Aamsanchar

सूचीकृत संस्थाबाट सुरक्षित गर्भपतन सेवा लिनेको अवस्था

गर्भपतन सेवा सम्बन्धी तथ्यांक संकलन गरिंदै ।

Author Image
आइतवार, साउन ७, २०८०

डोटी जिल्लामा सेवा प्रदायक र सूचीकृत स्वास्थ्य संस्थाहरूले सेवाको निरन्तरता दिएसँगै सूचीकृत संस्था थप भएका छन् । जिल्लामा अहिले २८ वटा सूचीकृत संस्थाबाट सुरक्षित गर्भपतन सेवा प्रवाह भइरहेको छ । स्वास्थ्य कार्यालय डोटीका प्रमुख डिल्लीरमण जोशीका अनुसार जिल्ला अस्पताल डोटी, पूर्वीचौकी गाउँपालिकाको सानागाउँ स्वास्थ्य चौकी, पोखरी स्वास्थ्य चौकी, सायल गाउँपालिकाको डौड, छपाली र तोलेनी स्वास्थ्य चौकी, आदर्श गाउँपालिकाको मौवानगरदह स्वास्थ्य चौकी, वडीकेदार गाउँपालिकाको बर्छेन, लाना केदारेश्वर, घाँगलमान्नाकापडी स्वास्थ्य चौकीमा सेवा उपलब्ध रहेको छ ।

त्यस्तै वोगटान फुड्सिल गाउँपालिकाको केदार अखडा प्राथमिक स्वास्थ्य चौकी, गगुडा स्वास्थ्यचौकी र चमराचौतारा स्वास्थ्य चौकीबाट सेवा प्रवाह भइरहेको छ। जोरायल गाउँपालिकाको छतिवन स्वास्थ्य चौकी, सरस्वती प्राथमिक स्वास्थ्यचौकी, गड्सेरा स्वास्थ्य चौकी र निरौली स्वास्थ्य चौकीमा सेवा रहेको छ । त्यस्तै के.आई.सिंह गाउँपालिकाको तिखात्तर स्वास्थ्य चौकी, दुर्गामाण्डौ स्वास्थ्य चौकी र भूमिराजमाण्डौ स्वास्थ्यचौकीमा सेवा उपलब्ध छ ।

त्यस्तै शिखर नगरपालिकाको कपल्लेकी, मुडभरा, दानकोटवन्लेक स्वास्थ्य चौकी, दिपायल सिलगढी नगरपालिकाको तिखा स्वास्थ्य चौकी, नेपाल परिवार नियोजन संघ, लडागडा स्वास्थ्य चौकी र अस्पतालबाट सेवा उपलब्ध भइरहेको छ । परिवार नियोजन सेवाको उपलब्धता र प्रयोग बढ्दै गएको र सूचीकृत संस्थामाथिको विश्वास बढ्दै गएको प्रमुख जोशीले बताए। उनले भने, ‘परिवार नियोजन र सुरक्षित गर्भपतन सेवा लिनेको संख्या जिल्लामा बढेको छ ।’

जिल्लामा हाल कोभिडपछि रोजगारीका लागि विदेश गएकाहरू घर फर्किएका छन् जसले गर्दा परिवार नियोजनको सेवा लिनेको संख्या बढेको छ । विगतमा असुरक्षित रूपमा गर्भपतन सेवा लिंदा धेरैको अकालमा ज्यान गएकाले नागरिक तथा राज्यपक्ष सचेत भएसँगै जिल्लामा सूचीकृत संस्थाहरू थपिएका छन् । जिल्लामा विगतमा थोरै सूचीकृत संख्या हुँदा सुरक्षित गर्भपतन गराउन निकै असहज परिस्थिति रहेको केही वर्ष अगाडि गर्भपतन सेवा लिनेहरूको भनाइ छ ।

सुरक्षित गर्भपतन गराउनेहरूको पाँच वर्षको तथ्याङ्क

जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार आर्थिक वर्ष २०७५/ ७६ मा सुरक्षित गर्भपतन गराउनेहरू १ हजार १४७ रहेका छन् । त्यसैगरी आर्थिक वर्ष २०७६/७७ मा १ हजार ३१, आर्थिक वर्ष २०७७/७८ मा १ हजार ११० र आर्थिक वर्ष २०७८ /७८ मा ८२६ र आर्थिक वर्ष २०७८/८० मा ५२५ जनाले सुरक्षित गर्भपतनको सेवा लिएका छन्।
सुरक्षित गर्भपतन गराउने मध्ये बीस वर्ष मुनिका आर्थिक वर्ष २०७५/७६ मा ७० जना, २०७६ / ७७ मा ४८ जना, २०७७/७८ मा ३५ जना, २०७८ ७८ मा ४० जना र २०७८/८० मा १८ जना रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

हाल जिल्लाको सबै सूचीकृत संस्थामा तालिमप्राप्त स्वास्थ्यकर्मी रहेका छन्। सेवा बन्द रहेका सबै स्वास्थ्य चौकीबाट सुरक्षित गर्भपतन सेवा शुरू भइसकेको छ । बाँकी पाँच वटा स्वास्थ्य चौकीका लागि स्वास्थ्यकर्मीहरूले तालीम लिइसकेका र केही समयमा सेवा सुचारु हुने जोशीले जानकारी दिए । उनले अगाडि भने, ‘जथाभावी मेडिकलबाट औषधि किनेर गर्भपतन गराउँदा जोखिम हुने भएकाले सूचीकृत स्वास्थ्य संस्थाबाट मात्रै सुरक्षित गर्भपतन सेवा लिन जरूरी छ ।’

दिपायल सिलगढी नपा–१ बस्ने वर्ष ४८ की सीता (नाम परिवर्तन) ले शुरुमा चार वर्ष डिपो र दुई वर्ष कपर–टी लगाइन् तर उनलाई राम्रो भएन । त्यसपछि उनले तीन वर्ष पिल्स खाइन् तर पिल्स खाँदा उनलाई सधै वाक्वाकी र वान्ता आउने समस्या भयो । अन्त्यमा उनले औषधि खान छोडिन् त्यसपछि उनको गर्भ रहन गयो । सूचीकृत संस्थाबाट चार पटक गर्भपतन सेवा लिइन् । उनले चार पटक विभिन्न सूचीकृत संस्थाबाट दुई दुई वर्षको अन्तरमा गर्भपतन सेवा लिइन् । गत वर्ष उनले अन्तिम पटक गर्भपतन गराइन् । उनको घरमा दुई छोरा, दुई छोरी छन् । नातिनातिना समेत भइसकेका छन् । यस्तो अवस्थामा सूचीकृत संस्थाबाट गर्भपतन सेवा लिन पाउँदा खुशी छु । उनले भनिन्, ‘विगतमा सूचीकृत संस्था नहुँदा धेरै दिदीबहिनीको अकालमा ज्यान गएको कुराको स्मरण गर्दै नजिकको सूचीकृत संस्थाबाट सेवा लिन पाउँदा सुरक्षित महसुस भएको छ, म अहिले स्वस्थ छु । ’

आइपास नेपाल सुदूरपश्चिमका संयोजक उपेन्द्र कुँवरले यौन तथा प्रजनन स्वास्थ्य अधिकार र सुरक्षित गर्भपतन सेवाका बारेमा स्थानीय तहहरूले स्वास्थ्य नीति बनाउन ढिला गरेको र यौन तथा प्रजनन स्वास्थ्यका बारेमा पूर्णरूपमा जानकारी नहुँदा समुदायमा झन् जोखिम बढ्दै गइरहेको जानकारी गराए ।

समाजमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार कार्यक्रमका कार्यक्रम अधिकृत मधु पोखरेलले प्रजनन स्वास्थ्यका बारेमा स्थानीय सरकारलाई बढी जवाफदेही बनाउने गरी सबै सरोकारवालाको साझा पहल हुनुपर्नेमा जोड दिइन् । समुदाय स्तरमा यौन तथा प्रजनन स्वास्थ्यका बारेमा धेरै कार्यक्रम नहुनु र प्रजनन स्वास्थ्यका बारेमा खुलेर विचारविमर्श नहुँदा समस्या निम्तिएको बताइन् ।

किशोरी एवं महिलाहरू अज्ञानताका कारण असुरक्षित गर्भपतन गर्न बाध्य भइरहेका सुजङ अस्पताल राजपुरका प्रमुख तथा स्वास्थ्यकर्मी अर्जुन बलायरले बताए । उनले अगाडि थपे, “मातृ मृत्युदर हुने प्रमुख कारणमध्ये असुरक्षित गर्भपतन प्रमुख हो ।  

महिलाहरू सुरक्षित गर्भपतनको निम्ति स्वास्थ्य संस्था जान पनि हिचकिचाउने प्रवृत्ति छ । गर्भपतन सेवा निःशुल्क छ तर महिलालाई यो सेवा निःशुल्क प्राप्त गर्न सकिन्छ भन्ने जानकारी समेत छैन । धामी, झाँक्रीसमक्ष पुग्ने, झारपात वा अन्य औषधि प्रयोग गरिरहेको पाइन्छ । असुरक्षित गर्भपतनले शारीरिक एवं मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव परिरहेको छ तर यो समस्याको बारेमा हामीले समाजमा छलफल शुरु गरेका छैनौँ। हरेक महिलामा हर्मोन असन्तुलन र महिनावारीमा गडबडी हुने जोखिम प्रबल हुन्छ जसको कारण असुरक्षित गर्भपतनले जीवन नै जोखिममा पर्न सक्छ। गर्भपतन गराउँदा औजार सफा नभएको अवस्थामा हेपाटाइटिस बी र एचआइभीको संक्रमण हुने खतरा हुन्छ त्यसकारण असुरक्षित गर्भपतन नगर्न चिकित्सकहरूको सुझाव रहेको छ ।

जिल्लामा अस्थायी साधन प्रयोगमा वृद्धि र जनचेतनाका कारण पछिल्लो समय गर्भपतन गराउनेको सङ्ख्यामा कमी आएको नेपाल परिवार नियोजन संघ डोटी शाखामा कार्यरत सिनियर अनमी निर्मला विष्टले बताइन्। समाजमा गर्भपतन गराउने भन्दा पनि यसलाई रोकथाम गर्नु नै उत्तम हो भन्ने चेतना विस्तारै निर्माण हुँदै गएको छ । विष्टले अगाडि भनिन्, ‘सूचना प्रविधिको विकास तथा सचेतनाका कारण पनि गर्भपतन गराउनेको सङ्ख्यामा कमी आएको हो ।’

गर्भपतन सेवा सम्बन्धी तथ्यांक संकलन गरिंदै ।

दिपायल सिलगढी नपा–१ बस्ने वर्ष ३५ की पारु (नाम परिवर्तन) ले शुरुमा पिल्स खाइन् तर निरन्तर खान सकिनन् । उनले फेरि तीन वर्ष डिपो लगाइन् तर तीन वर्षसम्म उनलाई रक्तस्रावको समस्याले छोडेन । अहिले उनका दुई वटा छोरा छन् । दुवै छोरा १२/ १४ वर्षका छन् । दुई छोरा भइसकेपछि उनले बच्चा नजन्माउने निधो गरिन् । उनले अस्थायी गर्भपतन सेवा सम्बन्धी तथ्यांक संकलन गरिंदै । साधन प्रयोग गर्न छोडेपछि फेरि गर्भ बस्यो । गत वर्ष दुईपटक दुई हप्ताको गर्भ बस्दा सूचीकृत संस्थाबाट सुरक्षित गर्भपतन सेवा पछि अहिले उनको स्वास्थ्य अवस्था राम्रो छ ।
स्वास्थ्य क्षेत्रको संवेदनशीलतालाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रमा छाउपडी प्रथा, छुवाछूत, लैङ्गिक हिंसा, पितृसत्तात्मक सोचमा परिवर्तन गर्ने खालका विभिन्न जनचेतनामूलक कार्यक्रमलाई विशेष जोड दिनुको साथै यौन तथा प्रजनन स्वास्थ्य एवं सुरक्षित गर्भपतन सेवाका सम्बन्धमा काम गर्ने क्रियाशील सङ्घसंस्थाले सरकारद्वारा मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट गर्भपतन सेवा लिँदा हुने फाइदा तथा अवैधानिक र असुरक्षित संस्थाबाट सेवा लिँदा हुने हानिनोक्सानीका बारेमा गाउँगाउँ र टोलटोलमा समूह बनाएर जानकारी गराउँदा समुदायमा निकै सकारात्मक परिवर्तन आएको शिखर नगरपालिका उपप्रमुख सुनिता रावलको बुझाइ रहेको छ ।

डोटीमा विगतमा अशिक्षा तथा डरका कारण सुरक्षित गर्भपतन सेवा लिन हिचकिचाएर असुरक्षित तथा स्वास्थ्यमा गम्भीर असर पर्ने गरी सेवा लिनेको सङ्ख्या अधिक रहेको तर चेतनास्तरको वृद्धिका कारण मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट सेवा लिनेको सङ्ख्यामा विगतमा भन्दा धेरै सुधार आएको छ। स्थानीय तहले पनि स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीका लागि राहत पुगोस् भनेर विभिन्न कार्यक्रम सञ्चालन गरेको आदर्श गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी धामी रोकायले बताइन् । स्थानीय तहमा कार्यरत स्वयंसेविका लाई मोबाइल वितरण तथा रिचार्जको व्यवस्था र राम्रो कार्य गर्ने स्वास्थ्यकर्मीलाई नगद तथा सम्मान गर्ने योजनाले सकारात्मक परिणाम देखिएको छ ।

२०५९ साल असोज १० गते मुलुकी ऐनको संशोधनबाट नेपालमा सुरक्षित गर्भपतन सेवाले कानूनी मान्यता पाएको हो । जिल्लामा सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क सुरक्षित गर्भपतन सेवा प्रदान भइरहेको छ । जिल्लामा असुरक्षित गर्भपतन गर्ने महिलाको संख्या ५८ प्रतिशत छ । यस ऐन अनुसार केही शर्तमा रही गर्भवती महिलालाई सुरक्षित गर्भपतन गर्न पाउने अधिकार हुनेछ । (हे. इन्फो)

तर, गर्भवती महिलाको मन्जुरी विना वा करकाप, धम्की, ललाईफकाई, झुक्याई वा प्रलोभन देखाएर, भ्रूणको लिङ्ग पहिचान गरी गर्ने गर्भपतन, सरकारले मान्यता नदिएको संस्था र तालिम नपाएका स्वास्थ्यकर्मीले दिएको सेवा असुरक्षित तथा अवैधानिक हुन्छ ।

असुरक्षित गर्भपतन विरुद्ध जनचेतना फैलाउने काममा सरकारले ध्यान दिनुपर्छ। दुर्गम क्षेत्रमा पनि सुरक्षित गर्भपतनको सेवालाई पहुँच योग्य बनाउनुपर्छ। परिवारका सदस्यले पनि सुरक्षित गर्भपतनका लागि सहयोग गर्नुपर्छ । सुरक्षित गर्भपतन सेवालाई सबैको पहुँच योग्य र सर्वसुलभ बनाउने दायित्व सबैको हो। नेपालमा गर्भपतनलाई कानूनी मान्यता दिएर
सुरक्षित गर्भपतन गर्न पाउने अधिकार सुरक्षित गर्भपतन सेवा शुरु गरिएको २० वर्ष बितिसक्यो । तर, अहिले पनि समस्या ज्युँका त्युँ रहेको छ । स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा निःशुल्क रहेको छ । सरकार तथा सेवा प्रदायकहरूले ’सुरक्षित गर्भपतन सेवा प्रतिको हाम्रो प्रतिबद्धता, सेवाको सुनिश्चितता’ भनिरहँदा कतै असुरक्षित गर्भपतन नहोस्, असुरक्षित गर्भपतनका कारण गर्भवतीको मृत्यु नहोस् भन्ने सरकारको उद्देश्यलाई पूर्ण रूप दिन राज्यपक्ष तथा सरोकारवालाको ध्यान जान जरूरी देखिन्छ जसले गर्दा अपनाउनुपर्ने सावधानी तथा सतर्कताका बारेमा अनभिज्ञ भएकै कारण गर्भवती महिलाले दुःख नपाऊन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Views: 186

प्रतिक्रिया (०)