Aamsanchar

मेचीनगरका प्रत्येक वडामा प्रयोगशाला सञ्चालको तयारी

गाउँमा गुणस्तरीय स्वास्थ्य सेवा पाउँदा स्थानीय खुशी

Author Image
आइतवार, असार ३, २०८०

मेचीनगर ।  झापाको मेचीनगर नगरपालिकाले स्वास्थ्य सेवामा उदाहरणीय काम गरेको छ । नगरका १५ वटा वडामध्ये दुईवटा वडामा प्रयोगशाला (ल्याव) सञ्चालनमा ल्याएपछि नगरपालिकाले प्रदान गरेको स्वास्थ्य सेवाबाट स्थानीयवासी खुसी छन् ।

मेचीनगरको वडानम्बर ४ र ११ मा प्रयोगशाला सेवा शुभारम्भ भएको छ । बाकी वडामा क्रमस सेवा विस्तार गरिने नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिनुभयो । वडामै प्रयोगशाला शुभारम्भ गरेर सेवा प्रदान गरेपछि निक्कै टाढा टाढा गएर रक्त परीक्षण गर्ने समस्याबाट वडावासीले छुटकारा पाएको नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले बताउँनुभयो ।

प्रयोगशालाबाट सिबीसी, एचबी, सुगर, विलिरुविन, दिशा पिसाव, एचआईभि, मलेरिया, डेंगु, भिडिआरएल, यूरिया क्रिटिनाईनलगायतका रक्त परिक्षण हुने नगरपालिका स्वास्थ्य शाखा संयोजक सविता सापकोटा निरौलाले जानकारी दिनुभयो । लामो समयदेखि मधुमेहको समस्याले पीडित स्थानीय बमबहादुर बस्नेत यसअघि धुलावारी, विर्तामोड काँकरभिट्टा गएर उपचार गराउँदै आउनुभएको थियो । उहाँ अहिले नगरपालिकाले वडामै सर्वसुलभ मूल्यमा सेवा उपलब्ध गराएपछि सेवा लिन पाउँदा मख्ख पर्नुभएको छ । वडामा आधारभूत परीक्षणको सेवा पाउन थालेपछि स्थानीयवासी श्याम शिवाकोटीले खुसी व्यक्त गर्नुभयो ।

उहाँले मेचीनगरले राम्रो काम गर्दै गएको समेत बताउनुभयो । कोरोना महामारीको बेला कोभिड अस्पतालका रूपमा सञ्चालित धाइजन स्वास्थ्य चौकीबाट अहिले प्रयोगशालाबाट सेवा प्रदान गर्न थालिएको छ । सीमित स्रोतसाधन र जनशक्तिबाट अहिले पनि कोभिडसँगसँगै अन्य सेवा प्रदान गरिरहेको उपप्रमुख मीना पोखरेल उप्रेतीले जानकारी दिनुभयो ।

धुलावारीको प्राथमिक स्वास्थ्य केन्द्रमा सुविधासम्पन्न सुरक्षित सुत्केरी केन्द्र (बर्थिङ सेन्टर)को व्यवस्था छ । पालिकाले स्वास्थ्यका क्षेत्रमा धेरै काम गरेको स्थानीयको भनाई छ । स्वास्थ्यलाई मुख्य प्राथमिकता दिएर सस्तो मूल्यमा उपचार सेवा प्रदान गरिरहेको स्थानीयवासीले बताएका छन् ।

नागरिकले ठूला विकासको अपेक्षा गरेका छैनन् । केबल शिक्षा, स्वास्थ्यलगायतका विषयमा आधारभूत सुविधा पाए स्थानीय तह भएको महसुस गर्न सकिने उनीहरूले बताएका छन् । नागरिकका समस्यालाई स्थानीय सरकारले राम्रोसँग बुझ्ने नगरप्रमुख बुढाथोकीको भनाई छ ।

गुणस्तरीय स्वास्थ्य सेवा पाउनु सबै नगरवासीको अधिकार हो भने गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु सरकार, स्वास्थ्य संस्था, चिकित्सक र स्वास्थ्यकर्मी सबैको कर्तब्य हो । स्वास्थ्य सेवा अति सम्वेदनशील सेवा हो । गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा सबै पक्षले यो समवेदना बुझ्नु र बुझाउनु एकदम जरुरी रहेको नगरप्रमुख बुढाथोकीको भनाई छ । सबै पक्षको सहकार्यमा मात्रै बिरामी वा स्वास्थ्य सेवाग्राहीको सुरक्षा गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सम्भव हुने उहाँको तर्क छ ।

‘नेपालको संविधानले हरेक नागरिकले छिटो छरितोरुपमा स्वास्थ्य सेवा पाउनु नैसर्गिक अधिकार हो भनेको छ’ नगरप्रमुख बुढाथोकीले भन्नुभयो—‘अहिले मेचीनगरका वडा वडामा स्थानीयले स्वास्थ्य सेवा पाउन थालेका छन् । मेचीनगर भौगोलिक हिसाबले ठुलो क्षेत्र भएको विगत केही वर्षमा सामान्य उपचार नपाएर ज्यान गुमाउनुपर्ने क्षेत्रमा स्थानीय सरकारको पहलमा अहिले वडा वडामा स्वास्थ्य चौकी प्रयोगशाला स्थापना गरेर स्थानीय नागरिकलाई स्वास्थ्य सेवा दिन थालेका छौ ।’

घरदेखि घण्टौँ पैदल हिडेर स्वस्थ्य चौकीसम्म पुग्नुपर्ने नगारिकले खेप्दै आएको समस्यालाई ध्यानमा राखेर आवश्यताको पहिचान गरेर नगरपालिकाले स्वास्थ्य सेवाको पहुँच बढाउँदै लगेको उपप्रमुख उप्रेतीले बताउनुभयो ।

वर्थिङ, ल्याव तथा स्वास्थ्य बीमासहित अन्य सेवाका लागि धुलावारी प्राथमिक स्वास्थ्य केन्द्र, बाहुडाँगी, काँकरभिट्टा, ज्यामिरगढी धाइजन र दुवागडीगरी ६ वटा स्वास्थ्य केन्द्र र वडानम्बर १,२,३, ५, ७,८,९, १२ र १३ मा गरी ९ वटा आधारभूत स्वास्थ्य केन्द्रबाट स्वास्थ्य सेवा प्रदान गर्दै आएको स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा निरौलाले जानकारी दिनुभयो । यी स्वास्थ्य केन्द्रमा ७० बढी दक्ष र अनुभवी स्वास्थ्यकर्मीहरले सेवा प्रदान गरिरहेका छन् ।

शिशु मृत्यु दर शुन्य बनाउनको लागि नगरपालिकाले गाउँ–गाउँमा स्वास्थ्य स्वमसेविका मार्फत स्वास्थ्य जनचेतना तथा गर्भवतीको रेखदेख र वर्थिङ सेन्टरमा गएर प्रसूति गराउन प्रोत्साहन गर्दै आएको उहाँको भनाई छ । सामान्य ज्वरो, रुघाखोकी लाग्दा जाँच गर्न तीन घण्टा हिडेर जानुपर्ने समस्या सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा आएपछि हटेको मेचीनगर १ का बविराम खवासले बताउनुभयो । केही वर्षअगाडि सामान्य बिरामी हँुदा ठूलो खर्च गरेर टाढा टाढाका अस्पतालसम्म पु¥याउनुपर्ने हरेक नगका हरेक वडामा स्वास्थ्य इकाइ स्थापना भएदेखि गाउँमै स्वास्थ्य चेकजाँच हँुदै आएको मेचीनगर वडानम्बर ११ का वडाध्यक्ष रुद्र डाागीले बताउनुभयो ।

गुणस्तरीय स्वास्थ्य सेवा भनेको स्वास्थ्य सेवाग्राही वा बिरामीलाई बिना कुनै हानी नोक्सानी समयमा नै स्तरीय र उचित स्वास्थ्य सेवा उपलब्ध गराउनु हो । साथै स्वास्थ्यकर्मीको बोली व्यवहार राम्रो हुनु, दक्ष र योग्य स्वास्थ्यकर्मी हुनु, उचित पूर्वाधार हुनु, आवश्यक उपकरण र औजारहरुको व्यवस्था गर्नु, सफा र स्वच्छ वातावरण हुनु, सचेत सेवाग्राही हुनु आदि पनि गुणस्तरीय स्वास्थ्य सेवाको लागि अति आवश्यक कुरा रहेको उद्घाटनका प्रयोगशाला उद्घाटनका क्रममा नगरप्रमुख बुढाथोकीले स्पष्ट पार्नुभयो ।

जुनसुकै मुलुक, समाजमा बसे पनि, जस्तो आर्थिक हैसियत भए पनि हरेक व्यक्तिको ज्यान उत्तिकै महत्वपूर्ण हुन्छ । मैले बेलायतमा बसेर जस्तो सेवाको उपभोग गरेको छु वा पाएको छु, सिद्धान्ततः नेपालमा पनि त्यस्तै सेवा पाउनुपर्छ । तर, के यो सम्भव छ ? आवश्यक पूर्वाधार, श्रोत र साधनको व्यवस्था गर्ने, बिरामी र सेवाग्राहीमा जनचेतनाको विकास गर्ने, चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई उचित तालिमको व्यवस्था गर्ने आदि जस्ता काम गर्ने हो भने मात्रै यो सम्भव छ ।

कसैलाई कुनै समस्या देखिएमा तत्काल स्वास्थ्यकर्मी वा चिकित्सकसँग परामर्श गर्नु, आफ्नो समस्याका बारेमा खुलस्त कुरा गर्नु, चिकित्सक वा स्वास्थ्यकर्मीको राय सल्लाह मान्नु, समयमा नै भने अनुसार औषधीको सेवन गर्नु र आफ्नो स्वास्थ्यको पूरा खेल राख्ने जिम्मा हरेक व्यक्तिको रहेको उपप्रमुख उप्रेतीको भनाई छ । गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न हरेक देशका स्वास्थ्य संस्थाहरुमा चिकित्सक र स्वास्थ्यकर्मीहरुले बिरामीलाई केन्द्रमा राखेर काम गर्नुपर्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 249

प्रतिक्रिया (०)

सम्बन्धित खबर