मेचीनगर: पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ (डिजल, पेट्रोल मट्टितेल एलपीजी ग्यास) को आयात न्यून हुनु र आसामबाट आयात हुने कोइला ठप्प हुँदाको प्रत्यक्ष असर राजस्व असुलीमा परेको छ । कार्यालयको मुख्यः राजस्व पूर्वी नाकाबाट आयात हुने कोइला, पेट्रोलियम पदार्थ क्लिङ्कर तथा बङ्गलादेशबाट आयातित पेयपदार्थ, खाद्यवस्तु तथा कोइलाले समेत राजस्व असुलीमा ठूलै मद्दत पुगेको छ ।
यसले गर्दा मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आव २०७९/०८० को वार्षिक राजस्व असुलीको लक्ष्य पुरा नगर्ने पक्का झै छ । पूर्वी नाकाबाट भित्रिने पेट्रोलियम पदार्थको आयात घट्न थाले पछि त्यसको असर मेची भन्सार कार्यालय काँकरभिट्टाको राजस्व असुलीमा परेको भन्सार अधिकारीहरूको भनाई छ । पेट्रोलियम पदार्थको खपत कम हुँदा आयातमा समेत गिरावट भएपछि सरकारको राजस्व सङ्कलनमा प्रत्यक्ष असर परेको ती अधिकारीहरूको भनाई छ ।
अर्थ मन्त्रालय भन्सार विभागले मेची भन्सार कार्यालय काँकरभिट्टालाई चालु आर्थिक वर्ष २०७९/०८० मा २० अर्व २४ करोड १८ लाख ३८ हजार रुपैयाँको वार्षिक राजस्व लक्ष्य दिइएको छ । तर, कार्यालयले भने चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म वा एघार महिनाको अवधिमा १२ अर्व ८८ करोड ९४ लाख २ हजार रुपैयाँमात्र राजस्व असुली गरेको छ । जुन असुली लक्ष्यको तुलनामा ६९ दशमलव ९५ प्रतिशतमात्र हो । चालु आर्थिक वर्ष सकिन् अब करिव दुई सात मात्र बाँकी छ ।
कार्यालयले लक्ष्य पुरा गर्न असार महिनामा ७ अर्ब ३५ करोड २४ लाख ३६ हजार रुपैयाँ राजस्व असुल गर्नुपर्ने छ । तर, त्यो सम्भावना न्यून रहेको भन्सार अधिकारीहरू बताउँछन् । यस अघिका कुनै पनि महिना कार्यालयले यति ठूलो रकम राजस्व असुली गरेको छैन् । प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मी एघार महिनाको राजस्व असुली हेर्दा चालु आर्थिक वर्षको राजस्व असुली लक्ष्य पुरा नहुने संकेत देखिएको बताउनुहुन्छ । चालु आवमा वार्षिक राजस्वको लक्ष्य पुरा नहुने, १४ अर्वको हाराहारीमा राजस्व संकलन हुने अनुमान उहाँको छ । आर्थिक वर्षको सुरुवाती महिनादेखि नै कार्यालयले लक्ष्यको तुलनामा प्रगति गर्न सकेको छैन् ।
चालु आर्थिक वर्षको २०७९/०८० को श्रावणमा ९३ दशमलव शून्य १ प्रतिशत , भदौमा ७९ दशमलव ६४ प्रतिशत, असोजमा ६८ दशमलव ९६ प्रतिशत, कात्तिकमा ७० दशमलव ९६ प्रतिशत, मङ्सिरमा ६५ प्रतिशत ५४ प्रतिशत, पुसमा ६० दशमलव २१ प्रतिशत, माघमा ६५ दशमलव ९७ , फागुनमा ६८ दशमलव शून्य ७, चैतमा ६८ दशमलव ७४, बैशाखमा ६५ दशमलव २८ र ज्येष्ठ महिनामा ७१ दशमलव ८९ प्रतिशत राजस्वमात्रै संकलन गरेको छ । कार्यालयका अनुसार राजस्व असुलीमा महत्वपूर्ण भूमिका खेल्ने मुख्यः दशवटा मालवस्तुमा पेट्रोलियम पदार्थ (डिजल, पेट्रोल मट्टितेल एलपीजी ग्यास) १ नम्बरमा छ । तर, त्यसको आयात नै कम भएका कारण कार्यालयले लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेको भन्सार अधिकारीहरूको भनाई छ ।
जुट, पशु आहारको कच्चा पदार्थ भटमास पिला, तरकारीजन्य, जीप्सन, दलेको या नदलेको दालहरू, कोइलाजन्य पदार्थ, कपडा, भेनीयर सीट यी दशवटा मालवस्तुको आयातले राजस्व असुलीमा टेवा पुगेको थियो । कोइलाजन्य पदार्थको आयात ठप्प रहेको छ । आसामबाट आउने कोइला ठप्प र तेस्रो मुलुकबाट कोइला फाट्टफुट्ट आयात हुने गरेको प्रमुख भन्सार अधिकृत रेग्मीले बताउँनुभयो ।
भन्सारमा मालवस्तु नै आउन छाडेको उहाँको भनाई छ । पेट्रोलियम पदार्थको खपत कम हुँदा आयातमा समेत गिरावट आई सरकारको राजस्व सङ्कलनमा प्रत्यक्ष असर परेको छ । कम राजस्व संकलन हुनुमा पेट्रोलियम पदार्थको आयातमा कमी नै हो । मेची भन्सार कार्यालय काँकरभिट्टाको कुल राजस्वको ४० प्रतिशत बढी राजस्व पेट्रोलियम पदार्थले ओगटेको छ भने बाँकी ६० प्रतिशत अन्यले ओगटेको भन्सार अधिकारीहरू बताउँछन् ।
कार्यालयले गत आर्थिक वर्ष २०७८/०७९ को एघार महिनामै आफ्नो वार्षिक लक्ष्य पुरा गरेको थियो । गत आर्थिक वर्ष २०७८÷०७९ का लागि कार्यालयलाई भन्सार विभागले ११ अर्ब ७५ करोड ९७ लाख ७२ हजार रुपैयाँ वार्षिक राजस्व लक्ष्य दिइएको थियो । कार्यालयले भने १३ अर्व ७१ करोड ४५ लाख ३ हजार रुपैयाँ वा १ सय १६ दशमलव ६२ प्रतिशत राजस्व संकलन गरेको थियो ।
आर्थिक वर्ष २०७७/०७८ मा ४९ करोड ३० लाख ४३ हजार रुपैयाँ भन्सारले राजस्व सङ्लन गरेको थियो । जुन रकम लक्ष्यको तुलनामा १३ दशमलव ३७ प्रतिशत बढि हो । ४३ करोड ४८ लाख ८९ हजार रुपैयाँ लक्ष्यमा १ सय १३ दशमलव ३७ प्रतिशत राजस्व संकलन गरेको कार्यालयको अभिलेख छ ।
पूर्वी नाका भएर खाना पकाउने ग्यास, मट्टितेल तयारी पोशाक, सुपारी, सिमेन्ट क्लिङ्कर, हवाई स्प्रीड, सुती कपडा, खरानी स्ल्याग, चामल तथा कनिका, रंगीन टेलिभिजन, ग्लेज टायल, लुब्रिकेटिङ आयल मोबिल, मोटरका ब्याट्री, प्लाष्टिकका प्याक गर्ने ट्युवहरुलगायतका बिभिन्न सामाग्री भारत तथा तेश्रो मुलुकबाट पैठारी भई आउने गरेका छन् ।
अलैँची, फलाम तथा फलामका सामग्रीहरू, चिया, अदुवा, दलहन, धातुका अन्य अवशेष पशु आहारको कच्चा पदार्थ पिना आदि मुख्यः दश मालवस्तु भारत तथा समुद्रपार निकासी हुने गरेका छन् ।