Aamsanchar

एक व्यक्ति एक इँटा सहयोग अभियान सार्थक नजिक,  झापा नाटक घर ७५ प्रतिशत निर्माण सम्पन्न 

Author Image
बुधवार, असार १३, २०८०

बिर्तामोड ।  झापाको बिर्तामोडमा १ मा क्षितिज नाट्य प्रतिष्ठानको निर्माणधीन झापा नाटकघरको निर्माणकार्य लगभग अन्तिम चरणमा पुगेको छ ।

चार वर्ष अगाडि एक व्यक्ति एक इँटा सहयोग अभियान सुरु गरेर निर्माण सुरु भएको नाटकघर नागरिक समाजले गरेको आर्थिक सहयोग, स्थानीय र कोशी प्रदेश सरकार, विषयगत कार्यालयहरूले छुट्याएको बजेटबाट ७५ प्रतिशत निर्माणकार्य पुरा भएको हो ।

हाल सम्म करिब १ करोड ९० लाख रुपैयाँ बराबरको काम भएको छ ।

अब नाटक घरको सम्पूर्ण निर्माणकार्य सम्पन्न गरि सञ्चालनमा ल्याउन ६० लाख रुपैयाँ लाग्ने बिर्तामोड नगरपालिकाले तयार गरेको प्रारम्भिक डिपिआरमा उल्लेख रहेको क्षितिज नाट्य प्रतिष्ठानका अध्यक्ष तथा झापा नाटकघर निर्माण अभियन्ता माधव खतिवडा (कल्पित) ले बताए । उनले भने  ‘अब करिव ६० लाख रुपैयाँ भए कोशी प्रदेशकै पहिलो सुविधा सम्पन्न नाटक घर निर्माण हुने र नियमित नाटक मञ्चन गर्न सकिने छ ।’

थिएटर लाइट, एसी, कुर्सी, जेनरेटर, साउण्ड तथा बाहिरी रङ्गरोगन र कम्पाउण्ड बाल लगायतका कार्य सम्पन्न हुन बाँकी छ । आर्थिक बर्ष ०८०/८१ मा  शहरी विकास तथा भवन कार्यालय, वार्ड कार्यालय र नगरपालिका तथा प्रदेश सरकार समक्ष प्रस्थावना पेश गरेको  र बजेट व्यवस्थापन भए निकट भविष्यमा नै नाटक घर सञ्चालनमा आउन सक्ने अभियन्ता कल्पितको भनाई छ ।

निर्माणाधीन अवस्थामा रहेको कोशी प्रदेश कै पहिलो ऐतिहासिक धरोहरको रुपमा परिचित बहुजातीय सांस्कृतिक सङ्ग्रहालय सहितको झापा नाटक घर निर्माणका लागि आर्थिक वर्ष २०७९/०८० को प्रदेश सरकार द्वारा झापा नाटक घर अधुरो  शीर्षकमा  बिनियोजित रकम रु ३० लाख टेन्डर आह्वान गरि कार्यालयको प्रत्यक्ष निगरानी र सक्रियतामा प्राविधिक मापदण्ड अनुरूपको कार्य सम्पन्न गराइएकोले दाता नागरिक, सरकार र विभागीय कार्यालयको मन जित्न सफल  भएकोमा कल्पितले खुसी व्यक्त गरेका छन् ।

आनन्द बिल्डर्स  इलामले  पारेको निर्माण ठेक्का बमोजिम फलसिलिङ्ग, टाली मार्बल, भित्र रङ्गरोगन, स्टेज निर्माण, दर्शक प्रेक्षालय, कलाकार आवास गृह, भोजनालय, पुस्तकालय अतिथि आवास गृह,  लाइटबार लगायतका कामहरू समयमै सम्पन्न भएको  प्रतिष्ठानकी कोषाध्यक्ष मुना प्रसाईँले जानकारी दिइन ।

कतिपय निर्माण कम्पनी र कर्मचारीको बदनियतका कारण, समयमा काम नसकिने र अनियमितता भइ उपभोक्ता तथा आम नागरिकहरूले सास्ती खेप्नु परेका गुनासाहरू बाहिर आईरहेको अवस्थामा झापा नाटक घर निर्माण समितिले भने मापदण्ड अनुसार समयमै काम सम्पन्न गराइएको प्रतिष्ठानका कार्यकारी अधिकृत राजकुमार भट्टराईको आमसंचारलाई बताए ।

झापा नाटकघरमा एक व्यक्ति १ इँटा अभियानमा सयौँ व्यक्तिले इँटा बापतको रकम सहयोग गरेका छन् । क्षितिज नाट्य प्रतिष्ठानका पदाधिकारी सदस्यहरूको सक्रियता र नागरिकहरूको विश्वासका कारण नाटक घर निर्माणमा स्थानीय देखि प्रदेश सरकारले र विषयगत कार्यालयहरूले बजेट छुट्याउदै आएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 42

प्रतिक्रिया (०)

सम्बन्धित खबर