Aamsanchar

गुरु पूर्णिमामा ज्योतिपुञ्जका विद्यार्थीलाई बिरुवा उपहार

Author Image
सोमवार, असार १८, २०८०

दाङ । डिभिजन वन कार्यालय दाङको सहयोगमा घोराहीमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय र रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुलमा अध्ययनरत विद्यार्थीहरूले आज विरुवा रोपेका छन । एक विद्यार्थी दुई बिरुवा रोप्ने र संरक्षण गर्ने विद्यालयको वार्षिक कार्यक्रम अनुसार विद्यालयले एक जना विद्यार्थीलाई कम्तिमा दुई वटा  बिरुवा प्रदान गरेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज थपलियाको सभापतित्व एवं घोराही उपमहानगरपालिका वडा नं १५ का अध्यक्ष रमेशकुमार पाण्डेयको प्रमुख आतिथ्यता र एकान्त टोल विकास संस्थाका अध्यक्ष शंकर गौतमको विशिष्ट आतिथ्यमामा ज्योतिपुञ्ज विद्यालयका विद्यार्थीहरूलाई बिरुवा प्रदान गरिएको थियो ।

बिरुवा प्रदान गर्दै प्रमुख अतिथि वडा अध्यक्ष पाण्डेयले विद्यालयले वन र वातावरणप्रति सानैदेखि विद्यार्थीहरूलाई सचेतिकरण र सहभागी गराएकोमा खुसी व्यक्त गर्दै रोपिएका बिरुवा संरक्षणमा लाग्न विद्यार्थीहरूलाई आग्रह गर्नुभयो । विशिष्ट अतिथि एकान्त टोल विकास संस्थाका अध्यक्ष शंकर गौतमले टोलको गहनाका रुपमा रहेको विद्यालयले समाजमा उत्तरदायी ढंगले काम गरेकोमा शैक्षिक कार्यक्रमसँगै समाज उपयोगी कार्यमा निरन्तर रूपले लाग्न आग्रह गर्नुभयो । बिरुवा वितरण कार्यक्रमको सहजिकरण विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारीले गर्नु भएको थियो ।
यसैबीच घोराही उपमहानगरपालिका वडा  नं २ रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुलमा पनि आज सोमवार विद्यार्थीहरूलाई बिरुवा बितरण गरिएको छ । एक विद्यार्थी दुई बिरुवा रोप्ने र संरक्षण गर्ने कार्यक्रम अन्र्तगत विद्यालयमा अध्ययनरत करिव पाँच सय विद्यार्थीहरूलाई बिरुवा बितरण गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुप्रसाद खनालको सभापतित्व एवं घोराही उपमहानगरपालिका वडा नं २ का अध्यक्ष चित्रबहादुर चौधरीको प्रमुख आतिथ्यता र  प्रगतिशील टोल विकास संस्थाका अध्यक्ष नारायणप्रसाद न्यौपानेको विशिष्ट आतिथ्यमामा विद्यार्थीहरूलाई बिरुवा बितरण गरिएको थियो ।
विरुवा बितरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष चौधरीले विद्यालयले थालेको विद्यार्थीहरूबाट बिरुवा रोप्ने र संरक्षण गर्ने कार्यक्रमले विद्यार्थीहरूलाई सानैबाट वन तथा वातावरणको संरक्षण गर्ने तर्फ जानकार हुने बताउनुभयो । बिरुवा वितरण कार्यक्रमको सहजिकरण विद्यालयका प्रिन्सिपल शिव भण्डारीले गर्नु भएको थियो ।

डिभिजन वन कार्यालय दाङको “एक घर दुई वृक्ष, शहर हाम्रो बनाउ स्वच्छ” कार्यक्रम र विद्यालयको “एक विद्यार्थी दुई बिरुवा, संरक्षण गरौँ पानीको मूल र जरुवा”  भन्ने कार्यक्रम अनुसार आज गुरु पूर्णिमाको अवसरमा सोमवार दुवै विद्यालयमा अध्ययनरत एक हजार पाँच सय बढी विद्यार्थीहरूलाई दुई वटाका दरले तीन हजार बढी बिरुवा वितरण गरिएको हो । बितरण गरिएका बिरुवा विद्यार्थीहरूले आफ्नो घर वरपर रोपेका छन ।
कार्यक्रमका लागि डिभिजन वन कार्यालय दाङले धुपी, पारिजात, गुलमोहर, अमला, कपुर, दालचिनि,टिमुर,कल्की,राजवृक्ष,छतिवन लगायतका प्रजातिका तीन हजार बिरुवा विद्यालयलाई निःशुल्क उपलब्ध गराएको डिभिजन वन कार्यालय दाङका प्रमुख डिभिजनल वन अधिकृत मोहन प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । बिरुवा लगाउने ठाउँ,  क्षेत्रफल र विद्यार्थीहरूको चाहना अनुसार वितरण गरिएको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय घोराही दाङका “समाज र विद्यालय सँगसँगै” कार्यक्रमका संयोजक ध्रुबराज पौडेलले जानकारी दिनुभयो ।

विद्यार्थीहरूमाझ जल, जङ्गल र जमिनप्रति स्नेह राखी वातावरण संरक्षण र प्रवर्द्धनमा सचेतना ल्याउनका लागि ज्योतिपूञ्जमा अध्ययनरत विद्यार्थीलाई बिरुवा घरमै लगी अभिभावकको सहयोगमा रोप्ने र संरक्षण गर्ने काम शुरु गरिएको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयका प्रवन्धक निर्देशक बालचन्द्र शर्माले जानकारी दिनुभयो । विद्यालयको “समाज र विद्यालय सँगसँगै” कार्यक्रम  अन्तर्गत यस वर्ष “एक विद्यार्थी दुई बिरुवा, संरक्षण गरौँ पानीको मूल र जरुवा” भन्ने मूल नाराका साथ विद्यार्थीहरूको प्रयोगात्मक परीक्षामा अङ्क उपलब्ध गराउने योजना सहित गत वर्ष देखि वृक्षारोपण कार्यक्रम शुरु गरिएको थियो । सोही कार्यक्रमको निरन्तरता स्वरुप यो वर्ष  पनि दुवै विद्यालयमा वृक्षारोपण कार्यक्रम गरिएको  प्रवन्धक निर्देशक शर्माको भनाई छ ।
रोपिएका बिरुवा संरक्षणका लागि  विद्यालयले सबै विद्यार्थीका अभिभावकलाई पत्राचार गरी  छोराछोरीले बिरुवा रोप्नका लागि २ वटा खाडल खनेर तयारी अवस्थामा राख्न, खाडल खन्दा निस्केको माटोमा कम्पोस्ट मल राम्रो सँग मिश्रण गरी खाडलको आधा भागसम्म भर्न, आधा भरिएको खाडलमा बिरुवाको जरालाई छोपेको माटो नझर्ने गरी पलाष्टिकछवाली सावधानीपूर्वक हटाएर सिधा पर्नेगरी रोप्न, रोपिएको बिरुवाको जरालाई पहिले माटोले छोपेको भागभन्दा माथि माटो भर्नु हुँदैन भनेर सिकाउन, माटो गरिसकेपछि बिरुवाको जराको भागमा पानी जम्ने खालको खाली ठाउँ हुनुहुँदैन भनी सिकाउन र रोपिएको बिरुवालाई पानी राख्न लगाई  हरेक दिन बेलुका पानी नपरेको दिन पानी सिँचाइ गरी संरक्षण गर्नका लागि पत्राचार गरिएको र अभिभावको सकारात्मक सहयोगबाटै बृक्षारोपणको काम शुरु गरिएको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारीले जानकारी दिनुभयो ।

विगतका वर्षहरू देखि नै आफूहरूले विद्यार्थीहरूको सहयोगमा हरेक बर्ष वृक्षारोपण कार्यक्रम गर्दै आएको र त्यसलाई थप व्यवस्थित गर्नका लागि गत वर्ष देखि अभिभावकै प्रत्यक्ष निगरानीमा संरक्षण हुनेगरि वृक्षारोपण कार्यक्रम गरिएकोमा त्यसको अनुगमन गर्दा  प्रभावकारी देखिएको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयका सहायकप्रिन्सिपल पूर्णचन्द्र पाण्डेयको भनाई छ ।
विद्यार्थीहरूलाई वातावरण संरक्षण सचेतिकरणका लागि विद्यालयको योजनामा उल्लेखित “एक विद्यार्थी दुई बिरुवा, संरक्षण गरौँ पानीको मूल र जरुवा”  भन्ने कार्यक्रम प्रभावकारी देखिएका कारण डिभिजन वन कार्यालय दाङको वार्षिक स्वीकृत कार्यक्रम अनुसार गत वर्षदेखि नै सहयोग गरिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 879

प्रतिक्रिया (०)