कार्यक्रममार्फत नगरसभा नीति तथा कार्यक्रम निर्माण सहयोगी संयन्त्र गठन गरेको छ । सम्पन्न कार्यक्रममार्फत सहभागी दर्जनौं मध्ये आफ्नो तर्फबाट नगरवासीको अपेक्षासहितको रायसुझाव राख्नुहुने १९ जनाको प्रस्तुति सुनेपछि सो संयन्त्र बनाइएको महेन्द्र कार्कीले जनाउनुभएको छ ।
नगरमा उपलब्ध पार्टी प्रतिनिधि, बहुमत जनप्रतिनिधि र सरोकारवाला माझ गठित संयन्त्रमा राजनीतिक एवम् सामाजिक अभियन्ताहरू क्रमशः मेघराज शर्मा कट्टेल, हरिकुमार राई, नारायण ताजपुरिया, देवेन्द्र पौडेल, कृष्ण ढकाल, हेम कार्की र स्वयं नगर प्रमुख दमयन्ता चुडाल रहनुभएको नगर अध्यक्ष देवीप्रसाद दाहालले बताउनुभयो । संयन्त्रको संयोजक रहनुभएका कट्टेल नेकपा ९एमाले० मोरङ जिल्ला कमिटी सदस्य हुनुहुन्छ ।
नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य एवम् पार्टी केन्द्रीय कमिटीको तर्फबाट मोरङ संघीय क्षेत्र नं। १ र २ का इन्चार्ज युवराज बाँस्कोटाले सहजीकरण गर्नुभएको अन्तरक्रियात्मक कार्यक्रम कोशी कमिटी सदस्य रूपनारायण मिश्रसहित जिल्ला र पालिका कमिटी सम्बद्ध नेतृत्वको उपस्थिति रहेको थियो ।
स्थानीय निर्वाचनताका जारी प्रतिबद्धता पत्र, यसअनुसार भए गरिएका समग्र कामको विवरण, यससम्बन्धी सूक्ष्म समीक्षा र आउँदा दिनका लागि प्रस्तावित योजनाउपर सघन छलफल, बहस र विमर्शसहित सम्पन्न कार्यक्रमको अध्यक्षता नगर अध्यक्ष देवीप्रसाद दाहालले गर्नुभएको थियो ।
नेता कट्टेलको नेतृत्वमा गठित ७ सदस्यीय संयन्त्रले समाजवादको आधारशीला निर्माण गर्ने कार्यक्रममा सरोकारवालाको सहभागिता सुनिश्चित सहित यसको पहिलो शर्तको रूपमा शिक्षा र स्वास्थ्यमा आममानिसको पहुँच कायम गर्न कार्यक्रम बनाउने, स्थानीय उत्पादन वृद्धि मार्फत आयात प्रतिस्थापन बढाउने र निर्यात घटाउने, कृषि क्षेत्र आधारित कृषकमैत्री कार्यक्रम ल्याउने, स्थानीय समुदायलाई समाज विकासको मूलप्रवाहमा ल्याउन सीप र तालिमको व्यवस्थापन गर्ने, पूर्ववत् घोषित र सञ्चालित कार्यक्रमलाई निर्वाध सञ्चालनमा ल्याउने उद्देश्य रहेको किसान नेता देवेन्द्र पौडेलले जनाउनुभयो ।