काठमाडौं : कोशी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ। मुख्यमन्त्री हिक्मत कुमार कार्कीले राखेको विश्वासको मत माग्ने प्रस्तावमा सबै दलका प्रतिनिधिले बोलेपछि सभामुख बाबुराम गौतमले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन्।
अब मुख्यमन्त्रीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएपछि सभामुखले मत विभाजनको प्रक्रिया अघि बढाउनेछन्।
९३ सदस्यीय प्रदेशसभामा सरकार टिकाउन ४७ सांसदको समर्थन आवश्यक पर्छ। कार्कीको पक्षमा एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसद छन्। कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले विपक्षमा मतदान गर्ने बताएका छन्। एक सिट रहेको जसपाले मतदान प्रक्रियामा भाग नलिने निर्णय गरेको छ।
माओवादी केन्द्रका गौतम सभामुख भएका कारण हाल प्रतिपक्षमा रहेका सबै मिल्दा पनि ४६ सांसद मात्रै पुग्ने हुँदा अब बन्ने नयाँ सरकारले पनि विश्वासको मत पाउन कठिन देखिन्छ।
यसले कोशी प्रदेश मध्यावधि निर्वाचनतिर जाने जोखिम देखिन्छ। त्यसैले दलहरूले थप छलफलका लागि मत विभाजनअघि बैठक स्थगित गरिएको हो।