Aamsanchar

जटिल प्रकारका बिरामीलाई ८५ लाख २० हजार

चालु आर्थिक वर्षमा गम्भीर प्रकृतिको रोगका १ सय ५९ जनालाई उपचार सुविधा

Author Image
शुक्रवार, असार २९, २०८०

मेचीनगर । नेपाल सरकारले जटिल प्रकारका तीन रोगका बिरामीलाई उपलब्ध गराउने उपचार वापतको मासिक पाँच हजार रुपैयाँ मेचीनगर नगरपालिकाका दुईसय एकजना विरामीले प्राप्त गर्ने भएका छन् । बिरामीहरूको औषधि उपचार लामो समयसँग गर्नु पर्ने र खर्चिलो हुने हुँदा बिरामीलाई हुन जाने आर्थिक भार कम गर्न औषधि उपचार बापत खर्च उपलब्ध गराउने स्वास्थ्य मन्त्रालयले जनाएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जटिल रोगका बिरामीलाई उपचार खर्चबापत दिइने मासिक भत्ताको कार्यविधि तयार गरेको थियो । मिर्गौला प्रत्यारोपण गरिरहेका व्यक्ति, मिर्गौला फेल भई डायलासिस गराइरहेका व्यक्ति, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघातका बिरामीलाई औषधि उपचारबापत सरकारले मासिक पाँच हजार भत्ता दिने निर्णय गरेको थियो ।

सोहि अनुसार मेचीनगरक्षेत्रका बिरामीहरुकालागि ८५ लाख २० हजार रुपैयाँ सम्बन्धित मन्त्रालयबाट नगरपालिकामा प्राप्त भएको नगरस्तरीय स्वस्थ्य शाखाले जनाएकोे छ । शाखाले नगरपालिकाको लेखा शाखालाई सम्बन्धित विरामीहरुको विरामीहरुको नामावली उपलब्ध गराएको र लेखा शाखाले सम्बन्धित विरामीहरुको बैंक खातामा जम्मा गरेको स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा निरौलाले जानकारी दिनुभयो । सरकारले तोकेको रकम स्थानीय तहले सम्बन्धित व्यक्तिको ब्याङ्क खातामा जम्मा गर्नेछ ।

चालु आर्थिक बर्ष २०७९÷०८० मा नगरमा उपचार माग भएका २ सय १ जनाको ८७ लाख २० हजार रुपैयाँ प्राप्त भएको उहाँले जानकारी दिनुभयो । सरकारले जटिल प्रकृतिका विरामीका लागि मासिक रुपमा पाँच हजारका दरले स्थानीय तहमार्फत औषधि उपचार खर्चको रकम उपलब्ध गराउँदै आएको छ । सरकारले बिरामीलाई सिधै रकम दिदैन ।

स्थानीय तहको स्वास्थ्य शाखाको सिफारिसका आधारमा बिरामीलाई उक्त रकम पठाउने गरेको छ । शाखा सह संयोजक पुजन अधिकारीका अनुसार कुल २ सय १ जनामध्ये सवैभन्दा बढी क्यान्सर रोगी १ सय ५६ जनाले यो उपचार खर्च प्राप्त गरेका छन् भने ४४ जना मिर्गौला प्रत्यारोपण गरिरहेका व्यक्ति, मिर्गौला फेल भई डायलासिस गराइरहेका व्यक्ति, एकजना मेरुदण्ड पक्षाघातका बिरामीलाई औषधि उपचारबापतको रकम प्राप्त गरेका छन् ।

मिर्गौला प्रत्यारोपण गरेका तथा डायलासिसमा रहेका व्यक्ति, सबै किसिमका क्यान्सर रोग निदान भएका व्यक्ति र मेरुदण्ड पक्षघात भएका बिरामीलाई सम्बन्धित अस्पतालको कागजातका आधारमा कागजात संकलन गरी स्वास्थ्य शाखाले सम्बन्धित मन्त्रालयमा पठाउने गरेको थियो । कुल ८७ लाख २० हजार रुपैयाँ प्राप्त भएपनि ८५ लाख ५ हजार रुपैयाँमात्र खर्च भएको स्वास्थ्य शाखाले जनाएको छ ।

लाभग्राहीले राष्ट्रिय परिचयपत्र वा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ताको प्रतिलिपि र चिकित्सकको सिफारिससहित निवेदन सम्बन्धित कार्यालयमा बुझाउनु पर्ने हुन्छ । तात्कालिन अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत बजेटमा मिर्गौला प्रत्यारोपण तथा डायलासिस गराएका व्यक्ति, निको भएका क्यान्सरका बिरामी र मेरुदण्डको पक्षघात भएका बिरामीका लागि मासिक भत्ताको व्यवस्था गर्ने कुरा उल्लेख थियो ।

क्यान्सर, मेरुदण्ड पक्षाघात र मिर्गौलाका बिरामीलाई मासिक भत्ता दिइने भनिएको भएपनि मिर्गौला बिरामीहरूको हकमा मिर्गौला प्रत्यारोपण गराएका वा नियमित डायलिसिस गराइरहेकाहरूलाई मात्र उपचार खर्च प्राप्त गर्न सक्ने छन् । त्यस्तै क्यान्सर भएका र उपचारपछि निको भएका बिरामी जो चिकित्सकको नियमित निगरानीमा छन्, उनीहरूलाई पनि सो रकम दिइने छ ।

मेरुदण्ड पक्षाघात भएका व्यक्तिहरू जोसँग नीलो वा रातो अपाङ्ग परिचयपत्र छ, उनीहरूले पनि रकम पाउने छन् । कार्यविधिमा नेपाल सरकारबाट उपलब्ध गराइँदै आएको ज्येष्ठ नागरिक भत्ता, एकल महिला भत्ता, दलित भत्ता, पिछडिएको भत्ता, अपाङ्ग भत्तालगायत साबिकमा पाई आएको सामाजिक सुरक्षा भत्ता खाइपाई आएकाले पनि जटिल रोगबापत भत्ता नपाउने उल्लेख छ । सरकारी र विदेशी संस्थामा कार्यरत वा त्यहाँबाट सेवानिवृत्त भई पेन्सनको सुविधा पाइरहेकाले भत्ता नपाउने बताइएको छ । ज्येष्ठ नागरिक भत्ता, एकल महिला भत्ता, दलित भत्ता, पिछडिएको भत्ता र अपाङ्ग भत्तालगायत अन्य सामाजिक सुरक्षा भत्ता पाइरहेकाले पनि यो सुविधा पाउँदैनन् ।

मेचीनगरमा न्यूनतम पाँच हजारदेखि अधिकतम ६० हजार रुपैयाँ सम्म लाभग्राहीले प्राप्त गरेको स्वास्थ्य शाखाले जनाएको छ । कार्यविधिअनुसार भत्ता रकम त्रैमासिक रूपमा महिनाको अन्तिम दिन स्थानीय तहले बिरामीको बैङ्क खातामा जम्मा गर्ने भनिए पनि समयमै लाभग्राहीले नपाएपछि मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती प्रमुख प्रशासकीय अधिकृत महेश पराजुलीले पटक पटक सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउँदै आउनु भएको थियो ।

यसैगरी, मेचीनगर नगरपालिकाका गम्भीर प्रकृतिको रोगका १ सय ५९ जना विरामीले चालु आर्थिक बर्षमा एक लाखका दरले उपचार सुविधा पाएका छन् ।

नगरपालिकाले क्यान्सर, मुटु, मृगौला, मस्तिष्कघात लगायतका रोग लागेका विरामीलाई दिएको सिफारिसका आधारमा सरकारद्वारा तोकिएका अस्पतालबाट उनीहरुले सो रकम बराबरको स्वास्थ्योपचार पाएका हुन् । स्वास्थ्य शाखा सहसंयोजक अधिकारीले जनाए अनुसार क्यान्सरका ९० जना, मृगौला प्रत्यारोपणका २८ जना, मुटुका २२ जना र अन्य रोगका नौ जनाले सूचीकृत अस्पतालमा नगरपालिकाले उपचारका लागि सिफारिस गरेको छ ।

नेपाल सरकारले क्यान्सर, मुटु, मृगौला, अल्जाइमर्स, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियाको उपचारका लागि विपन्न नागरिकलाई उपचारमा सहयोग दिँदै आएको छ । सरकारले बिरामीलाई सिधै रकम दिदैन । स्थानीय तहको स्वास्थ्य शाखाको सिफारिसका आधारमा सूचीकृत अस्पतालहरुले बिरामीलाई उक्त रकम बराबरको उपचार सेवा तथा औषधि दिने गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 71

प्रतिक्रिया (०)

सम्बन्धित खबर