बिर्तामोड।
सनलाइट म्युजिक एण्ड स्टुडियो स्कुलले आफ्नो ३०औँ वार्षिकोत्सव विविध सांगीतिक कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ। २०५३ सालमा स्थापना भएको उक्त संस्थाले हालसम्म हजारौं विद्यार्थीलाई संगीत शिक्षा प्रदान गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा दक्ष कलाकार उत्पादन गर्न सफल भएको जनाएको छ।

स्कुलका प्रबन्ध निर्देशक कृष्ण योञ्जनको अध्यक्षतामा आयोजित कार्यक्रममा कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री चिन्तन पाठक प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा विद्यार्थी तथा प्रशिक्षकहरूको सक्रिय सहभागितासहित उत्साहजनक माहोल देखिएको थियो।
कार्यक्रमको सुरुवात सञ्चालक हेमा भण्डारी योञ्जनसहितका विद्यार्थीहरूले ‘खुसी छौं हामी’ बोलको स्वागत गीतबाट गरेका थिए। त्यसपछि करिब तीन दर्जनभन्दा बढी गायन प्रस्तुति प्रस्तुत गरिएको थियो, जसले कार्यक्रममा उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो।
कार्यक्रममा रेडियो नेपालमार्फत गायन तथा संगीत क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउँदै आएका संगीत साधक भरत लामा र भजन गायनमा लोकप्रिय युवा स्रष्टा दुर्गा ओलीलाई सम्मान गरिएको थियो। यसअघि पनि संस्थाले शिवशंकर थापा, चन्द्र भण्डारी, स्व. खेमराज गुरुङ, बाबु बोगटी, जगदिश समाल, भिषण मुकारुङ, हस्त परियार, कुलबा सुब्बा, राजेश घतानी, इश्वरी श्रेष्ठ, सुवास मेचे, स्व. फुर्वा योञ्जन, दिपक ओली, उमेश खड्का, गोविन्द फुयाल, निशान्त दाहाल, पुष्पन प्रधान, डा. सुदीप भट्टराई, सविना योङहाङलगायतका व्यक्तित्वलाई सम्मान गरिसकेको छ।



कार्यक्रममा प्रमुख अतिथि चिन्तन पाठक, सम्मानित व्यक्तित्व भरत लामा तथा विशेष अतिथि एवं रचनाकार चन्द्र भण्डारीले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रमको सञ्चालन सुनिता तामाङले गरेकी थिइन्।
सनलाइट म्युजिक एण्ड स्टुडियो स्कुलले तीन दशकको यात्रामा संगीत शिक्षा र प्रतिभा उत्पादनमा पुर्याएको योगदानलाई कार्यक्रममा विशेष रूपमा स्मरण गरिएको थियो।




