बिर्तामोड । जननायक वीपी कोइरालाको ४१ औं स्मृति दिवसको अवसर पारेर आज देशभर वृक्षरोपण, विचार गोष्ठी लगायतका विविध कार्यक्रम सम्पन्न भएका छन् ।
नेपाली कांग्रेसका संस्थापक नेता, प्रजातान्त्रिक समाजवादी सिद्धान्तका प्रतिपादक एवं साहित्यिक क्षेत्रमा समेत विशेष योगदान दिनुहुने वीपीको स्मरण नेपाली कांग्रेस एवं आबद्ध भातृ तथा शुभेच्छुक संघसंस्थाहरुले गरेका हुन् । वि.सं १९७१ भदौ २४ गते जन्मनुभएका वीपीको २०३९ साल साउन ६ गते क्यान्सर रोगका कारण निधन भएको थियो ।
यसै दिवसको अवसर पारेर झापाको बिर्तामोडमा नेपाल विद्यार्थी संघले विचार गोष्ठी सम्पन्न गरेको छ ।
विचारगोष्ठीमा प्रमुख अतिथि एवं संविधानसभा सदस्य सुधीरकुमार शिवाकोटीले तत्कालीन अवस्थामा पूर्ण प्रजातन्त्र भएको मुलुक अमेरिका र कम्युनिष्ट शासन ब्यवस्था भएको रुस दुवैको पक्षमा सिधै समर्थन नगर्ने नीति अख्तियार गर्दै भारतसहितका थुप्रै देशहरूको सहभागितामा प्रजातान्त्रिक समाजवादको नीति प्रतिपादन भएको र त्यसमा वी।पी। कोइरालाको मुख्य भूमिका रहेको चर्चा गर्नुभयो ।
बीपीसँगको भेट र सान्निध्यबारे चर्चा गर्दै सि के प्रसाईँले बनाउनुभएको सुशील– विश्व निकेतन बिर्तामोडमा बस्दा तीन दिन आफू वीपीको स्वकीय सचिब जस्तै भएर बसेको र त्यसबेला वीपीबारे धेरै बुझ्ने मौका पाएको स्मरण गर्नुभयो ।
बीपीको स्मरण शक्ति तीक्ष्ण रहेको एवं बीपीले सिकेलाई अत्यन्तै बिश्वास गर्नुभएको उल्लेख गर्दै नेता शिवाकोटीले आफूले तत्कालीन शासकवर्गसँग डराएर बन्द समाजभित्र संगठन गर्दाका समस्या सुनाउनुभएको थियो ।
२०८४ को चुनावपछि स्वभाविक रुपमा युवा पुस्ताको पालो आउने बताउँदै उहाँले राजनीतिमा लाग्ने युवाहरूलाई निष्ठा, त्याग, समर्पण र बिचारप्रती प्रतिबद्ध रहन आग्रह गर्नुभयो ।
कार्यक्रमका विशेष अतिथि एवं जिल्ला उपसभापति केशवराज पाण्डेले निष्ठा, त्याग, समर्पण, सादगी जीवन व्यतीत गर्ने व्यक्ति बीपीको सच्चा अनुयायी हुने बताउँदै अहिले शान, सौकत, आलिशान भवन, गाडी, २०–२५ जना अघिपछि लाग्ने कार्यकर्ता खोजेर बीपीको अनुयायी हुन नसकिने धारणा राख्नुभयो । बिचार, दृष्टिकोण, परिस्कृत समाज स्थापनाका लागि बीपीको बिचारले सबैलाई एकै ठाउँमा उभ्याएको चर्चा गर्दै उहाँले वीपीको अनुयायी हुन जीवनशैली परिवर्तन जरुरी रहेको धारणा पनि राख्नुभयो ।
कार्यक्रमका विशेष अतिथि एवं नेपाली कांग्रेस झापाका सचिव कृष्ण गुरागाईँले जनताका प्रतिनिधिले शासन गर्ने ब्यवस्था स्थापनाका लागि काङ्ग्रेसले तत्कालीन शासकवर्गसँग युद्धको नियम पूरा गरेर मात्रै शसस्त्र विद्रोह गरेको उल्लेख गर्दै काङ्ग्रेसले कहिल्यै व्यक्ति हत्या नगरेको धारणा राख्नुभएको थियो ।
कार्यक्रममा क्षेत्रीय सभापति खगेन्द्र मैनाली, नेपाल तरुण दलका केन्द्रीय सदस्य राजेन्द्र उप्रेती लगायतले मन्तव्य राख्नुभयो । नेविसंघ झापा सभापति सञ्जय निरौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत जितेन साम्पाङ, एवं सञ्चालन गोकुल पौडेल र एलेक्स मैनालीले गर्नुभएको थियो ।
वीपी स्मृति दिवसकै अवसर पारेर झापाको भद्रपुर–९ स्थित वीपीको शालिकमा माल्यार्पण एवं प्रजातान्त्रिक समाजवादबारे चर्चा गरिएको छ ।
नेपाली कांग्रेस भद्रपुर नगर समितिको आयोजनामा सम्पन्न कार्यक्रम संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । नगर सभापति राम कडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा भुमा घिमिरेले स्वागत गर्नुभएको थियो भने केशवराज पाण्डे लगायतले मन्तव्य राख्नुभएको थियो ।
यसैगरी झापाको अर्जुनधारा नगरपालिका वडा नं–४ मा ‘वीपीको प्रजातान्त्रिक समाजवाद र आजको राजनीतिक कार्यदिशा’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ ।
नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सचिव कृष्ण हुमागाईँ, महाधिवेशन प्रतिनिधि भुमा घिमिरे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
पार्टीका वडा सभापति खेम काफ्लेको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत सन्तोष न्यौपाने र सञ्चालन सुनिल वि।कले गर्नुभएको थियो ।
यसैगरी नेपाली कांग्रेस बुद्धशान्ति गाउँसमितिको आयोजनामा वीपी स्मृति दिवसकै सन्दर्भ पारेर वृक्षरोपण एवं विचार गोष्ठी सम्पन्न भएको छ ।
नेपाली कांग्रेस २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनालीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला सदस्य लीला ढकाल, क्षेत्रीय सदस्य देवी सुवेदी, महिला संघ सभापति गायत्रा भट्टराई, प्रकाश सेर्मा लगायतले मन्तव्य राख्नुभएको थियो ।
चक्र शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मनिस दाहाल र सञ्चालन कृष्ण खतिवडाले गर्नुभएको थियो ।
यसैगरी नेपाली कांग्रेस दमक नगर समितिले रक्तदान र वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ भने नेपाल विद्यार्थी संघ दमक नगर समितिले दमकको गणतन्त्र चोकमा दीप प्रज्ज्वलन गरेको छ ।
बीपी अध्ययन प्रतिष्ठान गौरादह र नेपाली कांग्रेस गौरादहको संयुक्त आयोजनामा गौरादहमा विचार गोष्ठी सम्पन्न भएको छ भने सबै वडाहरूमा वृक्षरोपण गरिएको बताइएको छ ।
नेपाली कांग्रेस कमल गाउँसमितिले वीपी स्मृति दिवसको अवसरमा वृक्षरोपण गरेको छ । यता मेचीनगर समितिले धुलाबारीमा वृक्षरोपण सम्पन्न गरेको छ ।
त्यसैगरी नेपाल प्रेस युनियन माइपश्चिम क्षेत्रीय समितिले बीपी स्मृति दिवसको अवसरमा दमक अस्पताल दमकमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण कार्यक्रम सम्पन्न गरेको बताइएको छ ।