Aamsanchar

एसियाको दोस्रो फर्पिङ जलविद्युत् केन्द्रलाई ऊर्जा सङ्ग्रहालयको रूपमा विकास गरिने

Author Image
मङ्गलवार, साउन १६, २०८०

काठमाण्डाै – नेपालको पहिलो र एसियाको दोस्रो पाँच सय किलोवाट जडित क्षमताको फर्पिङ जलविद्युत् केन्द्रलाई ऊर्जा सङ्ग्रहालयको रूपमा विकास गरिने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले फर्पिङ जलविद्युत् केन्द्रलाई ऊर्जा सङ्ग्रहालय र पर्यटकीय स्थलका रूपमा विकास गर्न एनइई इन्जिनियरिङ कम्पनी लिमिटेडलाई परामर्शदाता नियुक्त गरी गुरुयोजना तयार गरिरहेको छ । ऐतिहासिक जलविद्युत् केन्द्रलाई पर्यटनसँग जोडेर पुराना संरचनाहरूको जीर्णोद्धार र खाली रहेको जग्गामा नयाँ संरचनाहरू निर्माण गरिने छन् ।

काठमाण्डाैकाे दक्षिणकाली नगरपालिकामा रहेकाे केन्द्रको जलाशय र विद्युत् गृह क्षेत्रमा रहेको जग्गामा हरियाली पार्क, रेस्टुरेन्ट, पसल, जिप लाइन, पिकनिक स्पोट, पुस्तकालय, बाल उद्यानलगायतका संरचनाहरू निर्माण गरिने छन् । जलविद्युत् केन्द्रका संरचनाहरूलाई जीर्णोद्धार गरी सङ्ग्रहालयको रूपमा विकास गरिने छ ।

परामर्शदाताले तयार पारेको गुरुयोजना कार्यान्वयनका लागि झन्डै एक अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । केन्द्रको स्वामित्वमा तीन सय २४ रोपनी जग्गा छ । पर्यटकीय संरचनाहरू निर्माणका लागि जलाशय क्षेत्रको ४६ रोपनी र विद्युत् गृह क्षेत्रको झन्डै एक सय ४६ रोपनी जग्गा प्रयोग गरिने छ ।

प्राधिकरणको ३८ औँ वार्षिकोत्सवको अवसरमा फर्पिङ जलविद्युत् केन्द्रको परिसरमा सोमवार आयोजित वृक्षरोपण कार्यक्रममा सहभागी हुन पुग्नुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई गुरुयोजनाका विषयमा जानकारी दिइएको थियो । मन्त्री बस्नेत, मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतले केन्द्रको विद्युत् गृहलगायतका संरचाहरूको अवस्थाका बारेमा अवलोकन गर्नुभएको थियो ।

मन्त्री बस्नेतले ऐतिहासिक महत्त्व बोकेको विद्युत् केन्द्रलाई संरक्षण गरी जलविद्युत् क्षेत्रका अध्येता, अनुसन्धानकर्ता तथा चासो राख्ने सबैलाई सन्दर्भ स्थान र इतिहासलाई बुझ्ने/बुझाउने ठाउँका रूपमा विकास गरिनुपर्ने बताउनुभयो । उहाँले केन्द्रबाट स्थानीय बासिन्दाको सामाजिक आर्थिक वृद्धि हुने गरी योजना तथा कार्यक्रमहरू कार्यान्वयनमा ल्याइनुपर्नेमा जोड दिनुभयो ।

ऊर्जा सचिव घिमिरेले केन्द्रलाई जलविद्युत् क्षेत्रको अध्ययन स्थल र त्यहाँ भएको प्राकृतिक सौन्दर्यलाई प्रयोग गर्दै सुन्दर पर्यटकीय स्थलको रूपमा विकास गरिनुपर्ने बताउनुभयो ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले परामर्शदाताको प्रतिवेदन आएपछि केन्द्रलाई ऊर्जा सङ्ग्रहालय, अनुसन्धान केन्द्र र पर्यटकीय स्थलको रूपमा विकासका कार्यहरू अगाडि बढाइने उल्लेख गर्नुभयो ।

फर्पिङ जलविद्युत केन्द् विसं १९६८ जेठ ९ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको थियो । तत्कालीन राजा पृथ्वी वीरविक्रम शाहबाट टुँडिखेलमा बत्ती बालेर उद्घाटन भएको जलविद्युत् केन्द्रबाट राजपरिवार, राणापरिवारलगायत विद्युत् वितरण गरिएको थियो । राणा प्रधानमन्त्री चन्द्रशमशेरको शासनकालमा निर्माण भएकाले केन्द्रको नाम चन्द्रज्योति राखिएको थियो । झन्डै चार वर्ष लगाएर निर्माण गरिएको आयोजनाको लागत सात लाख १३ हजार रुपैयाँ थियो ।

केन्द्र २०३८ सालसम्म निरन्तर सञ्चालनमा थियो । तर त्यसपछि ललितपुरका विभिन्न क्षेत्रमा खानेपानी आपूर्तिका लागि जलाशयको पानी, टर्बाइनमा प्रवेश नगराई प्रयोग गर्न थालेपछि विद्युत् गृहको सञ्चालन बन्द भएको थियो । केन्द्रको  मर्मत गरी पुनः २०६३ पुसदेखि आवश्यक पर्दा सञ्चालन गर्न सकिने गरी चालु हालतमा राखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 51

प्रतिक्रिया (०)

सम्बन्धित खबर